प्रस, निजगढ, ८ फागुन/
नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतले संसद् विघटनको मुद्दामा संविधानको मर्म र भावनाविपरीत निर्णय गर्न नसक्ने बताएका छन्।
बाराको निजगढमा आयोजित पार्टी कार्यकर्ता भेलामा शनिवार नेता पाण्डेले संसद् पुनर्बहालीको विकल्प नभएको बताउँदै अदालतले संविधानको अक्षर र मर्मभन्दा बाहिर गएर निर्णय गर्न नसक्ने बताए। यदि विपरीत निर्णय भएमा त्यो संविधानको व्याख्या नभई पुनर्लेखन हुन जान्छ। न्यायालयले संविधानको व्याख्या मात्रै गर्ने हो, नयाँ संविधान लेख्ने होइन, उनले जोड दिए।
अब पनि जनता, पार्टी कार्यकर्ताहरू अल्मलिरहनुपर्ने कुनै कारण छैन। संविधानभन्दा माथि कोही पनि हुन नसक्ने बताउँदै आफूहरूलाई ठूला शक्ति भन्नेहरूलाई पनि ढालेर मुलुकमा आमूल परिवर्तनसँगै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र स्थापना भएको इतिहास साक्षी रहेको नेता पाण्डेले बताए। जब–जब सत्ता र शक्तिमा रहेकाहरू कमजोर हुन्छन्, तब–तब तिनका आवाजहरू मधूरो मात्रै हैन, शक्ति प्रदर्शन गर्न थाल्छन्। प्रहरीलाई जनतामाथि दमन गर्न निर्देशन दिन्छन्, नेता पाण्डेले भने। उनले ओलीको दिन धेरै नभएको दाबीसमेत गरे। नेता पाण्डेले अदालतले संसद् पुनर्बहाली गर्नेमा आफूहरू विश्वस्त रहेको बताउँदै यदि नभए मुलुकलाई दुर्घटनातर्फ अघि बढ्न कसैले रोक्न नसक्ने बताए। उनले न्यायालयले यसअघि पनि सरकारले गरेका अनेकौं निर्णय उल्टाएको भन्दै यो मुद्दामा पनि अदालतले निर्णय उल्टाउने विश्वास व्यक्त गरे।
भेलामा नेता पुरुषोत्तम पौडेल, युवराज चौलागाईं, सुन्दर विक, सीता गुरुङ, अनिल श्रेष्ठ, एकबहादुर श्रेष्ठ, लीलादेवी लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन थानेश्वर सापकोटाले गरेका थिए।