प्रस, निजगढ, ४ चैत/
तराई यातायात व्यवसायी सङ्घ सिमरा बाराको १५औं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश नं २ का मुख्यमन्त्री लालबाबूराउत गद्दीले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको ठूलो लगानी रहेकोमा तराई यातायात व्यवसायी सङ्घ सिमराको पनि महत्वपूर्ण योगदान रहेको बताए।
यातायात क्षेत्र मुलुकमा ठूलो रोजगारदाताको रूपमा स्थापित भएकोले यसमा रहेका समस्यालाई समाधान गर्न आफू तयार रहेको मुख्यमन्त्री गद्दीले बताउँदै प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाखौं व्यक्तिलाई रोजगार सिर्जना गरेकाले यातायात क्षेत्रलाई सबैले आआफ्नो ठाउँबाट सहयोगी भूमिका खेल्नुपर्ने बताए।
यातायात क्षेत्रलाई बेलैमा उचित संरक्षण गर्न सरकारले बेवास्ता गरे हरेक क्षेत्रमा ठूलो असर पर्नेमा दुई मत नहुने उनले जिकिर गरे। यातायात क्षेत्रको सुदृढीकरणका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारले आआफ्नो क्षेत्राधिकारभित्र रही पारदर्शीपूर्वक सकारात्मक भूमिका खेल्नुपर्ने बताए। उनले त्यसमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।यातायात व्यवसायीका लागि पार्किड्ढो समस्या रहेकाले यस विषयमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको ध्यान जानुपर्ने यातायात व्यवसायीहरूले माग गरे।
लामो समयदेखि बन्द रहेको तौल पुल धर्मकाँटा सञ्चालनमा ल्याउन पटक–पटक आफूहरूले सरकारलाई आग्रह गरिरहे पनि सरकारले ध्यान नदिएको तराई यातायात व्यवसायी सङ्घका प्रतिनिधिहरूले बताए। जङ्गल मासेर तौल पुल बनाइएको थिएन। तौल पुलको आवश्यकता छ। कसैलाई कुनै समस्या पनि छैन। तौल पुलका कारण अत्यधिक लोडलाई न्यूनीकरण गर्न मदत हुन्छ, यातायात व्यवसायीहरूले बताए।
“केही कानूनी विधि भए संशोधन वा कानूनमा स्पष्ट व्यवस्था मिलाएर तौल पुल सञ्चालनमा ल्याउन सरकारले किन ध्यान दिंदैन। वर्षौंदेखि बन्द रहेको तौल पुल सञ्चालनमा ल्याउनुपर्छ भन्ने माग नाजायज माग हो र ?” व्यवसायीहरूले भने।
यसैगरी, सङ्घीइ सांसद कृष्णकुमार श्रेष्ठले आफू पनि यस क्षेत्रको व्यवसायी भएकोले यातायात सुदृढीकरणका लागि केन्द्रलाई घचघच्याउन यातायात व्यवसायी टीमसँग अगुवाइ गर्ने प्रतिबद्धता जाहेर गरे।
व्यवसायीहरूको प्रतिनिधित्व गर्दै वैकुण्ठ श्रीवास्तवले यातायात व्यवसायीहरूका हकहितका लागि सरकारले गम्भीरतापूर्वक ध्यान नदिएको आरोप लगाए। उनले कोभिडको महामारीमा समेत यातायात क्षेत्रले उच्च जोखिम मोलेर जनता र मुलुकको सेवामा लागिपरेको बताए। कोभिडकै कारण व्यवसाय धरापमा समेत परेको छ। बैंकको किस्ता बुझाउन नसक्दा व्यवसायीहरू विस्थापित समेत भएको बताउँदै यसतर्फ राज्यको ध्यान नगएको भन्दै उनले दुःखेसो पोखे।
नेपाल ट्रक व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले व्यवसायीहरूलाई राज्यले दोस्रो दर्जाको नागरिक सरह व्यवहार गर्दै आएको बताए। हामीले मुलुकमा पु–याइरहेको कार्यको कहिल्यै सरकारले देखेन। एक महीना यातायात बन्द गर्ने हो भने देशको अवस्था कस्तो हुन्छ। सरकारले कहिल्यै यस विषयमा सोचेन। अबका दिनहरूमा राज्यले हाम्रो व्यवसायको विषयमा गम्भीर हुनसमेत उनले आग्रह गरे।
कार्यक्रममा तराई यातायात महासङ्घका महासचिव राजेन्द्रविक्रम बानिया, नेपाल ट्रक व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाट, ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष विश्वनाथ खनाल, नारायणी यातायात व्यवसायी सङ्घ हेटौंडाका अध्यक्ष हीरालाल श्रेष्ठ, प्रदेशसभा सदस्य शोभा लामा, तराई यातायात व्यवसायी सङ्घका सल्लाहकार अच्युत मैनाली, संविधानसभा सदस्य शोभाकर पराजुली, नारायणी रायमाझीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
तराई यातायात व्यवसायी सङ्घका अध्यक्ष शङ्करकुमार विष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here