सर्वोच्चको फैसलाले देशमा अस्थिरता थपियो –मन्त्री प्रभु साह

0

प्रस, वीरगंज, १४ फागुन/
शहरी विकासमन्त्री प्रभु साहले पछिल्लोपटक सर्वोच्च अदालतको संसद् विघटनको सम्बन्धमा गरेको फैसलाले देशमा अस्थिरता निम्त्याएको बताएका छन्।
पर्साको छिपहरमाई गाउँपालिकाको टिहुकी सेढाको चौरमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले बहुमतको सरकारको प्रधानमन्त्रीले विघटन गरेको संसद्लाई सर्वोच्चले फैसला गर्दै जीवित पारेकोप्रति असन्तुष्टि जनाउँदै उनले सर्वोच्चको फैसलाले देश सङ्कट तथा अस्थिरतातर्फ गएको टिप्पणी गरे।
कार्यक्रममा मन्त्री साहले भने, “करीब दुई तिहाइ बराबरको सरकारका प्रधानमन्त्रीलाई नेकपाकै केही नेताको स्वार्थमा हटाउन षड्यन्त्र भएपछि प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गर्ने निर्णयमा पुग्नुभयो, त्यसपछि देश चुनावमा गइरहेको बेला अचानक सर्वोच्चको फैसलाले देशलाई सङ्कटमा धकेलेको छ।”उनले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएको चर्चा गर्दै माता जानकी जनकपुरधाम अहिले कमिशनको लेनदेन गर्ने अखाडा बनेको पनि उनले बताए। उनले प्रदेश सरकारले तीन वर्षमा प्रदेश २ का जनताको हित हुने कुनै पनि उदाहरणीय विकासको काम नगरेको पनि आरोप लगाए। प्रदेश सरकारको अहिलको मुख्य एजेन्डा प्रदेश विकसित र समृद्ध पार्नुपर्नेमा खाली बजेटमा कमिशन खोज्ने मात्र भएको पनि मन्त्री साहको आरोप थियो।
छिपहरमाई गाउँपालिका समितिका अध्यक्ष प्रह्लाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पर्साका जिल्ला अध्यक्ष प्रभु हजरा, संविधानसभा सदस्य राजकुमार गुप्ता, जयप्रकाश थारू, प्रदेश कमिटी सदस्य बलिराम साह, गापा अध्यक्ष मनोज गुप्ता, सुवास साहलगायतले मन्तव्य व्यक्त गरेका थिए। सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेकाहरूलाई स्वागत गरिएको थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here