समीर पाख्रिन
कर्णे आज बिहानैदेखि थकित छ। ऊ आँगनमा बसेर घरीघरी हाइ…हाइ काँडिरहेको छ। बिहान सबेरै उठेर पँधेराबाट दुई–तीन गाग्री पानी ओसारिसक्ने कर्णेलाई आज जाँगर चलेको छैन।
“लिनोस् चिया। के भो ? बिहानै नून खाएको कुखुराजस्तो झोक्राउनुभएको छ नि ?” कर्णेकी पत्नी चमेलीले चिया टक्राउँदै प्रश्न गरिन्।
“दिनभरि घोक्रो फुलाइफुलाइ जिन्दाबाद १ आई लभ यू भनेर चिच्याएकोले होला जीउ फतक्क गलेको छ।”
“मल बोक्नुपर्ने मान्छे, दिनदिनै जुलूसमा हिंडेका छन्। म एक्लैबाट त हुँदैन है भनीदिएकी छु नि,” चमेली फतफताउँदै भान्सातिर लागिन्।
“ल ल दिउँसोतिर बोकौंला,” यति भनी कर्णे चिया पिउन थाल्छ। हुन पनि कर्णे मात्र होइन गाउँका लोग्ने मानिसहरू हिजोआज सबै काम लथालिङ्ग छाडेर घर लौरीमा हिंडेका छन्। जान्न भन्नसमेत नपाइने अवस्था आएपछि गरोस् पनि के ?
“पहिला एक भारी घाँस ल्याउँछु, त्यसपछि भात खान्छु र दिउँसोतिर मल बोक्नुप–यो,” उसले अठोट गरेको मात्र के हुन्छ एक हूल गाउँँले आँगनमा देखा पर्छ।
“कर्णे, लौ लौ जानुप–यो तयार भैहाल्नूू,” एउटाले फूर्तिका साथ भन्यो।
“हैन कहाँ जाने भन्या फेरि ?” कर्णेले झर्को मान्दै हूलतिर हेरेर सोध्यो।
“–यालीमा,” सबैले एकै स्वरमा भने।
“हैन हिजो मात्र दिनभरि हिंडेका होइनौं र ?”
“आ… म त जान्नँ। भात पनि खॉको छैन। म त एक डोको घाँस लिन जङ्गलतिर हिंडे,” कर्णे डोको बोकेर हिंड्ने तरखर गर्छ।
“ए १ भनेपछि त प्रतिगमन पक्षधर रहेछस् होइन त ? ल मैले चिनें। हिंड केटाहरू यसलाई पछि हेरौंला,” मुखिया जस्तो देखिने व्यक्तिले औंला ठड्याउँदै भन्यो।
सबैले हो मा हो थपे अनि आँगनबाट प्रस्थान गरे। कर्णे दङ्ग प–यो। प्रथमतः उसले मुखियाको भाषा नै बुझेन। ऊ मुखियाको प्रतिगमन शब्दको अर्थ खोज्दै जङ्गलतिर लाग्यो।