जिउँदो इतिहास

राजेश मिश्र
    पर्सा जिल्लाको देहातमा रहेको सुहपुर भन्ने गाउँ वीरगंजदेखि पश्चिम–उत्तर कुनामा अवस्थित छ। हुलाकी राजमार्गले देहाती जनजीवनलाई वीरगंजसँग नजीक ल्याएकोले यतिबेला देहात हर्षित छ। वीरगंजदेखि बहुअर्वा–पोखरिया हुँदै सुहपुर करीब २५ किलोमिटर टाढा पर्छ। सुहपुर वीरगंजदेखि बहुअर्वा–माधोपुर हुँदै करीब १९ किलोमिटर टाढा पर्छ। कालान्तरमा देहाती जीवन सडकको दुरवस्था र खोलानालामा पुलको अभावले दुर्गम क्षेत्रको रूपमा विद्यमान थियो। यद्यपि कालान्तरमा राज्यपक्षबाट उपेक्षित देहातको अवस्था थोरै भएपनि हालको दिनमा सुधारोन्मुख भन्नुपर्छ।


    सोही क्षेत्रका एक वृद्ध जसले हैजा महामारीदेखि कोरोनाकालसम्म देखेका छन्। ती वृद्धसँग सम्पर्क गराउने व्यक्ति हुन्, सामाजिक अभियन्ता बृजेश्वरप्रसाद चौधरी। उक्त क्षेत्रको यात्राको क्रममा गहुँ र तोरीबालीको मनमोहक दुश्य अवलोकन गर्दै हामी वीरगंजदेखि देहात सुहपुरतर्फ लाग्यौं। १०८ वर्षीय जीतमन दास थारूसँग भेट भयो। दिउँसोको समयमा उनी घरअगाडि घाम ताप्दै थिए। वृद्धसँग संवाद भइरहँदा मोहन साह तेली, सुरेन्द्र ओझैया, भोलाराम थारू, उनका छोरा नागेन्द्रदास थारूलगायतले उत्सुकतापूर्वक सुनिरहेका थिए।
    पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ४ सोहरी टोलमा वृद्ध थारूको घर छ। ‘सुहपुर’ र ‘सोहरी’ छिमेकी गाउँ हुन्। यद्यपि ‘सुहपुर–सोहरी’ संयुक्त रूपमा भन्ने चलन सदियौंदेखि छ। स्थानीयहरू सुहपुरका होऊन् वा सोहरीका ‘सुहपुर–सोहरी’ भन्दै परिचय दिन्छन्। उनको जन्म विसं १९६९ ताका पैतृक गाउँ जगरनाथपुरमा भएको थियो। मानसिक त्रासका कारण झन्डै ५० वर्षअघि उनी जगरनाथपुरबाट सुहपुरमा बसाइ सरेको बताउँछन्। चरम वृद्धावस्थामा पनि नित्यकर्म आदिमा उनलाई कसैको सहयोगको आवश्यकता पर्दैन्। उनी आफैंले भ्याउँछन्। सक्षम छन्। कहिलेकाहीं पेट दुख्नेबाहेक अन्य रोग छैन।
    जन्मथलो जगरनाथपुरबाट उनको विवाह ७ वर्षको उमेरमा भएको थियो। उनी पालकी चढेर विवाह गर्न नजीकैको गाउँ सुगौली गएका थिए। त्यति बेला तिलक र दहेजको चलन थिएन। दुलही र दुलहा पक्षले आआफ्नोतर्फको खर्च आआफैंले बेहोर्ने प्रचलन थियो। जन्तीलाई ‘पका–पकाइ’ अर्थात् दही, चिउरा, चिनी र नून–खुर्सानी खुवाइन्थ्यो। सक्नेले तरकारीको पनि प्रबन्ध गर्दथे। आजको जस्तो दहेजमा मोटो रकम लिनुका साथै खानामा माछा, मासु भन्दै तय गर्ने प्रचलन थिएन।
    उनका तीन सन्तान थिए। एक दुःखद घटना घट्यो। १६ वर्षीय जेठो छोराको विवाह तय भइसकेको थियो। विवाहको तयारी भइरहेको थियो। परिवारसँगै आफन्तजन, इष्टमित्र तथा गाउँलेहरूलाई निम्तो वितरण भइसकेको थिए। जन्ती जाने भन्दै सबै उल्लासमा थिए। खुशी थिए। विवाहको केही दिनपूर्व अचानक छोराको निधन भयो। पहिलेदेखि कुनै रोग थिएन। गाउँ शोकमग्न भयो। खुशियाली बिस्मात्मा परिणत भयो। जेठो छोराको पीडा कम नहुँदै एक वर्षभित्र १२ वर्षीय माहिलो छोराको पनि निधन भयो। उनी भन्छन्, “बुबाको काँधमा सन्तानको पार्थिव शरीर उठ्नुभन्दा बढी दुर्भाग्यपूर्ण अवस्था केही हुन सक्दैन। सन्तानको काँधमा मेरो शव उठ्नुपर्नेमा उल्टो भयो।” शोक र असह्य पीडाले भोक र निद्रा हराएर गयो। घरभित्र छिर्न पनि डर लाग्थ्यो।
    दुई छोराको मृत्युले मन र मस्तिष्क आक्रान्त भयो। पूरा परिवार तनावमा थियो। उनी भन्छन्, “अन्ततः गाउँ छाड्ने निधो गरें। वृद्ध बुबा, पत्नी र कान्छोे छोरासहित जगरनाथपुरदेखि ३ किमी पूर्वतर्फ पर्ने सुहपुर गाउँमा बसाइँ सरें।”
    सुहपुर गाउँको दक्षिणतर्फ गङ्गोल नदी थियो। वर्षात्को बेला जोखिम मोलेर नदी वारपार गर्नुको विकल्प थिएन। करीब ७ दशकअघि सबैभन्दा नजीकको हाट भनेको देउरवाना, जीराभवानी तथा सीमावर्ती इनर्वा र सिकटा बजार थियो। उनले भने, “मोहरिया पैसा त चलनचल्तीमा धेरैपछि आएको थियो, म बच्चादेखि युवावस्थामा आइपुग्दासम्म यस क्षेत्रमा केवल भारतीय रुपैयाँबाट कारोबार हुने गथ्र्यो।” जग्गा–जमीन, अन्नपात, गाईवस्तुलगायत हरेक कारोबार भारुमैं हुने गर्दथ्यो।”
    अहिले युवाहरूले खेल्ने खेलमध्ये उनलाई फूटबाल मात्र थाहा छ। क्रिकेटको नाम सुनेका छन् तर त्यति थाहा छैन। उनलाई उनको जमानाको खेल याद छैन, अपितु खेल्ने तरीका र नियमलगायत सबै कुरा अहिलेसम्म मन र मस्तिष्कमा ताजै छ। थाडी–टीका, गुलीटाँड, कबड्डी, चिनियाबेदाम, लट्टुलगायतका खेलहरू उनले बाल्यकाल र युवावस्थामा खेलेका रहेछन्। उनी भन्छन्, “अपवादबाहेक अहिलेका पुस्तालाई यी खेलहरूको बारे शायदै थाहा होला।”
    साइकल पनि धेरैपछि आएको थियो। त्यसको धेरैपछि मोटरसाइकल देख्न पाइएको थियो। उनको बेलामा सवारीसाधन दुईवटा मात्र थिए। उनी मुसुक्क हाँस्दै भन्छन्, “पहिलो थियो आफ्नै दुईवटा खुट्टा र अर्को थियो गडी अर्थात् बयलगाडा। बयलगाडा ढुवानी र सवारीसाधनको रूपमा प्रयोग गरिन्थ्यो। कसैकसैसँग मालसामान ढुवानी गर्नको लागि घोडा हुन्थ्यो। वीरगंजको यात्रा जीवनमा कतिपटक पैदल गरिएको होला भन्न कठिन छ। बुढेसकाल लागेपछि बसको सवारी गरेको हुँ। हिंडेर सीमावर्ती शहर सिकटा जानुपथ्र्यो। रेल चढेर रक्सौल पुग्थौं। त्यसपछि पैदल वा टाँगा चढेर वीरगंज जान्थौं।” सुहपुरदेखि सिकटा–रक्सौल हुँदै वीरगंज आइपुग्दा साँझ परिसक्थ्यो। पोखरिया हुँदै वीरगंज पैदल आउँदा कम्तीमा ५ देखि ६ घण्टा समय लाग्थ्यो। पहिले र अहिलेको समयको तुलना पहिलेको गाउँलाई अति दुर्गम नै भन्नुपर्छ। अचेल हुलाकी राजमार्गले उनको गाउँदेखि वीरगंजको दूरी केवल ३० मिनेटको छ।
    उनी भारतको बिहारबाट आउने शिक्षकसँग अनौपचारिक शिक्षा हासिल गरेको बताउँछन्। ती शिक्षकहरूले प्रत्येक वर्ष कात्तिकदेखि वैशाखसम्म सात महीना मात्र पढाउँथे। प्रत्येक शनिवार ‘शनिचरा’मा ती शिक्षकहरूलाई चामल, दाल र तरकारी अनिवार्यरूपमा  दिनुपथ्र्यो। त्यसको अलावा मासिक पारिश्रमिकको रूपमा भारु ५० पैसादेखि १ रुपैयाँसम्म गुरुदक्षिणा दिनुपथ्र्यो। ती शिक्षकहरूबाट हासिल गरेको लेखापढीसम्बन्धी ज्ञान पछि गएर उनको आर्थिक आम्दानीको स्रोत भएको थियो। त्यति बेलाउन निवेदन, तमसुक लेखेबापत वीरगंजमा नगद पाइन्थ्यो भने गाउँमा अन्नपात पाइन्थ्यो। तत्कालीन नापी तथा मालपोत कार्यालयमा आउने सेवाग्राहीको  उनले करीब चार वर्ष सेवा प्रदान गरे। विसं २००४ सालमा वीरगंज छाडेको उनी बताउँछन्।
    विसं २००८/२००९ सालताका पहिलोपटक काठमाडौंको यात्रा गरेको सम्झना उनलाई छ। वीरगंजदेखि हेटौंडा र भैंसे हुँदै बाइरोडको यात्रा गरेका रहेछन्। उक्त यात्रामा असाध्यै डर लागेको उनलाई केही अविस्मरणीय पल अहिलेसम्म याद छ। बिर्सेका रहेनछन्। उनले भने, “बाइरोडमा अनगिन्ती घुम्तीहरू देखें, करीब पाँच सय घुम्ती गिन्ती गरेपछि वाक्कदिक्क लागेर गिन्ती गर्न छोडिदिएँ।” त्यति बेला पहिलोपटक सुन्धारा चढेका उनी त्यसपछि पनि काठमाडौं जाँदा सुन्धारा चढ्न बिर्सन्दैनथे। विसं २०७२ को भुइँचालोमा सुन्धारा भत्केको समाचार सुनेपछि उनी असाध्यै दुःखित भएका थिए। उनी भन्छन्, “ भुइँचालोले सुन्धारा होइन, नेपालको एक इतिहासलाई विलीन पारिदियो। अन्त्य गरिदियो। त्योभन्दा राम्रो बन्न सक्ला तर मैले हेरेको र चढेको सुन्धारा हाम्रा आगामी पुस्ताहरूले देख्न र चढ्न पाउनेछैनन्।” सिमरामा भएको ‘चिलगाडी’ (हवाईजहाज) दुर्घटना हेर्न उनी वीरगंजदेखि रेल चढेर सिमरा गएका थिए। सिमरा रेलवे स्टेशनमा टिकट मास्टरको रूपमा कार्यरत सोलखपुरका आफन्त शङ्कर चौधरीको कारण रेलको यात्रा सम्भव भएको उनी सम्झन्छन्।
    विसं १९९० सालको भुइँचालो धेरै शक्तिशाली रहेको उनी बताउँछन्। उनी भन्छन्, “यस्तो लाग्थ्यो कि धर्तीको सतहमुनि महाभारत युद्ध भइरहेको छ, गडगडाहट यति भयानक थियो कि मानौं जमीनमुनि तोप चलिरहेको छ।” उनले धर्तीमा धाँजो परेको, धाँजोबाट कलकल पानीको भेल बगेको प्रत्यक्ष देखेका रहेछन्। दाइँ गर्नको लागि दुईवटा खलियानीमा बिछ्याइएको धान धाँजोभित्र विलीन भएको उनी बताउँछन्।
    झन्डै ११ दशकको जीवनमा उनले दुई सन्तानको अवसान, हैजाको महामारी र विसं १९९० को भुइँचालोलाई असाध्यै डरलाग्दो र भयावह अवस्थाको रूपमा सम्झिरहन्छन्। देहाती जीवनशैलीमा सुखसुविधा शून्य थियो। देहाती जीवन कडा परिश्रममा आधारित थियो। खेतीकिसानीदेखि यात्रासम्म शारीरिक श्रममा निर्भर थियो। त्यसैले रोगलगायतका समस्याहरू कम हुन्थ्यो। असाध्य रोग भएमा चिकित्सालयको अभावले बाँच्ने अवस्था ‘भगवानभरोसे’ थियो। हैजादेखि कोरोनासम्म देखेका पुरनियाँहरू जिउँदा इतिहास हुन् भन्नुपर्दा कुनै अतिश्योक्ति नहोला।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here