उमाशङ्कर द्विवेदी

“दारुक, मेरोलागि स्त्री, मित्र अथवा बन्धु–बान्धव आदि कोही पनि कुन्तीनन्दन अर्जुनभन्दा प्रिय छैनन्। यस संसारलाई अर्जुनविना म एक क्षण पनि हेर्न सक्दिनँ। यस्तो हुनै सक्दैन। अर्जुनको लागि म कर्ण, दुर्योधन आदि सबै महारथीलाई उनीहरूको घोडा र हात्तीहरूसहित मार्न सक्दछु। भोलि सम्पूर्ण दुनियाँले थाहा पाइहाल्नेछ कि म अर्जुनको मित्र हुँ। जसले ऊसित द्वेष राख्दछ, उसले मसित पनि द्वेष राख्दछ। जो उसको अनुकूल छ, ऊ मेरो पनि अनुकूल छ। तिमी आप्mनो बुद्धिबाट यो कुरा निश्चय गर कि अर्जुन मेरो आधी शरीर हो। एकाबिहानै मेरो रथलाई सजाएर तयार गरिदिनू। त्यसमा सुदर्शन चक्र, कौमोदकी गदा, दिव्य शक्ति र साङ्र्ग धनुषको साथै सबै आवश्यक सामग्री राखिदिनू। घोडालाई जोतेर तयारी राख्नू, मेरो पाञ्चजन्यको ध्वनि हुने बित्तिकै रथलाई बडो वेगले मेरोछेउमा ल्याउनू। म आशा गर्दछु, अर्जुनले जुन जुन वीरको वध गर्ने प्रयत्न गर्नेछ, त्यहाँ त्यहाँ उसको विजय हुनेछ।” दारुकले भने– “पुरुषोत्तम, तपाईं जसको सारथि हुनुहुनेछ, उसको विजय त निश्चित नै हुनेछ, उसको पराजय कसरी हुन सक्नेछ ? अर्जुनको विजयको लागि तपाईंले मलाई जे गर्न आज्ञा गरिरहनुभएको छ, त्यसलाई बिहान हुने बित्तिकै म पूर्ण गर्नेछु।”
सञ्जय भन्छन्– “राजन्, अर्जुन आप्mनो प्रतिज्ञा पूरा गर्ने विषयमा विचार गर्दै सुतिहाले। उनले फिक्री गरिरहेको कुरा थाहा पाई स्वप्नमैं भगवान् श्रीकृष्णले दर्शन दिए। भगवान्लाई हेर्ने बित्तिकै अर्जुन उनलाई बस्न आसन दिएर चुप लागेर उभिए।” श्रीकृष्णले उनको निश्चयबारे थाहा पाई भने– “धनञ्जय, तिमी केको लागि खेद गरिरहेका छौ। बुद्धिमान् पुरुषले कुनै किसिमको फिक्री गर्नुहुँदैन, त्यसबाट काम बिग्रन्छ। गर्नुपर्ने काम सामु आइपरेपछि त्यसलाई पूर्ण गरिहाल्नुपर्दछ। उद्योगहीन मानिसको शोक त उसको लागि शत्रुझैं काम दिन्छ।”
भगवान्ले यस्तो भनेपछि अर्जुनले भने– “केशव, मैले भोलि आप्mनो पुत्रको घातक जयद्रथलाई मार्ने बडो गा–हो प्रतिज्ञा गरिसकेको छु, तर सोच्दछु मेरो प्रतिज्ञा भङ्ग गर्नको लागि कौरवहरूले निश्चय नै जयद्रथलाई सबैभन्दा पछाडि राख्नेछन्। जम्मै कौरव महारथीहरूले उसको रक्षा गर्नेछन्। एघार अक्षौहिणी सेनाहरूमध्ये जति बाँचेका छन्, ती जम्मैबाट घेरिएको जयद्रथलाई मैले कसरी हेर्न सक्नेछु ? यदि देखिएन भने प्रतिज्ञाको पालन हुन सक्नेछैन र प्रतिज्ञा भङ्ग भएपछि म जस्तो मानिसले कसरी जीवन धारण गर्न सक्नेछ ? त्यसैले मेरो आशा निराशाको रूपमा परिणत हुँदै गइरहेको छ। यसबाहेक अचेल सूर्य पनि छिट्टै अस्त हुने गर्दछ। यिनै कारणले म यस्तो भनिरहेको छु।”
अर्जुनको शोकको कारण सुनेर श्रीकृष्णले भने– “पार्थ, शङ्करजीसित ‘पाशुपत’ नामक एक दिव्य सनातन अस्त्र छ, जसबाट उनले पूर्वकालमा सम्पूर्ण दैत्यको संहार गरेका थिए। यदि तिमीलाई त्यस अस्त्रको ज्ञान छ भने अवश्य नै भोलि जयद्रथको वध गर्न सक्नेछौ, यदि त्यस अस्त्रको ज्ञान छैन भने मनैमनमा शङ्करजीको ध्यान गर। यस्तो गरेपछि तिमीले उनको कृपाबाट त्यस महान् अस्त्रलाई प्राप्त गर्न सक्नेछौ।”
भगवान् श्रीकृष्णको कुरा सुनेपछि अर्जुनले आचमन गरेर भूमिमाथि आसन ओछ्याएर बसिहाले र एकाग्र भएर शङ्करजीको ध्यान गर्न थाले। तदन्तर ध्यानावस्थामा शुभ ब्रह्म मुहूर्तको समयमा अर्जुनले श्रीकृष्णको साथमा आपूm पनि आकाशमा उडिरहेको हेरे। त्यति बेला उनीहरूको वायुको समान गति थियो। भगवान् श्रीकृष्ण अर्जुनको दाहिने बाहु समातेर उडिरहेका थिए। उत्तर दिशामा अगि बढेपछि उनीहरूले हिमालयको पावन प्रदेश र मणिमान पर्वत हेरे, जहाँ दिव्य ज्योति छरिएको थियो र सिद्ध तथा चारणगणहरूले विचरण गरिरहेका थिए। मार्गमा अद्भुत भावहरू हेर्दै उनीहरू अगि बढेपछि श्वेत पर्वत देखियो। छेवैमा कुबेरको विहार वन थियो, त्यसको सरोवरमा कमलका पूmलहरू फक्रिएका थिए। अलिक पर अगाध जलले भरिपूर्ण गङ्गाजीको धारा थियो, त्यसको किनारमा ऋषिहरूको पवित्र आश्रम थियो। त्यसको अगाडि मन्दराचलको रमणीय प्रदेश दृष्टिगोचर भयो, जहाँ किन्नरहरूको सङ्गीतलहरी गुञ्जायमान थियो। यस प्रकार अनेकौं दिव्य स्थान पार गरेपछि उनीहरूले एउटा परम प्रकाशमान पर्वत हेरे, त्यसको शिखरमाथि हजारौं सूर्यको समान देदिप्यमान् भगवान शङ्कर विराजमान थिए। उनको हातमा त्रिशूल थियो, मस्तकमाथि जटाजूटले शोभा पाइराखेको थियो। गोरो शरीरमा वल्कल र मृगचर्म बेरिएको भगवान् भूतनाथ पार्वतीदेवीका साथ बसेका थिए। तेजस्वी भूतगणहरू उनको सेवामा तल्लीन थिए। ब्रह्मवादी ऋषिहरू दिव्य स्तोत्रहरूबाट उनको स्तुति गरिरहेका थिए।
त्यहाँ पुगेर भगवान् श्रीकृष्ण र अर्जुनले पृथ्वीमाथि मस्तक टेकेर ढोगे। ती दुई नर र नारायणलाई त्यहाँ आएको हेरेर शङ्करजी अत्यन्त प्रसन्न भएर हाँस्दै भने– वीरवरहरू हो, तपाईं दुवैजनाको कैलाशमा स्वागत छ, विश्राम गर्नुहोस् र मलाई भन्नुहोस्– तपाईंहरूको के इच्छा छ। तपाईंहरू यहाँ जुन कामले आउनुभएको छ, म त्यसलाई अवश्य नै पूर्ण गर्नेछु। क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here