प्रस, वीरगंज, १५ फागुन/
योजनाबद्धरूपमा सङ्गठित भई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने वीरगंज महानगर–३० परसोतीपुर निवासी दीपेन्द्र यादव र बारा बरैनिया विश्रामपुर निवासी लेखनदास शैलेन्द्र त्रिपाठी हुन्। सोही घटनामा संलग्न अन्य व्यक्ति फरार रहेका पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।
पक्राउ परेका व्यक्तिहरूले वीरगंज महानगरपालिका–३० लालपर्सा निवासी ७० वर्षीय मुनिराउत अहिरलाई ललाइफकाइ ३ करोड ३० लाख रुपैयाँको कपाली तमसुक बनाइ ठगी गरेको प्रहरीले जनाएको छ। मुनिराउतको विश्वासपात्र रहेका बेला दीपेन्द्रले आफ्नो साथी जीतेन्द्रको नातामा पर्ने सालो उदयबाबू यादवको नाममा झुक्याएर वृद्ध मुनिसँग कपाली तमसुक बनाउन सफल भएका थिए।गाउँका धनी मुनिराउत अहिर पढेलेखेका छैनन्। ११ जना छोरीका बुबा वृद्ध मुनिसँग जग्गा किनबेचको क्रममा दीपेन्द्रले झुक्याइ कपाली तमसुकमा हस्ताक्षर गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ। आफ्नो सबै कारोबार हेर्ने विश्वासपात्र दीपेन्द्रले आफूलाई विश्वासघात गरी झुक्याएको पीडित मुनिराउत अहिरले बताए। दैनिक खान नै धौधौ पर्ने उदयबाबू यादवले आफूलाई ३ करोड ३० लाख रुपैयाँ ऋण कुनै पनि हालतमा दिन नसक्ने भन्दै वृद्ध मुनिले आफूमाथि भएको घातप्रति आश्चर्य प्रकट गरे।
दीपेन्द्रले मुनिविरुद्ध दायर गरेको ६ करोड ६० लाख रुपैयाँको लेनदेन मुद्दा पर्सा जिल्ला अदालतमा विचाराधीन छ। प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार घटनामा संलग्न पाँचजनामध्ये दुईजना पक्राउ परेका र तीनजना फरार छन्।
मुनिराउत अहिरको घरमा अदालतको सम्मन पुगेपछि मात्रै उनले आफू ठगीमा परेको कुरा थाहा पाएका हुन्। त्यसपछि उनी न्यायको खोजीमा जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका हुन्। घटनामा संलग्न सबैजनामाथि सङ्गठित ठगी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रउ पाण्डेले बताए।
नगद लेनदेनविनै कागज बनाउने लेखनदास जगरनाथपुर–४ सोहपुर निवासी उदयबाबू यादव, साक्षी शिवराज पासवान र निचुटा निवासी प्रकाशप्रसाद यादव हाल फरार रहेका र उनीहरूलाई पक्राउ गर्न जिल्लाभित्र प्रहरी परिचालन भइसकेको साथै जिल्लाबाहिरका सम्भावित क्षेत्रका प्रहरीसँग समन्वय भइरहेको जिप्रका पर्साले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here