सञ्जय मित्र

आजभोलि मांसाहार भोजनलाई सामान्य मान्न थालिएको छ। एकातर्फ शाकाहारी बन्नुपर्छ भन्ने एक किसिमको समूह नै बनेको छ, जो शाकाहारीबाहेकलाई अछूतजस्तो व्यवहार गर्दछ र तर्क दिइन्छ कि मांसाहार भोजन राक्षस भोजन हो। मानिसले मांसाहार भोजन गर्नुहुँदैन। यहाँ राक्षस भनेर कसैलाई हेपिएको हो भने म त्यसलाई यस अर्थमा अस्वीकार गर्छु कि मेरो विचारमा कुनै दिन राक्षस एक जाति थियो, जो अहिले सम्भवतः लोप भइसकेको छ। अर्काथरी छन् जो मांसाहार भोजन शरीर र स्वास्थ्यअनुकूल छ भन्ने तर्क दिन्छन्।
हाम्रो समाजलाई नियाल्ने हो भने धार्मिक कार्य दुवै किसिमले हुने गरेको पाइन्छ। धार्मिक कार्यमा पनि बलि चढाइन्छ र प्रसादको रूपमा मासु खाइन्छ। यसैगरी, माछा वा मासु अर्थात् मांसाहारी पदार्थबाट सम्पूर्णतः टाढा रहनुपर्ने धार्मिक क्रियाकलाप पनि हुन्छ। अझ ताज्जुब त त्यतिबेला लाग्छ, जब एउटै देवतालाई कतै शाकाहारी र कतै मांसाहारी मानिन्छ। काठमाडौं उपत्यका र अन्य कतिपय स्थानमा भगवान् गणेशलाई अन्डा चढाइने र महादेवलाई पश्चिम बङ्गालको कतिपय स्थानमा माछाको भोग लगाइने गरेको पनि सुनिन्छ। मधेसका अत्यन्त लोकप्रिय ग्रामदेवता जो प्रायः हरेक गाउँमा छन्, ब्रह्मबाबालाई कतै शाकाहारी मानेर त्यस्तै सामग्रीले पूजा गरिन्छ भने कतै बोका वा परेवा बलि दिएर पूजा गरिन्छ। सामाजिक व्यवहार त सम्बन्धित समाजले आफ्नोअनुकूल गरेको वा चलन चलाएको र निरन्तरताले संस्कृति बन्न पुगेको मान्न सकिन्छ तर के शास्त्रमा पनि यससम्बन्धी केही स्पष्ट कुरा उल्लेख भएको पाइन्छ त ?
रामायण र महाभारत तथा अन्य प्रसिद्ध ग्रन्थहरूमा यस प्रकारको स्पष्ट सङ्केत पाइन्न तर मनुस्मृतिमा भोजनको विषयमा भने केही स्पष्ट चर्चा गरिएको देखिन्छ। मनुस्मृतिलाई आदि ग्रन्थ मानिन्छ र हिन्दूशास्त्रमध्ये सबैभन्दा बढी विवादास्पद ग्रन्थ पनि मानिन्छ। कतिपयले के भनेका छन् भने यसमा विशृङ्खलितरूपमा विचार प्रवाह भएको छ र यो विशृङ्खलित विचारहरूप्रति कतिपयले असहमति पनि प्रकट गरेका छन्। हजारौं वर्ष पुरानो शास्त्र भएकोले यस विषयमा अनेक विवाद हुनु स्वाभाविक नै हो। यसले महिलालाई सम्मान नगरेको र जातिप्रथालाई उचालेको आरोप खेप्दै आएको छ। निरन्तर चर्चामा रहने यस ग्रन्थमा मांसाहार भोजनबारे पनि केही श्लोक लेखिएका छन्ःनियक्तस्तु यथान्यायं यो मांसं नात्ति मानवः।
स प्रेत्य पशुतां याति संभावनेकविंशतिम्।।३५।।

मनुस्मृतिको पाँचौं अध्यायको यस श्लोकमा जो मानिस श्राद्ध तथा मधुपर्कमा नियुक्त गरिएको, मासु खाँदैनन्, मरेपछि एक्काइस जुनीसम्म पशु रहन्छन् भनिएको बताइएको छ।
मनुस्मृतिको पाँचौं अध्यायका विभिन्न श्लोकले कुन अवस्थामा मासु खान हुने तथा कुन पशु वा पक्षीको मासु खान हुने तथा कुन पशु, पक्षी वा माछाको मासु खान नहुने भन्ने विषयमा चर्चा गरिएको छ। कुन अवस्थामा मासु खान सकिन्छ वा कुन अवस्थामा मासु खानुहुँदैन भन्ने विषयमा पनि विभिन्न शर्त तथा बन्देजहरू यसमा दिइएका छन् तर एक ठाउँमा यसरी पनि बताइएको छ मनुस्मृतिमाः
क्रीत्वा स्वयं वाप्युत्पाद्य परोपकृतमेव वा।
देवान्पितृंश्चार्ययित्वा खादन्मांसं न दुष्यति।।३२।।

यस श्लोकको भावार्थ यो रहेको मानिएको छ कि मूल्य लिएर वा आफैंले उत्पन्न गरेर, वा कसैबाट उपहार लिइएको होओस्, यस्तो मासु, देवता तथा पितृहरूलाई समर्पण गरी जो मान्छेले खान्छन्, ऊ दोषको भागी बन्दैनन्।
यसै भागको अर्को श्लोकमा यसरी भनिएको छः
नात्ता दुष्यत्यदन्नाद्यान्प्राणिनोऽहन्यहन्यपि।
धात्रैव सृष्टा ह्याद्याश्च प्राणिनोऽत्तार एव च।।३०।।

अर्थात् यसले यो भन्न खोजेको छ कि खाने जीवले प्रतिदिन पच्ने, खानेयोग्य प्राणीलाई खाएर दोषभागी हुँदैनन् किनभने ब्रह्माले नै खाद्य र खादक दुवैको निर्माण गरेका छन्।
सामान्यता शास्त्रहरूमा मासुको विषयमा स्पष्ट उल्लेख नगरिएकोले मनुस्मृतिको यस विषयप्रति पनि व्यापक मतभेद रहेको छ। फेरि पनि जाति तथा महिला र अन्य विषयमा पनि यस ग्रन्थको विचारप्रति असहमति जनाउनेको सङ्ख्या पर्याप्त रहेको सन्दर्भमा यसै ग्रन्थमा मासुको विषयमा चर्चा गरिएको पाइनुलाई पनि विवादको विषय एकथरीले मान्नु स्वाभाविक मानिएको छ।
आदि ग्रन्थ भनिए पनि मुनस्मृतिमा वेदहरूको चर्चा गरिएको पाइन्छ। यसैगरी, गायत्री मन्त्रको प्रसङ्ग पनि श्रद्धापूर्वक निकै ठाउँमा आएको देखिन्छ। यसबाट यो स्पष्ट हुन्छ कि वेदहरूको रचना भइसकेको र गायत्री मन्त्रले विस्तार पाइसकेपछि मनुस्मृति लेखिएको हो। यस ग्रन्थको दृष्टान्त रामायणमा दिइएको पाइन्छ भनिन्छ। महाभारतमा त अर्जुनलाई उपदेश दिने क्रममा श्रीकृष्णले स्मृतिमा आफू मनुस्मृति रहेको बताएबाट पनि स्पष्ट हुन्छ कि मनुस्मृति महाभारतभन्दा पुरानो मात्र नभएर त्यतिबेलासम्म यसले ख्याति कमाइसकेको थियो भन्ने कुरो।
मांसाहारी भोजनको सम्बन्धमा मनुस्मृतिको एउटा श्लोकमा यसरी भनिएको पाइन्छः
यज्ञाय जग्धिर्मांसस्यत्येष दैवो विधिः स्मृतः।
अतोऽन्यथा प्रवृत्तिस्तु राक्षसो विधिरुच्यते।।३१।।
सम्भवतः यसको भावार्थ यस्तो रहेको छ, “यज्ञको लागि मासु खानु दैवविधि भनिएको छ भने शरीरपुष्टिको लागि मासु खानु राक्षसविधि भनिएको छ।”
सम्भवतः मनुस्मृतिको रचना हुँदाको समयमा यज्ञमा पशुको प्रयोग भइरहेको थियो र यज्ञमा पशुको प्रयोग सम्भवतः बलिको रूपमा गरिएको थियो र त्यही बलिमांसको भोजन गर्ने चलन थियो। साथै शरीरपुष्टि वा शरीरलाई बलियो बनाउने किसिमले पनि मासुको प्रयोग हुन थालिसकेको थियो।
तत्कालीन समयलाई केही हदसम्म बुझ्नको लागि मनुस्मृतिले सहयोग गरेको छ। तत्कालीन समाज, त्यति बेलाको मानवीय प्रकृति तथा सामाजिक व्यवहारको विषयलाई पनि प्रत्यक्ष तथा साङ्केतिकरूपमा बुझ्न मनुस्मृतिले सहयोग गरेको छ।
अहिलेसम्म निकै विवादास्पद रहेको यस कृतिको प्रभाव यसको विवादले पनि देखाउँछ। यसका कतिपय कुरा अहिलेको समाज वा युग सुहाउँदो रहेको पनि नहुन सक्छ तर कतिपय कुराहरू सामाजिक जीवन, स्वास्थ्य तथा विज्ञानको दृष्टिकोणले पनि निकै महत्वपूर्ण रहेका छन्। यसर्थ मनुस्मृति आफ्नो युगदेखि वर्तमान युगसम्म एउटा शक्तिशाली ग्रन्थको रूपमा रहिआएको छ।
यदि मनुस्मृतिलाई पनि शास्त्र मान्ने हो र यस शास्त्रको आधारमा भन्ने हो भने मासु खानु शास्त्रसम्मत त्यति बेला हुन्छ, जब यसमा दिइएको विधि पूरा गर्न सकिन्छ। मासु खानु चाहिं पूर्णतया शास्त्रविपरीत पनि होइन तर कुन अवस्थामा विपरीत हो भन्ने कुरा थाहा पाउनु आवश्यक देखिन्छ। मनुस्मृति केवल तर्क होइन यो तथ्य पनि हो कि ? अध्येता तथा भाष्यकारहरूको ध्यान यसतर्फ जानुपर्ने देखिन्छ। यद्यपि अहिले पनि मासु खानु स्वास्थ्यको लागि फाइदाजनक कि हानिकारक भन्ने विवाद छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here