प्रस, वीरगंज, १४ फागुन/
सामाजिक सञ्जालबाट चिठा परेको भन्दै ठगी गरेको अभियोगमा एक भारतीयसहित दुईजनालाई पक्राउ गरिएको छ। पर्सा प्रहरीले उनीहरूलाई वीरगंजबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत, बिहार, पूर्वी चम्पारण मोतीहारी थाना वडा नं २ बस्ने वर्ष ४३ का राकेश कुमार र वीरगंज २० हरपतगंजका रामपुकारप्रसाद यादवलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।पर्सा प्रहरीले उनीहरूलाई बिहीवार पक्राउ गरी थप कारबाहीको लागि महानगरीय अपराध महाशाखा टेकु काठमाडौंमा पठाएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले बताए। उनका अनुसार सामाजिक सञ्जालबाट ठगी गरेको गिरोहको बारेमा काठमाडौंका सुनील सेन्चुरीले महानगरीय प्रहरीमा दिएको उजूरीको विषयमा सूक्ष्म अनुसन्धान गरेपछि उनीहरू पक्राउ परेको जनाइएको छ।
सामाजिक सञ्जाल इमो, ह्वाट्सएपबाट चिठा परेको भन्दै पैसा पठाइदिन अग्रिम रकमबापत विभिन्न बैंक र वित्तीय संस्थामार्फत १ लाख ८४ हजार रुपैयाँ विभिन्न व्यक्तिबाट ठगी गरेको खुलेको छ। ठगी गर्ने गिरोहले श्रीनिवास साह तेलीको सिभिल बैंकको खाताबाट साढे ४९ हजार, रामपुकारप्रसाद यादवको ज्योति विकास बैंकबाट साढे १९ हजार, निजकै प्राइम कमर्शियल बैंकबाट ५० हजार, पूजा रिमालको ईसेवा आइडीबाट ३५ हजार गरी कुल १ लाख ८४ हजार रुपैयाँ ठगि गरेको प्रहरी अनुसन्धानबाट खुलेको पर्सा प्रहरीले जनाएको छ।