प्रस, वीरगंज, १६ फागुन/
पर्साको पटेर्वासुगौली–१ सोनवर्षा मलोली टाँडी निवासी ५१ वर्षीय महम्जान मियाँ अन्सारीको हत्याको आरोपमा प्रहरीले चार वर्षपछि एकजनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा सोही स्थान निवासी मोलाजिम मियाँ अन्सारीलाई रहेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। महम्जानको हत्या २०७३ साउन २८ गते भएको तर उनको शव ३२ गते फेला परेको थियो। मेला हेर्न घरबाट निस्केका उनको हत्या घोडामसाननजीक सेन्चुरी खोलामा चार दिनपछि शव फेला परेको थियो। मृतकको शरीरभरि गोली लागेको तथा शल्यपरीक्षण गर्दा तीनवटा गोली निकालिएको थियो।प्रहरीले दिएको जानकारी अनुसार पीडित पक्षले सोही बेला १३ जनामाथि किटानी जाहेरी दिएको थियो। सो क्रममा प्रहरीले मृतकसँगै मेला हेर्न जाने भन्डिल भन्ने रहिम अन्सारी तथा अली हजरत अन्सारीलाई पक्राउ गरेको थियो।
तत्कालीन पर्सा प्रहरी प्रमुख गणेश रेग्मीको सरुवा भएपछि मुद्दा हेर्ने अधिकृत तथा सरकारी वकीलले चलखेल गरी दुवैजनालाई साधारण तारिखमा रिहा गर्दा चौतर्फी विरोधसमेत भएको थियो। तर अहिले मोलाजिम पक्राउ परेपछि घटना उनीहरूतर्फ तेर्सिएको छ। मोलाजिम पक्राउपछि तारिखमा रहेका रहिम र अलि हजरत दुवैजना फरार रहेको प्रउ पाण्डेले बताए।
तत्कालीन अवस्थामा प्रहरीले मुद्दाको अनुसन्धानसमेत नगरी लापरवाहीपूर्वक टुङ्ग्याएको प्रउ पाण्डेको भनाइ छ। तत्कालीन मुद्दा अधिकृतले मुद्दासमेत बिगारेको प्रउ पाण्डेले बताए। अहिले मोलाजिम पक्राउ परेपछि धेरै कुरा खुल्ने प्रउ पाण्डेको जिकिर छ। प्रउ पाण्डेले आफू पर्सामा आएपछि पुराना फाइलहरू अध्ययन गर्दै दोषीहरूलाई पक्राउ गर्न थालेको बताए। मोलाजिममाथि शरीर बन्धक, अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here