जीतलाल श्रेष्ठ, निजगढ, ७ चैत/
जात–भातभन्दा माथि मानवीय सद्भाव हुन्छ भन्ने पछिल्लो उदाहरण बनेका छन् — नवलपरासी जिल्ला कावासोतीका प्रकाश सापकोटा। उनले बारा पचरौता नगरपालिका–९ कुडवाका मल्ली अर्थात् डोम परिवारका सातजना बालबालिकाको पढाइ खर्च बेर्होर्दै आएका छन्।
प्रकाश हाल अस्ट्रेलिया बस्छन् तरपनि बाराका समाजसेवी एवं संविधान सभा सदस्य डा. शोभाकर पराजुलीमार्फत कुडवाका सातजना बालबालिकाको अध्ययनमा आवश्यक खर्च पु–याउँदै आएका छन्। मल्ली रोजगारका लागि ५ वर्ष अघि नवलपरासी पुगेका थिए। त्यहीं उनले काम शुरू गरे। समय बित्दै जाँदा सापकोटा र मल्लीबीच घरायसी अवस्थाबारे कुरा भयो। त्यस बेला तोकन मल्लीले आफ्नो समुदायको अवस्था पारिवारिक दिनचर्यालगायत कुरागरेका थिए। सो बखत सापकोटा काठमाडौंमा कक्षा १२ मा पढ्दै थिए। मल्लीको दुःख–पीडा सुनेर उनको मनमा सहयोगको भावना जागृत भयो र आफू सक्षम भएपछि मल्लीका बालबालिकालाई अध्ययनमा सहयोग गर्ने ठाने। यसै क्रममा थप अध्ययनका लागि सापकोट अस्ट्रेलिया गए। पढाइको अलावा अन्य समयमा काम पनि गर्दै गए। कामबाट बचत भएको रकमबाट उनले पहिलोचोटी ४० हजार पठाएका थिए।
सो रकमबाट मल्ली परिवारका सातजना बालबालिकाले पढाइ शुरू गरे। अति विपन्न मल्ली (डोम) परिवारका बालबालिका शिक्षाबाट धेरै टाढा थिए।
बिहान खाए, बेलुकी के खाने र बेलुकी खाए बिहान के खाने समस्याबाट जेलिंदै आएका तोकन मल्लीले सापकोटाबाट प्राप्त सहयोगबाट नाती नातिनालाई पढाउन सकेका छन्।
सापकोटाले तोकनका तीनजना छोराका सातजना छोरीलाई कक्षा १० सम्म पढाउने प्रतिबद्धता देखाएर सोही अनुसार सहयोग गर्दै आएका छन्। संविधानसभा सदस्य डा. पराजुली सापकोटाको यो प्रयासको खुलेर प्रशंसा गर्छन्। सामाजिक रूपान्तरणमा सापकोटाको प्रयास ठूलो भएको डा. पराजुलीको बुझाइ छ।
आफ्नै समुदायमा रमाउने मल्ली समुदाय अन्य समुदायसँग घुलमिल हुन नचाहने, नसक्ने हुनाले पनि पछिडिनु परेको छ– बारामा सो समुदायबाट एसएलसी उत्तीर्ण गर्ने पहिलो युवा अजय मल्ली बताउँछन्।
मल्ली (डोम) समुदायका बालबालिका विद्यालय जाँदा दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिने अजय मल्लीको अनुभव छ। आफ्नो समुदायका मानिस अन्य समुदायसँग घुलमिल गर्न नरूचाउने कारणले पनि प्रगति पथमा अगाडि बढ्न नसकेको उनको बुझाइ छ।