“अधूरो प्रेम” किन गर्छन् अधिकारी

0


सञ्जय मित्र
    सर्लाहीमा जन्मेका विश्वराज अधिकारीको बज्जिका भाषामा लेखिएको संस्मरण सङ्ग्रह प्रसवको अवस्थामा छ। यसै समयमा उनको “अधूरो प्रेम” सार्वजनिक भएको छ। “अधूरो प्रेम”ले पूर्णता पाएपछि नै प्रसवको पीडा हुनुपर्ने क्रम हो। सम्भवतः यही हुँदैछ।
    “अधूरो प्रेम” के हो ? यसको दार्शनिक उत्तरको खोजी होइन तर पूर्ण हुनु पनि दार्शनिक दृष्टिकोणले सहज छैन। यसर्थ प्रेमले पूर्ण कोही हुनु भनेको त्यसपछि अपकर्षतिर जानु हो ? वा यथास्थितिमा रहनु हो ?
    विधागत वैविध्यका झन्डै दुई दर्जन कृतिका सर्जक विश्वराज अधिकारीको शरीर अमेरिकामा बस्दछ तर मन भने नेपाली भूगोलको भाषा, साहित्य, कला, संस्कृति, अर्थतन्त्रसित बाँच्दछ। हृदयमा केही गरूँ भन्ने सिर्जनात्मक भाव उम्लिरहन्छ, जसको प्रकटीकरण निरन्तर भइरहन्छ। यसैमा कहिले कुन विधा त कहिले कुन शैली प्रवाहित हुन्छ। बज्जिका भाषामा पहिलो आधुनिक गीत सङ्ग्रह प्रकाशित गर्ने अधिकारीको बज्जिका भाषामैं पहिलो संस्मरण आउन लागेको छ र अहिले भर्खर प्रकाशित नेपाली भाषाको “अधूरो प्रेम” गीत सङ्ग्रह हो।
    “अधूरो प्रेम” गीत सङ्ग्रह मात्र होइन। यसका दुई भाग छन्। पहिलो भागमा गीतसित सम्बन्धित सैद्धान्तिक र व्यावहारिक कुराहरू दिइएका छन्, यथा ः गीत के हो ? गीत किन सुन्ने गरिन्छ ? के गीतले जीवन–ऊर्जा दिन्छ ? गीतको उत्पत्तिको इतिहास, शेक्सपियरका रचनामा गीतको बयान, मेघ मल्हार र दीपक रागको शक्ति, भगवान् शिवको ताण्डव नृत्य, स्टोनियामा सङ्गीत अध्ययन अनिवार्य, गीतमा क्रान्ति ल्याउने क्षमता, ग्लुमीसन्डे गीत सुनेर आत्महत्या गर्नेहरू, नेपालमा गीतको प्रभाव र सारांश। यी विषयहरूको प्रस्तुतिपश्चात् क्रमशः ५१ वटा गीत राखिएका छन्।


    हुनत गीतको विषयमा के भनिन्छ भने गीतको वास्तविक सार्थकता सङ्गीतसित स्वरबद्ध बिहे गराएपछि हुन्छ तर गीतले सदैव सङ्गीत नै खोज्दछ भन्ने होइन। गीत श्रव्यविधा अवश्य हो तर यो पाठ्यविधा पनि हो र अधिकारीले गेयात्मक गुणसहितको पाठ्यगीत सिर्जनामा उच्चता हासिल गरिरहेका छन्। गेयप्रतिभा सम्पन्नले समयक्रममा यिनीहरूमा सङ्गीत र स्वरप्रतिभा सम्पन्न यिनीहरूमा स्वर दिने समय पनि आउला तर गीतहरू शब्दमैं पनि शक्तिशाली रहेका छन्।
    गीतको परिचयको क्रममा अधिकारीले उल्लेख गरेजस्तै यस सङ्ग्रहका गीतहरूले कुनै खास किसिमको मनोविज्ञानको बयान वा व्याख्या गरेको र खास किसिमको अवस्थाको विवरण प्रस्तुत गरेको लाग्छन्। अचेतन मस्तिष्कमा समेत प्रभाव पार्ने भएकोले गीतलाई जुनसुकै अवस्थामा पनि मानिसले सुन्ने गर्दछन्। यसै कारण जस्तोसुकै अवस्थाको लागि पनि गीतको सिर्जना गरिएको पाइन्छ। यसर्थ गीतको संस्कृति सम्पन्न हुन्छ।
    गीतले खास किसिमको सन्देश पनि बोकेको हुनाले मन पर्ने किसिमले गाइएका गीतहरू तत्सम्बन्धी रुचि हुनेहरूले सुन्ने गर्दछन्। निस्सन्देह अनादिकालदेखि नै गीत गाइँदै आएको छ। जतिखेर मानिसमा वाणीको विकास भयो, त्यत्तिखेरदेखि नै उसले गुनगुनाउन थाल्यो र गीतको आविष्कार भएको हो। कृतिकारले गीतको इतिहासलाई महर्षि वाल्मीकिसित पनि जोडेका छन्।
    पूर्वीय संस्कृतिमा मात्र नभएर पश्चिमी संस्कृतिमा पनि गीतको महत्व धेरै रहेको छ। शेक्सपियरले मधुर सङ्गीतलाई यस्तो कला जसले चिन्ता र समस्यालाई समाप्त पार्छ भन्ने बताएका छन्। ग्रीसका लोककथाहरूमा पनि सङ्गीतको शक्तिबारे बताइएको पाइन्छ। शास्त्रहरू तथा इतिहासमा पनि गीत सङ्गीतको चर्चा गरिएको पाइन्छ। मल्हार गाइँदा वर्षा हुन्छ। दीपक रागले आगोको वर्षा गराउँछ भन्ने विश्वास रहेको छ। अकबरको दरबारमा गीत गायक तानसेनले उच्च सम्मान पाउनु र उनका अन्य प्रसङ्गलाई पनि कृतिकार अधिकारीले रोचक ढङ्गले प्रस्तुत गरेका छन्।
    हिन्दू संस्कृतिमा गीत, सङ्गीतसँगै नृत्यको पनि महिमागान गरिएको छ। भगवान् शिवको ताण्डव नृत्यको प्रसङ्ग पनि रोचक ढङ्गले कृतिमा उल्लेख गरिएको छ। ताण्डवमा वैविध्य भएको पनि उल्लेख गरिएको छ।
    युरोपमा अवस्थित स्टोनियामा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीको लागि सङ्गीत अनिवार्य विषय बनाइएको सन्दर्भ पठनीय छ। जीवन, मनोविज्ञान, व्यवहार तथा मनोदशामा गीत र सङ्गीतले ठूलो सकारात्मक प्रभाव पार्ने क्षमता रहेको पुष्टि भइसकेको छ। केही वर्ष पहिले एउटा अनुसन्धानको रिपोर्ट यस्तो पनि आएको समाचार प्रकाशित भएको कि बोटबिरुवालाई पनि सङ्गीत मन पर्छ र उत्पादनमा सङ्गीतले पनि सकारात्मक प्रभाव पार्दछ।
    गीतमा अनेक शक्ति हुन्छ। गीतले क्रान्ति पनि ल्याउँछ। नेपालमा यस्ता अनेकन क्रान्तिकारी गीतहरू समय अनुसार गाइएका र क्रान्तिका लागि उपयोग गरिएका दृष्टान्तहरू छन्। र ग्लुमीसन्डे गीतले कैयौं मानिसलाई आत्महत्या गर्न लगाएको आरोप पनि छ। यही आरोपले गर्दा बिबिीसजस्तो संस्थाले साढे छ दशकसम्म प्रतिबन्ध लगाएको थियो। यसरी विश्वमा कतिपय गीत तथा सङ्गीतमाथि प्रतिबन्ध लाग्दै आएको छ। यसको मूल कारण यो पनि हो कि गीतले विचार बोकेको हुन्छ र आस्थाको आधारमा गीतलाई रुचाइने, प्रशंसा गरिने, गाइने वा रोकिने हुन्छ। नेपालमा पनि गीतको प्रभाव शक्तिशाली रहेको छ। यहाँ पनि गीत, सङ्गीतको सिर्जनाले निकै लामो इतिहास बोकेको छ र धेरैलाई सम्मान पनि प्रदान गरेको छ। कृतिकार अधिकारीले गीतलाई मनोरञ्जनभन्दा माथि उठाएका छन्। समस्याहरूको समाधानको लागि गीतको सिर्जन र श्रवण हुने गरेको हुन्छ, साथै गीतलाई सञ्चारको एक सशक्त माध्यम पनि मानिएको छ। सारांशमा कृतिकार उल्लेख गर्दछन्– जसरी दीर्घजीवन पाउनका लागि स्वस्थ खानाको आवश्यकता पर्दछ, त्यसैगरी सन्तुष्ट भएर सुखपूर्वक बाँच्नका लागि गीत सुन्नु आवश्यक छ।
    कृतिकार अधिकारीले कृतिको पहिलो गीतको एक टुक्रामा मनको शुभभाव यसरी व्यक्त गर्दछन्–
    होस् सबको जीवन मधुमय
    शुभकामना जीवनको होस् सुखमय
    गीतकार अधिकारीले यस सङ्ग्रहमा चार दर्जनभन्दा बढी गीत राखेका छन्। फरक विषयवस्तु र सन्दर्भका गीत छन्। अधिकांश गीत लघुआयामका छन्। हरेक गीतको शीर्षक दिइएको छ। लामो पाइएको गीत पनि एक पृष्ठभन्दा बढीका छैनन्। सबैभन्दा सानो गीत प्रेमको संसार रहेको छ जुन चार पङ्क्तिको छ। गीतकार लेख्छन् –
    प्रेम केवल प्रेम हो यसमा छैन स्वार्थ र व्यापार
    देख्नेले प्रेमभित्र देख्छ सुख र शान्ति अपार
    धर्म, जात, भाषा र भूगोल केही छैन छेकबार
    प्रेमको आँखामा सबै समान यो अनौठो संसार।
    ११२ पृष्ठमा गीतमय भावना समेटिएको यस कृतिमा अधिकारी आफूलाई एक सक्षम गीतकारका रूपमा उभ्याउन सफल भएका छन्। उनको साहित्यिक यात्राको एउटा स्पष्ट दृष्टिकोण यस कृतिले दिन सफल भएको छ। सरल शब्दमार्फत गहिरो भावलाई प्रवाहमय बनाउने अधिकारीको गीतिशैली फरक दृष्टिकोणको रहेको छ। यो कृतिको नाम नै “अधूरो प्रेम” राखिएको छ। यसबाट कृतिकारले स्पष्ट सङ्केत यो पनि गरेका छन् कि उनको गीत प्रेम अझै बाँकी छ। आउँदा दिनमा उनका “अधूरो प्रेम”हरू पूरा हुँदै जानेछन्।
    यस कृतिको अध्ययनले गीत र सङ्गीतसम्बन्धी धेरै नवीन जानकारी प्राप्त हुन्छ। तर पनि अझ जान्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ। यस अर्थमा पनि कृतिको शीर्षक “अधूरो प्रेम” सार्थक छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here