प्रस, वीरगंज, २८ फागुन/
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई सहयोग नगरेको आरोप लगाएका छन्।
वीरगंज उद्योग वाणिज्य सङ्घको ४५औं साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्र रियल हीरो भएको दाबी गरे। उनले सरकारले निजी क्षेत्रलाई सधैं उपेक्षा गर्दै आएको बताए। रोजगार र राजस्व दिने निजी क्षेत्रलाई सरकारले गर्नुपर्ने सहयोग नगरेको उनको आरोप थियो। विकसित मुलुकमा निजी क्षेत्र फड्को मार्नुको पछाडि आन्तरिक र बाह्य लगानीकर्तालाई राज्यले पर्याप्त सेवा सुविधा प्रदान गर्नु रहेको उनले बताए।
उनले लगानीकर्ताका लागि करमा सहुलियत र सेवासुविधामा वृद्धिलगायतका कारणले विकसित मुलुकमा व्यापार–व्यवसाय फस्टाएको तर हामीकहाँ सरकार निजी क्षेत्रप्रति उदासीन भएको र कर मात्र वृद्धि गर्दै लगेकोले लगानीकर्ता खुम्चिएको बताए। उनले कर घटाउँदा व्यवसाय वृद्धि हुने र सोबाट रोजगारका अवसर सृजना भई देश समृद्ध भएको विभिन्न अध्ययनले पुष्टि गरे पनि सरकार त्यसतर्फ जागरूक नभएकोमा दुःखेसो पोखे। नेपालमा राजस्वको दर दिन प्रतिदिन बढ्दै गएपछि बाहिरी लगानीकर्ताको लागि उपयुक्त माहोल बन्न नसकेर वैदेशिक लगानी अपेक्षाकृत भित्रिन नसकेको उनले बताए। महासङ्घका उपाध्यक्ष दिवेश श्रेष्ठले सरकारको यस्तै रवैया रह्यो भने आआफ्नो उद्योग–व्यवसाय बन्द गरेर घरमैं बस्न बाध्य हुने चेतावनी दिए।
महासङ्घका प्रदेश २ अध्यक्ष गणेश लाठले राज्यले उद्योगी–व्यवसायीप्रतिको हेपाहा प्रवृत्ति हटाउनुपर्ने माग गरे। राजनीतिक दलका नेताहरूले ट्रेड युनियनमार्फत मजदूरलाई उकास्ने तथा विभिन्न चन्दा चिठाबाट दुःख दिने गरेको उनको आरोप थियो।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा उद्योगपति अशोक बैधले वीरगंज कोरिडोरको उद्योगबाट विसर्जित पानीको व्यवस्थापनको लागि पानी शुद्धीकरण केन्द्रको स्थापना गर्नुपर्ने जरुरी रहेको बताए।
श्रीसिया खोलामा उद्योगले प्रदूषण बढाएको भन्दै उनले सरकारले कडाइ ग–यो वा खोलामा उद्योगको पानी खसाल्न पाइएन भने दर्जनौं उद्योगको अस्तित्व नै सखाप हुने चिन्ता व्यक्त गर्दै उनले वीरगंजका उद्योगीहरूको समस्या बुझ्न सरकारलाई अपील गरे। साथै उनले भारतबाट आयात गरिने कच्चा पदार्थको राजस्व दर निकै बढी भएकोले उत्पादन लागत महँगो भई सामानको दाम पनि महँगो हुने गरेको बताए। उनले सहज व्यापारको लागि औद्योगिक कच्चा पदार्थको आयातमा सरकारले न्यून राजस्व दर राख्नुपर्ने सुझाव दिए।
वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले निर्माणाधीन वीरगंज–पथलैया व्यापारिक मार्गको छेउमा रहेको नालामा उद्योगको पानी फाल्न अनुमति दिइनुपर्ने माग गरे। उनले सरकारसँग वीरगंज–पथलैया औद्योगिक कोरिडोरको विकासको लागि ६ लेन सडकको योजना माग गरेको र योजना निर्माण हुँदा पनि करोडौं राजस्व दिने उद्योगी–व्यवसायीको उद्योगबाट निस्कने पानी नालामा मिसाउन व्यापारिक मार्ग विस्तार योजना
कार्यालय पथलैयाले बन्देज लगाउँदा सो क्षेत्रका उद्योगीहरूलाई समस्या भएको बताए।
साधारणसभा उद्घाटन समारोहमा वीरगंजका तीनजना पत्रकार कन्हैयालाल केशरी, क्रान्ति साह, तुलसी भण्डारीलाई प्रमुख अतिथि श्रेष्ठले वीउवासङ्घको तर्फबाट सम्मानित गरेका थिए। यसैगरी, कार्यक्रममा आयात–निर्यातमा योगदान पु–याएबापत अरुणकुमार वर्णवाल, डाबर नेपाल, त्रिवेणी स्पिनिङ प्रालि, शिवशक्ति केमो प्लास्टिक, शिवशक्ति दाल मिल प्रालि, शिवशक्ति घ्यू उद्योग, अन्नपूर्ण भेजिटेबल्स प्रोडक्ट र नारायणी आयल रिफाइनरी प्रालिलाई सम्मानपत्र प्रदान गरिएको थियो।
वीउवासङ्घका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरू अजय सुमार्गी, भरत आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण महासचिव माधव राजपालले गरेका थिए।
वीउवासङ्घको ३५ सदस्यीय कार्यसमिति यसअघि नै निर्विरोध निर्वाचित भइसकेको छ। अध्यक्ष सुबोध गुप्ता, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, महासचिव माधव राजपाललगायतका पदाधिकारी सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here