छानी पर कौवा बोलता

0

राजेश मिश्र

छाना वा आँगनमा कागको काँव–काँवलाई आफन्त आगमनको सूचक मानिन्थ्यो। उहिले सञ्चारमाध्यम थिएन। एकअर्काको हालखबर बुझ्न आजकोे जस्तो सर्वसुलभ प्रविधि थिएन। माइतीको हालखबर जान्न छोरीहरू आतुर रहन्थे। घरको छानामुनि जीवन स्वीकार गर्ने महिलाहरूको खुशी घुम्टोमा सीमित थियो। अपवादबाहेक माइतीदेखि ससुराल र ससुरालदेखि माइतीसम्म मात्र महिलाहरूको गन्तव्य हुन्थ्यो। माइतीका आफन्तजन मात्र होइन अन्य जीवजन्तुको आगमनले पनि सुखानुभूति प्रदान गर्दथ्यो। मन प्रफुल्लित हुन्थ्यो। माइतीबाट बुबा, दाइभाइको आगमनपश्चात् प्रथमतः छोरीहरू खुट्टा समातेर रुने भावविह्वल क्षणको बयान गर्न कठिन छ। ‘चुप बबी चुप, मत रोव’ अर्थात् शान्त होऊ नानी, नरोऊ भनेपछि अश्रुधारा बन्द हुन्थ्यो। त्यसपछि एकअर्काको हालखबर सोध्ने र भन्ने गरिन्थ्यो।
यही सेरोफेरोमा आधारित एक कथाको माध्यमबाट विगतको ग्रामीण अनुभूति प्रस्तुत छ।
दिउँसोको समय थियो। ‘काँव–काँव’ कागको झुन्ड घरको छानामा कराइरहेको थियो। वरिपरि काँव–काँवको कोलाहल गुञ्जिरहेको थियो। एक काग प्वाँख फर्फराउँदै आँगनमा आयो। चापाकलको टुप्पोमा बस्यो। कावँ–कावँ गर्न थाल्यो। एकजना बालक आँगनमा खेलिरहेका थिए। बच्चाको ध्यान कागतर्फ केन्द्रित भयो। ‘उड कौवा उड’ भन्दै बच्चाले हात हल्लाउँथ्यो। प्वाँख फैलाउँदै काग उडे जस्तो गर्दथ्यो। तर उड्थेन। शायद कागलाई बच्चासँग कुनै भय थिएन। सम्भवतः काग केवल अभिनय गरिरहेको थियो। केहीबेरपछि बच्चाले हात हल्लाउन छाड्यो। उसको ध्यान कागको काँव–काँवमा अड्किसकेको थियो। ऊ कागलाई एकोहोरो हेरिरहेको थियो। केही सोचिरहेकोे मुद्रामा थियो। शायद उसको दिमागमा केही कुरा खेल्न थाल्यो। अनायाश उसको पाइला अघि सर्न थाल्यो। यद्यपि उसको ध्यान भने कागतर्फ नै केन्द्रित थियो। बच्चाको पाइला बिस्तारै कोठाभित्र सरिरहेको थियो। काग ओझेल हुँदै गयो। बच्चा पूर्णरूपेण कोठाभित्र पस्यो। कागहरूको क्रन्दनलाई खपडाको घरले छेक्न सकिरहेको थिएन। कागहरूको आवाज मजाले कोठाभित्र पुगिरहेको थियो।
बच्चाले सुतिरहेकी आमालाई उठाउन थाल्यो। झकझकाउन थाल्यो। बच्चाको कोलाहलले पनि आमा अचेत निद्रामा थिइन्। आँखा खुल्थ्यो। कोल्टो फेर्थिइन्। पुनः अचेत मुद्रामा पुग्थिइन्। बच्चाले कराउँदै भन्न थाल्यो, “माई–माई होदे छानी पर आ कल पर कौवा बैठल बा, बोलता, जोड–जोडसे बोलतारसन। (आमा चापाकलमाथि काग बसिरहेको छ, बोलिरहेको छ, जोडजोडले बोलिरहेको छ।)बिहान ४ बजे उठेदेखि दिउँसोसम्म काम गर्दागर्दै आमालाई आराम गर्ने फुर्सद हुन्थेन। काम सकेपछि मात्र मध्याह्नमा केहीबेर आराम गर्ने मौका पाइन्थ्यो। र त्यो पनि सासू, ससुरा, पति र देवर खेतबाट नफर्किउन्जेलसम्म। केहीअघि मात्र आमा ओछ्यानमा गएकी थिइन्। थाकेकी उनी ओछ्यानमा पल्टिने बित्तिकै आँखा लाग्यो। गहिरो निद्रामा रहेकी उनको अनुहारमा मुस्कान झल्किरहेको थियो। शायद उनी सपनामा थिइन्। नजीकै रहेको बच्चाको ठूलो स्वर पनि उनको कानसम्म पुगिरहेको थिएन। बच्चाले ठूलो स्वरसँगै पुनः आमालाई झकझकाउन थाल्यो। एक्कासि उनी उठिन्। बसिन्। बच्चालाई काखमा लिइन्। बच्चालाई हेर्न थालिन्। चुम्न थालिन्। सुम्सुम्याउन थालिन्।
आमाले आँखा मिच्दै र कपाल बाट्दै प्रश्न गरिन्, “का भइल हमर बच्चा ? मामा आगइलन का ?” (के भयो मेरो बाबु ? मामा आउनुभयो ?) उनले सपनामा दाइ आएको देखेकी थिइन्।
बच्चाले उत्तर दियो, “ना माई, कौवा बाडा बोलता। काहे बोलता माई ?”
(होइन आमा, काग बढी बोलिरहेको छ, किन बोलिरहेको छ आमा ?) भन्दै प्रतिप्रश्न ग–यो।
आमाले सजिलोसँग उत्तर फर्काइन्, “कौवा भी बोलता आ हम सपना में भी देखनीं ह कि तोहर मामा बोलावे आइल बाडन्। (काग पनि बोलिरहेको छ अनि मैले सपनामा पनि देखें कि तिम्रो मामा बोलाउन आएका छन्)।”
अहिले छानामा कागको झुन्ड थिएन। सबै उडिसकेका थिए। वरिपरि कागहरूको कोलाहल थिएन। मानवीय स्वर घरभित्र पुगिरहेको थियो। आवाज यकीन गर्ने प्रयासमा उनी आवाजतर्फ ध्यानकेन्द्रित गरिन्। मिश्रित आवाज आइरहेको थियो। यद्यपि सासू र ससुरासँगै दाइको जस्तो आवाज पनि महसूस गरिन्। यद्यपि शतप्रतिशत यकीन नभए पनि आशङ्का भयो। परिवारजन खेतबाट फर्किएपछि सीधैं घरभित्र छिर्थे। आज आउने बित्तिकै घरभित्र छिरेनन्। घरअगाडि आँप र पीपलको बोट थियो। त्यहींबाट एकअर्काको मिश्रित शब्द ध्वनि कानसम्म पुगिरहेकोे थियो। सधैं कडा परिश्रम गरेर फर्केका परिवारजनलाई खाना खाने हतार हुन्थ्यो। आज किन बाहिर गफ भइरहेको छ ? भन्दै उनलाई शङ्का हुनु अस्वाभाविक थिएन। अवश्य पनि दाइ आएका छन् भन्ने लख काटिन्।
मनमा खुशीको भाव उत्पन्न भयो। कपाल र साडी ठीक पार्दै उनी घरको मुख्यद्वारतर्फ दौडिन्। परम्परागत काठकोे ढोकाको सानो प्वालबाट उनले बाहिर हेर्न थालिन्। उनले परिवारका सदस्यजनबाहेक दाइको पनि आवाज सुनिन्। औंधी खुशी भइन्। कागको काँव–काँव र उनको सपना सही साबित भएको थियो। ढोकाको सानो छिद्रबाट सासू, ससुरा र देवरको अनुहार मधुरो देखिइरहेको थियो। पति अहिलेसम्म आएका थिएनन्। उनी नितान्त शान्तिका साथ उनीहरूबीचको कुराकानी सुन्न थालिन्।
ससुराः घरवे साफा सुनसान हो जाला। फगुवा बितजाए दिं बाबुवा, तब कुछ दिन ला लेजाएम। (घर एकदम सुनसान हुन्छ। फागु पर्व बित्न दिनुस् बाबु, त्यसपछि केही दिनको लािग लैजानुहोला।)
दाइः बियाह भइल बा तब से बबी एकोबेर नईहर के फगुवा नइखे मनइले। अबकी बार जाएदीं बाबुजी। (विवाहपछि एकपटक पनि बहिनीले माइतीमा फागु पर्व मनाएकी छैनन्। यसपटक जान दिनुस् बुबा।)
सासूः बियाह के केतना दिनके बाद त पोता के जनम भइल। पवनी में पतोह आ पोता कहूँ चल जालन त घर साफा सुनसान हो जाला। मन ना लागेला।
(विवाहको वर्षौंपछि नातिको जन्म भयो। पर्व त्योहारमा बुहारी र नाति कतै गएपछि घर एकदम सुनसान हुन्छ। मन लाग्दैन।)
दाइः ओने माई आ बाबुजी भी बेटी आ नाति से भेंट करेला बेचैन बा लोग। रउवा जेठ सरदार बानी, कौनो रास्ता निकाली बाबुजी। (उता आमा र बुबा पनि छोरी र नातिसँग भेट्न आतुर छन्। तपाईं अभिभावक हुनुहुन्छ, कुनै उपाय पहिल्याउनुहोस्, बुबा।)
दाइले बहिनीलाई यसपालिको फागु पर्वमा लैजानको लागि दिन राख्न आएका थिए। अभिभावकको स्वीकृतिविना बुहारीको बिदाइ असम्भव थियो। उहिलेको परम्परामा माइती पक्ष होस् वा ससुराल पक्ष पुरोहितले भनेको तिथिमा बिदाइ गराउने संस्कार थियो। छोरीलाई वा बुहारीलाई बिदाइको बेला ठेकुवा र कसार आदि बाएनसहित बिदाइ गर्ने परम्परा परिवर्तित स्वरूपमा अहिले पनि निरन्तर छ। अभिभावक (ससुरा)ले धेरै विचार गरेपछि आश्वासन दिए। ससुराको वचन सुनेपछि यता ढोकाको प्वालबाट सुनिरहेकी उनी असाध्यै खुशी भइन्। उनको मनमा बिहेअघि स्वतन्त्ररूपमा माइतीमा खेलेको होली फिल्मको रिलझैं मस्तिष्कमा चल्न थाल्यो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here