द्रोण पर्व–३२


उमाशङ्कर द्विवेदी

    ऊ एक्लो र असहाय भएपछि दुःशासनको पुत्रले सङ्कटापन्न अवस्थामा उसलाइ मारिदियो। उसले पहिले एक हजार हात्ती, घोडा, रथी र मानिसहरूलाइ मा–यो, फेरि आठ हजार रथी र नौ सय हात्तीको संहार ग–यो, तत्पश्चात् दुई हजार राजकुमार तथा अन्य धेरै सारो अज्ञात वीरलाई मारेर राजा बृहद्वललाई पनि यमलोक पठायो, त्यसपछि मात्र ऊ बल्ल स्वयम् म–यो। यही हाम्रोलागि सबैभन्दा बढ्ता शोकको कारण हो।
    धर्मराजको कुरा सुनेर अर्जुनले पुत्र, पुत्र भन्दै उच्छ्वास लिन थाले र व्यथाबाट अत्यन्त पीडित भई पृथ्वीमाथि ढलिहाले। त्यति बेला सबैको मुखमा विषाद देखियो तथा जम्मैले अर्जुनलाई चारैतिरबाट घेरेर निर्निमेष नेत्रबाट एकअर्कालाई हेर्न थाले। अलिक बेरमा अर्जुन चैतन्य भएर क्रोधित भई भने– म तपाईंहरूको सामु यो साँचो प्रतिज्ञा गरिरहेको छु कि यदि जयद्रथले कौरवहरूको आश्रय त्यागी भागेर गएन अथवा हाम्रो वा भगवान् श्रीकृष्णको अथवा युधिष्ठिरको शरणमा आएन भने भोलि म उसलाई अवश्य नै मार्नेछु। कौरवहरूको प्रिय गर्ने पापी जयद्रथ नै त्यस बालकको वधको निमित्त बनेको थियो, अतः निश्चय नै भोलि उसलाई यमलोक पठाउनेछु। भोलि उसलाई मार्न नसकेमा माता–पिताको हत्या गर्ने, गुरुस्त्रीगामी, साधुनिन्दक, अर्कामाथि कलङ्क लगाउने, नासो पचाउने र विश्वासघाती पुरुषको जुन गति हुन्छ, त्यही गति मेरो पनि होस्। मेरो यो अर्को प्रतिज्ञा पनि सुन्नुस्– यदि भोलि सूर्यास्त हुनुभन्दा अगावै जयद्रथलाई मार्न सकिनँ भने म स्वयम् नै दन्किरहेको आगोमा प्रवेश गरिहाल्नेछु। देउता, असुर, मनुष्य, पक्षी, नाग, पितर, राक्षस, ब्रह्मर्षि, देवर्षि, यो चराचर जगत् तथा यसबाहेक पनि केही छ भने त्यसले पनि– यी जम्मैले मिलेर पनि मेरो शत्रुको रक्षा गर्न सक्नेछैनन्। यदि जयद्रथ पातालमा छि–यो अथवा त्यसभन्दा पनि भित्र गयो अथवा अन्तरिक्षमा, देउताहरूको नगरमा वा दैत्यपुरीमा पनि भागेर लुक्यो भने पनि भोलि म आफ्नो सयकडौं बाणबाट अभिमन्युको त्यस शत्रुको शिरोच्छेद गर्ने नै छु।
    यति भनेर अर्जुनले गाण्डीव धनुषको टङ्कार गरे, त्यसको ध्वनि आकाशमा गुञ्जायमान भयो। अर्जुनको यस्तो प्रतिज्ञा सुनेर श्रीकृष्णले आफ्नो पाञ्चजन्य शङ्ख बजाए र कुपित भएका अर्जुनले देवदत्त नामक शङ्ख बजाए। त्यो शङ्खनाद सुनेर आकाश–पातालसहित सम्पूर्ण जगत् काम्यो। त्यति बेला शिविरमा युद्धका बाजाहरू बज्न थाले र पाण्डवहरूले सिंहनाद गर्न थाले।
    दूतहरूले जयद्रथसित अर्जुनको प्रतिज्ञाबारे सूचित गरे। समाचार सुनेर जयद्रथ भयविह्वल हुन पुग्यो। ऊ धेरै सोचविचार गरेर राजाहरूको सभामा गयो र त्यहाँ गएर रोइकराइ गर्न थाल्यो। अर्जुनबाट तर्सेर उसले लाज मान्दै भन्यो–राजाहरू, पाण्डवहरूको हर्षध्वनिले मलाई बडो डर लागिरहेको छ। मरणासन्न मानिसझैं मेरो सम्पूर्ण शरीर शिथिल भइरहेको छ। निश्चय नै अर्जुनले मेरो वध गर्ने प्रतिज्ञा गरेका छन् र त शोकको समयमा पनि पाण्डवहरूले हर्ष मनाइरहेका छन्। यदि यस्तो कुरा छ भने अर्जुनको प्रतिज्ञालाई देउता, गन्धर्व, असुर, नाग र राक्षसहरूले पनि अन्यथा गर्न सक्दैनन्, नरेशहरूको त के कुरा ? अतः तपाईंहरूको भलो होस्, मलाई यहाँबाट जाने आज्ञा दिनुहोस्। म गएर यस्तो ठाउँमा लुक्नेछु, जहाँ पाण्डवले मलाई फेला पार्न सक्दैनन्।
    जयद्रथलाई यस प्रकार भयबाट व्याकुल भएर विलाप गरिरहेको देखेर राजा दुर्योधनले भने– पुरुषश्रेष्ठ, तिमी यति सा–हो भयभीत नहोऊ। युद्धमा सम्पूर्ण वीरहरूको बीचमा रहँदा तिमीलाई कसले फेला पार्न सक्छ। म, कणृ, चित्रसेन, विविंशति, भूरिश्रवा, शल, शल्य, वृषसेन, पुरुमित्र, जय, भोज, सुदक्षिण, सत्यव्रत, विकर्ण, दुर्मुख, दुःशासन, सुबाहु, कलिङ्कराज, विन्द, अनुविन्द, द्रोण, अश्वत्थामा, शकुनि–यिनीहरू तथा अरू पनि धेरैजसो राजा आआफ्नो सेनाको साथ तिम्रो रक्षाको लागि साथमा हिंड्नेछन्। तिमी आफ्नो चिन्ता त्यागिदेऊ। सिन्धुराज, तिमी स्वयम् पनि श्रेष्ठ महारथी हौ, शूरवी हौ, अनि पाण्डवहरूसित किन तर्सिरहेका छौ ? मेरो सम्पूर्ण सेना तिम्रो रक्षाको लागि सावधान रहनेछ, तिमी आफ्नो भय मनबाट हटाऊ।
    राजन्, तपाईंको पुत्रले यस प्रकारको आश्वासन दिएपछि जयद्रथले उसलाई साथमा लिएर रात्रिबेलामा गुरु द्रोणाचार्यको छेउमा गयो। आचार्यलाई नमस्कार गरेर उसले सोध्यो– भगवन्, टाढाको लक्ष्य भेदन गर्नमा, हातको फुर्तीमा तथा दृढ तारो हान्नमा को ठूलो– म वा अर्जुन ?
    द्रोणाचार्यले भने– तात, यद्यपि तिमी र अर्जुन दुवैको म एक्लो आचार्य हुँ, तथापि अभ्यास र क्लेश सहन गरेको कारण अर्जुन तिमीभन्दा ठूलो छ। तैपनि तिमीले ऊसित भयभीत हुनुहँुदैन, किनकि म तिम्रो रक्षक हुँ। मेरा भुजाहरूले जसको रक्षा गर्दछ, त्यसमाथि देउताहरूको पनि जोड चल्दैन। म यस्तो व्यूह रचना गर्नेछु जहाँ अर्जुन छिर्नै सक्दैन। त्यसैले न तर्स, उत्साहले युद्ध गर। तिमी जस्तो वीरलाई त मृत्युको भय हुनु नै हुँदैन, किनकि तपस्वीहरूले तप गरेर जुन लोक प्राप्त गर्दछन्, क्षत्रिय धर्मको आश्रय लिने वीर पुरुषले त्यसलाई अनायास नै प्राप्त गरिहाल्दछ। क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here