बालविवाहको आरोपमा बेहुला र बुबा पक्राउ

0

प्रस, वीरगंज, १५ फागुन/
बालविवाह गरेको आरोपमा वीरगंजमा बेहुला र बेहुलाका बुबा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूलाई शुक्रवार दिउँसो पक्राउ गरेको हो।
वीरगंज–१६ लक्ष्मीनारायण टोलस्थित आफ्नै घरबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ। बेहुला गुड्डु सर्राफको उमेर १९ वर्ष रहेको छ। बितेको माघ १७ गते सोही टोलकी १७ वर्षीया किशोरी र १९ वर्षीय किशोरबीच विवाह भएको उजूरी प्रहरीमा परेपछि प्रहरीले अनुसन्धानको लागि बेहुला र उनको बुबा ४६ वर्षीय कृष्ण सर्राफलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।बालविवाह सम्बन्धमा विवाह भएको तीन महीनासम्म उजूरी गर्न सक्ने कानूनी व्यवस्था छ।
बालविवाह प्रमाणित भएमा बालविवाह स्वतः बदर हुने र कसूर गर्ने आरोपितलाई ३ वर्ष कैद साथै ३० हजार रुपैयाँसम्म जरिवाना हुने मुलुकी संहितामा व्यवस्था रहेको कानून व्यवसायीहरूले बताएका छन्। मुलुकी संहितामा बेहुला र बेहुलीको विवाह योग्य उमेर २० वर्षमाथि रहेको छ। प्रहरीले पर्सा जिल्ला अदालतमा बालविवाहसम्बन्धी मुद्दामा ७ दिनको म्याद थमाइ थप अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले बालविवाहसम्बन्धी घटनाहरू आफ्नो गाउँटोलमा छन् भने प्रहरीमा उजूरी वा जानकारी गराइ बालविवाह न्यूनीकरणमा सहयोग पु–याउन सर्वसाधारणसँग अपील गरेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here