चाँडै सीमानाका खुल्छ –उपप्रम पोखरेल

0

प्रस, परवानीपुर, ४ चैत/
उपप्रधानमन्त्री ईश्वर पोखरेलले दुर्ई दिनमैं देशका सम्पूर्ण सीमानाका खोलिने बताएका छन्। उच्चस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थपन केन्द्रका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउन वीरगंजबाट आएको टोलीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, “हामी पनि भारत र चीनसँग टाँसिएका सीमानाका पूर्णरूपमा खोल्नेबारे सोचिरहेका थियौं, तपाईंहरू आउनुभएको छ, भोलि बिहीवार अपराह्न ४ बजे सिसिएमसीको बैठकमा सीमानाका पूर्णरूपमा खोल्नुपर्ने विषय प्रस्ताव गर्छु, शायद भोलिदेखि नै पर्यटकको गाडी आवागमनसहितको सीमानाका खोल्ने निर्णय हुनेछ।”मन्त्रीनिवास हरिहर भवनमा भएको भेटघाटको क्रममा होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंज र पर्यटन पत्रकार सङ्घ पर्साको संयुक्त टोलीले भारतसँगको सीमानाका सवारीसाधनको आवागमनसहित खोल्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएपछि उनले देशका सम्पूर्ण सीमानाका खोल्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारीसमेत गराए।
“नेपाल–भारतबीचको सीमानाका पूर्ववत् किसिमले खुल्छ, दुवै देशबीचको परस्परको आपसी सम्बन्ध हेरेर निर्णय गर्छाैं,” उनले भने, “कोरोना रोकथामको लागि सीमा बन्द हँुदा व्यवसायीलाई ठूलो घाटा लागेको कुरा सरकारले बुझेको छ।”
कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि गत २०७६ चैत ११ गतेदेखि नेपाल सरकारले नेपालमा लकडाउन शुरू गर्दै सीमानाका बन्द गर्ने निर्णय गरेको थियो। पछि अवस्था सामान्य हुँदै जाँदा नेपाल सरकाले सीमानाका खोल्ने निर्णय गरे तापनि निर्णय कार्यान्वयनमा समस्या हँुदा गृहले भारतीय मालवाहक गाडीबाहेक अन्य सम्पूर्ण गाडीको प्रवेशमा रोक लगाएको छ। जबसम्म भारतीय सवारीसाधनहरू नेपाल आउँदैनन्, तबसम्म भारतीय पर्यटकहरू नआउने र भारतसंग टाँसिएको सीमावर्ती क्षेत्रका होटल व्यवासय फस्टाउँदैनन्। यसैगरी, सौराहा, पोखरा, काठमाडौं, लुम्बिनी, जनकपुरलगायतका क्षेत्रमा भारतीय पर्यटकको आवागमन बढाउन सकिंदैन।वीरगंजको टोलीले पर्यटनमन्त्री भानुभक्त ढकालसँग पनि भेटघाट गरेर भारतीय गाडी प्रवेशसहितको नेपालले भारतसँगको सीमानाका खोल्दा मारमा परेको होटल व्यवसायलाई पुनर्जीवित पार्न सकिने बताएको थियो। पर्यटनमन्त्री ढकालले पनि सीमानाका पूर्णरूपमा खोल्ने विषयमा भोलिको बैठकले उपयुक्त निर्णय गरी अघि बढ्ने बताए।
उपप्रधानमन्त्री पोखरेल तथा पर्यटनमन्त्री ढकाललाई ज्ञापनपत्र बुझाउन आएको टोलीमा होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष हरि पन्त, महासचिव माधव बस्नेत, पर्यटन पत्रकार सङ्घ पर्साका सदस्य त्रितेश त्रिपाठी, राधेश्याम पटेल, एमाले पर्साका नेता सुन्दरप्रसाद कुर्मी तथा एमालेनिकट विद्यार्थी नेता शिवजी गुप्ताको सहभागिता थियो।
नेपालले लामो समयसम्म भारतसँगको सीमानाका आंशिकरूपमा मात्र खोल्दा होटल व्यवसायी ऋणमा डुबेको र होटल व्यवसायमा गरेको लगानी पनि डुब्ने अवस्थामा छ। नेपाली होटल व्यवसायमा भारतीय पर्यटकको आवागमन ६० प्रतिशतभन्दा बढी छ। सोही कारणले करीब ६ महीनादेखि होटल तथा पर्यटन व्यवसायीहरू भारतीय नाका पूर्णरूपमा खोल्न माग गरिरहेका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here