श्रीपञ्चमी पर्वका धार्मिक, सामाजिक तथा सांस्कृतिक पक्ष

0

बासुदेवलाल दास  
परिचयः
    माघ महीनाको शुक्ल पक्षको पञ्चमी तिथिलाई श्रीपञ्चमी अथवा वसन्तपञ्चमी भनिन्छ। यस दिन श्रीसरस्वती देवीको पूजा गर्ने प्रचलन रहेकोले यसलाई सरस्वती–पूजा भनेर पनि अभिहित गरिन्छ। नेपालको प्रदेश नं २ क्षेत्रमा यो पर्व मनाउने परम्परालाई अध्ययन गर्दा यसका धार्मिक, सामाजिक तथा सांस्कृतिक जस्ता पक्षहरू रहेका देखिन्छन्। यस आलेखमा यिनै कुराहरूबारे संक्षेपमा चर्चा गरिएको छ।
    श्रीपञ्चमी शब्दमा रहेको ‘श्री’ शब्दले धनकी देवी लक्ष्मीलाई सम्बोधन गरिएको हो। एउटा मान्यता अनुसार समुद्र–मन्थनबाट यसै तिथिमा लक्ष्मीको उत्पत्ति भएकोले यसलाई श्रीपञ्चमी भनिएको हो। अर्कोतिर, यसलाई वसन्तपञ्चमी पनि भनिन्छ। वसन्त भनेको वर्षका ६ वटा ऋतुमध्येको एउटा ऋतु हो, जुन प्राच्य धारणा अनुसार चैत र वैशाख महीनामा पर्ने गर्दछ। वसन्त ऋतुलाई प्रीति र अनुरागका देवता कामदेवको सहचरको रूपमा स्वीकार गरिएकोेले एवं रतिका साथै कामदेवको पूजा माघ शुक्ल पञ्चमी तिथिमा गरिने प्रचलन भएकाले यस पञ्चमी तिथिलाई वसन्त–पञ्चमी भनिएको हो। माघ शुक्ल पञ्चमीका दिन वसन्तोत्सव मनाइने तथा ‘वसन्त–राग’ श्रवण गर्ने गरिन्छ।
धार्मिक पक्षः–
    माघ शुक्ल पञ्चमी तिथिमा गरिने पारम्परिक धार्मिक अनुष्ठानबारे अध्ययन गर्दा यस दिन देवी सरस्वतीको अवतार–दिवस मानेर पूजा गर्ने प्रचलन रहेको थाहा हुन्छ। सरस्वतीलाई आदि–सृष्टिकर्ता ब्रह्माको मुखबाट उत्पन्न भएकी भनिन्छ। यी देवीलाई वाणी, विद्या र ज्ञानकी अधिष्ठात्री एवं सत्वगुणले सम्पन्न भनिएको छ। यिनलाई गौरवर्णा, चतुर्भुजी, वीणा, पुस्तक, स्फटिकमाला धारण गरेकी, श्वेतवस्त्रावृत्ता र श्वेतपद्मासना भनी वर्णन गरिएको पाइन्छ। यिनको वाहन हंस र उपवाहनको रूपमा मयूर रहेको हुन्छ। यिनको प्रतीक–चिह्नको रूपमा दुईवटा त्रिभुजलाई परस्पर एकअर्काको माथि उध्र्वमुख र अधोमुख पारेर राखेर बनाइएको षट्कोणलाई मानिन्छ। यिनको निवास प्राणीको जिब्रोमा वाक् रूपमा रहने मान्यता पाइन्छ। भनिन्छ कि सरस्वतीको प्रतिकूलताले गर्दा नै वरदान माग्ने बेला रावणका भाइ कुम्भकर्णको मुखबाट इन्द्रासनको सट्टा निद्रासन शब्द निस्केको थियो। यस्तै मन्थराको बुद्धि विपरीत बनाएर कैकेयीद्वारा रामलाई वनबास पठाइनुमा पनि सरस्वतीलाई नै जिम्मेवार भनिन्छ। मत्स्यपुराणमा सरस्वतीको सौन्दर्यमा मुग्ध भएका ब्रह्माको चारैतिर सरस्वती घुम्न थाल्दा उनलाई नियालिरहन ब्रह्माका चारैतिर मुखहरू आइलागेको भन्ने वर्णन पाइन्छ। यस्तै, सरस्वतीलाई शिव र दुर्गाकी छोरी तथा ब्रह्माकी पत्नीको रूपमा पनि वर्णनहरू गरिएका पाइन्छन्। त्यस्तै, एउटा प्रसङ्गमा ब्रह्माले गायत्रीसित विवाह गरी एउटा यज्ञलाई पूर्ण गरेकोमा यसबाट सरस्वती उनीदेखि अप्रसन्न भएकी एवं ब्रह्माको पूजा कसैले नगरोस् भनी सराप दिएकी भन्ने वर्णन पनि पाइन्छ।
    सरस्वतीदेवीलाई महालक्ष्मी र महाकालीका साथ महासरस्वती भनेर त्रिदेवीको रूपमा विशेष प्रकारले पूजा गर्ने प्रचलन छ। यिनीहरूमा सरस्वती, लक्ष्मी र कालीलाई क्रमशः ब्रह्मा, विष्णु र महेशकी शक्तिको रूपमा ठानिएको पाइन्छ, जुन क्रमशः सृष्टि, सम्भार र संहारका देवताहरू मानिन्छन्। शारदीय–नवरात्रमा, अर्थात् आश्विन शुक्ल पक्षमा मूल नक्षत्रमा आह्वान गरेर श्रवण नक्षत्रमा विसर्जन गर्ने गरी सरस्वतीको पूजाको विधान गरिएको पाइन्छ। यसरी नै चैत्र शुक्ल पक्षमा, अर्थात् वासन्ती–नवरात्रमा पनि उपर्युक्त तीनवटा महाशक्तिहरूको पूजाको विधान रहेको छ। माघ शुक्ल पञ्चमीका दिन गरिने सरस्वतीको पूजा चाहिं आगमोक्त विधि अनुसार वार्षिकरूपमा गरिने पूजा हो। सरस्वतीका अन्य नामहरूमा इरा, ईश्वरी, गिरा, ब्राह्मी, भारती, भाषा, महाश्वेता, वाक्, वाग्देवी, वागीश्वरी, वाणी, विधात्री, वीणापाणि, शारदा, सन्ध्येश्वरी इत्यादि हुन्। यीमध्ये शारदालाई कश्मीरकी देवी भनिन्छ। कश्मीरमा प्रचलित लिपिलाई ‘शारदामण्डल’ भनिन्छ, जसलाई मूलरूपमा ईसवीय सन्को दशौं शताब्दीतिर कुटिल–लिपिबाट विकसित भएको लिपि भनेर स्वीकार गरिएको छ। यो लिपिको प्रचार कश्मीर र पञ्जाब क्षेत्रमा भएको थियो। यसरी नै सरस्वतीको उपासना शब्दब्रह्मको रूपमा वाणीदायिनी, तालब्रह्मको रूपमा स्वरदायिनी र नादब्रह्मको रूपमा ध्यानदायिनी भनेर समेत गरिएको पाइन्छ।
    माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा विद्यालय, महाविद्यालय (क्याम्पस) जस्ता शैक्षिक संस्था र प्रतिष्ठानहरूमा शिक्षक र विद्यार्थीवर्गले मात्र गर्ने परम्परा रहेकोमा हाल यो एक प्रकारको प्रदर्शन र मनोरञ्जनको साधन जस्तै टोल–टोलमा तथा घर–घरमा गर्न थालिएको देखिन्छ। अर्कोतिर, सरस्वतीको पूजा तान्त्रिक विधिबाट पनि गर्ने गरिन्छ। यस अन्तर्गत त्रिभुजाकार आकृतिबाट विशेष प्रकारले निर्माण गरिएको यन्त्रको प्रयोग गरिन्छ, जसमा त्रिभुज–विशेषका लहरलाई तीनवटै छेउको भागबाट गणना गर्दा सातवटा नै देखिन्छ (यस यन्त्रको तथा माथि उल्लिखित षट्कोणका चित्रहरू यस आलेखको अन्त्यमा राखिएका छन्)। यस यन्त्रका साथ सरस्वतीको उपासना गर्दा अनेक किसिमका सिद्धि प्राप्त गर्न सकिने विश्वास रहेको पाइन्छ। अर्कोतिर, मेरुतन्त्र, बृहद्नीलतन्त्र जस्ता तान्त्रिक–ग्रन्थहरूमा सप्तसरस्वती तथा नीलसरस्वतीको उपासनाको वर्णन गरिएको पाइन्छ। नीलसरस्वतीको मन्दिर नेपालमा काठमाडौंमा गैह्रीधारानजीक नीलसरस्वती–मार्गमा स्थापित रहेको छ। यस्तै भारतको बिहार राज्यको सहरसा जिल्लामा अवस्थित महिषी गाउँमा समेत नीलसरस्वतीको मन्दिर छ। पालकालीन अभिलेखमा यसको उल्लेख उरूनीलपद्मा भनेर गरिएको छ। वास्तवमा यो महाविद्या ताराको एउटा स्वरूप हो। तान्त्रिक साहित्यमा ताराका एकजटा, उग्रतारा र नीलसरस्वती गरी तीनवटा रूपको वर्णन पाइन्छ। सरस्वतीको उपासना, ध्यान र पूजन गर्नाले ज्ञानको प्रकाशले मन प्रकाशित हुनु, आत्मविश्वासमा वृद्धि हुनु, स्मरण–शक्ति र एकाग्रता बढ्नुका साथै वाणी–दोषको निवारण तथा वाक्शक्तिको विकास हुने गर्दछ, जसले व्यक्तिलाई अभिव्यक्तिशील बनाउन मदत गर्दछ भन्ने मान्यता रहेको छ। यसैगरी, माघ शुक्ल पञ्चमीका दिन रति–काम पूजा गर्ने प्रचलनसमेत रहेको छ। कामदेवलाई प्रेम, सौन्दर्य, अनुराग र वासनाका देवता तथा रतिलाई कामदेवकी पत्नी मानिन्छ। यस दिन रति–काम पूजा गर्नाले दाम्पत्य–जीवन सुखमय र आनन्दमय हुने धारणा रहेको पाइन्छ।
    यस क्षेत्रको समाजमा श्रीपञ्चमीको महत्वलाई अर्को प्रकारले पनि हेर्न सकिन्छ। समाजमा कसैको हात वा खुट्टामा अहिला (छालामा निस्किने सा–हो डल्लो विशेष) पलाएमा शिवजीको मन्दिरमा भन्टाको भार अथवा धानको मोर (मोरि) चढाउने भाकल गरेमा त्यो निको हुने विश्वास रहेको पाइन्छ। यसरी भाकल गरे अनुसार चढाइने भन्टाको भार र मोर (मोरि) श्रीपञ्चमीका दिन नै चढाइने गरिन्छ। यसमा मोर (मोरि) भनेको मोरियारी (धानको बोटबाट निकालिएको पराल विशेष)को पोकोलाई एक छेउमा बाँधेर विषेश प्रकारको बोराजस्तो बनाएर त्यसमा धान राखेर परालबाट नै बनाइएको डोरीले बाँधिएको पोको हुन्छ भने भन्टाको भार भनेको एउटा लट्ठीको दुवै छेउमा एउटा–एउटा भन्टा घोचेर बनाइन्छ तथा भन्टा आफ्नो अगाडि र पछाडि पारेर काँधमाथि बोक्ने गरिन्छ। यसरी चढाइएका मोर (मोरि) तथा भन्टाका भार जति सबै त्यस मन्दिरका पुजारीले लिने गर्दछन्। त्यस्तै, श्रीपञ्चमीका दिन शिवालय स्थानमा ब्राह्मण–भोजन गराउने प्रचलन रहेको पाइन्छ भने कतिपय व्यक्ति पवित्र नदीबाट जल लिएको काँवर बोकेर शिवालयमा पुगेर चढाउनेसमेत गर्दछन्। अर्कोतिर, यस क्षेत्रका कतिपय गाउँहरूमा यस श्रीपञ्चमीका दिन ग्रामदेवताको स्थानमा, जसलाई अर्को शब्दमा ब्रह्म–डिहबार स्थान पनि भनिन्छ, वार्षिकरूपमा गरिने पूजा सम्पन्न गरिन्छ। यस्तो पूजालाई लोकबोलीमा गमेला–पूजा भनिन्छ।
सामाजिक पक्षः–
     यस क्षेत्रमा माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी तिथिलाई स्थानीय बोलीमा “सिरपचई” भनेर विशेष उत्साहका साथ मनाइने गरिन्छ। यस क्षेत्रको समाज, परम्परागत दृष्टिकोणले हेर्दा, जातिगतरूपमा निर्मित रहेको कृषिप्रधान समाज हो। समाजमा रहेका व्यावसायिक सेवासित सम्बन्धित अनेक जातिमध्ये एउटा जाति लोहार हो। लोहार जाति पौनी–पसारी समूह अन्तर्गत पर्ने जाति हो। स्थानीय भाषामा फलामलाई लोहा भनिन्छ, अतः यससित सम्बन्धित भएकोले यस जातिलाई लोहार भनिएको हो। लोहारको परम्परागत पेशा भनेको फलामबाट अनेक प्रकारका औजारहरू निर्माण गर्नु हो, जसमा कृषि कार्यमा प्रयुक्त हुने औजारहरूसमेत हुन्छन्। लोहारले काम गर्ने स्थानलाई ‘लोहसारि’ भनिन्छ। श्रीपञ्चमीका दिन लोहसारि स्थानमा गाईको गोबरले लिपेर पवित्र पारिन्छ। त्यसपछि गाउँभरिका कृषि कार्यसित संलग्न प्रायः सबै घरबाट हलो हुनेले हलोको फाली, कोदाली, खुर्पी, हँसिया आदि कृषिऔजार उपकरणहरू लिएर केही अन्नका साथ लोहसारिमा आउने गर्दछन्। यस दिन लोहारले आफ्नो ‘भाथी’ (आरन) र ‘नेहाई’ (फलामको आधारस्तम्भ, जसमाथि तातो फलामलाई राखेर घन वा हथौडाले चोट हानिन्छ) लाई विशेषरूपले पूजा गरिराखेको हुन्छ। गाउँका मानिसहरू लोहसारिमा लिपेको स्थानमा अन्न राखिदिएपछि लोहारले उनीहरूको औजार, उपकरणहरूलाई तातो पारेर ठटाएर तीखो पारिदिने गर्दछ।
     यस दिन ‘हलो–ठड्याउने’ विधि गरिन्छ। परम्परागत कृषिकार्यमा खेत जोत्नका लागि उपयोगमा ल्याइने हलो
(स्थानीय बोलीमा हर, हरीस, परिहत, लगना, किल्ली, पालो र दुईवटा कनैल गरी आठवटा) काठका सामग्रीहरूबाट तयार गरिएको हुन्छ। कृषिकार्यबाट उत्पन्न अन्नले सुख, समृद्धि र आनन्द प्रदान गर्ने भएकोले यस दिन हलोलाई लक्ष्मीरूप मानेर पूजा गरिन्छ। हलो–ठड्याउने विधि अन्तर्गत पिठार (अरबा चामलको पीठोको घोल) र सिन्दूरले हलोको अरिपन (चित्रविशेष) लेखिन्छ एवं हलोको काठमा पिठार–सिन्दूर लगाइन्छ। उक्त अरिपनमाथि पूर्वाभिमुख हलो समातेर ‘हरबाह’ (हलो जोत्ने मानिस, जसलाई अर्को शब्दमा जन पनि भनिन्छ) उभिएको हुन्छ तथा हलोको नासिका
(फाली जडान गरिएको भाग) छोपिने गरी त्यसमाथि गृहस्थले यथा सामथ्र्य अन्न (प्रायः धान) खन्याउने गर्दछिन्। त्यो सबै अन्न हरबाहको हुन्छ। यस दिन हरबाहलाई नव–वस्त्रादि दिएर मीठो भोजन गराइन्छ, जसमा घ्यू, तरुआ
(तरकारीका वस्तुलाई तारेर बनाइने परिकार विशेष), दही आदि समावेश गरिएका हुन्छन्। यस्तै यस दिन गोरुको ‘खुर’ (खुट्टाहरू)मा पूजा गरी भोजन खुवाइन्छ। यस दिन हरबाहलाई मनी दिइन्छ। मनी भनेको वार्षिकरूपमा दिइने तलब हो। यस क्षेत्रमा स्थानीय भाषामा अन्नको तौलको एकाइलाई मन भनिन्छ, जुन चालीस सेरको बराबर हुन्छ। मनको हिसाबले अन्न (प्रायः धान) दिइने भएकोले यसलाई मनी भनिएको हो। अर्कोतिर, यस दिनदेखि हरबाहको तलब वृद्धि गर्ने, हरबाहलाई बर्खास्त गर्ने, नयाँ हरबाह नियुक्त गर्ने एवं हरबाहले पनि नयाँ गृहस्थ रोज्ने जस्ता कार्यहरू हुने गर्दछन्।
सांस्कृतिक पक्षः–
    श्रीपञ्चमी पर्व विषयक सांस्कृतिक परम्पराबारे अध्ययन गर्दा यस क्षेत्रमा यस दिन आफ्ना बालबालिकालाई अक्षरारम्भ अर्थात् विद्यारम्भ तथा वेदारम्भ संस्कार गराउने गरिएको पाइन्छ। हिन्दूहरूले मानेका सो–ह संस्कारमध्ये यी संस्कारहरू पर्दछन्। श्रीपञ्चमीलाई वसन्त–आगमनको सूचक मानिएकोले यस दिन वसन्त–श्रवण गर्ने परम्परा रहेको पाइन्छ। यस अन्तर्गत वसन्त–राग गायन र श्रवण गरिन्छ। यसबाट मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिन्छ। सरस्वतीलाई सङ्गीतविद्याकी देवी पनि मानिन्छ। सङ्गीतशास्त्रमा रागको विशेष महत्व रहेको हुन्छ। राग भनेको स्वरहरूको आरोहण तथा अवतरणको यस्तो नियम हो, जसबाट सङ्गीतको रचना हुन्छ। राग शब्द संस्कृतको “रंज्” धातुबाट बनेको भन्दछन्। रंज्को अर्थ रङ्नु हुन्छ। जसरी एउटा चित्रकार तस्वीरमा रङ भरेर त्यसलाई सुन्दर बनाउँदछ, त्यसरी नै सङ्गीतज्ञले मन र शरीरलाई सङ्गीतका स्वरहरूबाट रङ्ने गर्दछ। राग प्रकृतिमा पूर्णतः व्याप्त रहने गर्दछ, यसको निर्माण गरिंदैन, अपितु यो आविष्कृत हुने गर्दछ भनी विद्वान्हरू भन्दछन्। वर्षका छवटै ऋतुका छवटा विशेष रागहरू मानिएका छन्। यसमा वसन्त ऋतुको हिंडोल राग, ग्रीष्मको दीपक, वर्षाको मेघ, शरदको मालकौंस, हेमन्तको श्री तथा शिशिर ऋतुको भैरव राग रहेका मानिन्छन्। राग वसन्त–हिंडोलमा आरोहका पाँच तथा अवरोहका सात स्वर हुन्छन्। यसलाई प्रसन्नता एवं उत्फुल्लताको राग भनिन्छ।
    यसैगरी, फागुन महीनामा पर्ने हर्ष र उल्लासको पर्व ‘होली’को शुभारम्भ पनि यसै दिनदेखि हुने गर्दछ। यस दिन आआफ्ना कुलदेवतासमक्ष रातो अबिर चढाइन्छ तथा प्रसादस्वरूप निधारमा टीका लगाइन्छ। यस क्षेत्रको समाजमा यसै दिनदेखि रङ्ग र अबिरको प्रचलन आरम्भ हुन्छ। श्रीपञ्चमीदेखि ‘धुरखेल’ (चैत्र कृष्ण प्रतिपदा)सम्मको अवधिमा ज्वाइँ, भानिज, मान्यजन, कुटुम्ब आदिलाई रङ्ग–अबिर हालेर प्रेम–स्नेह–सम्मान प्रदर्शित गर्ने परम्परा रहेको पाइन्छ। श्रीपञ्चमीको दिनदेखि नै साँझपख ‘डम्फ’, मृदङ्ग र ‘मजीरा’ बजाएर सामूहिकरूपमा होरी (होली गीत विशेष) गाउन आरम्भ गरिन्छ। यस्तो होरी गीत प्रत्येक दिन रातिको समयमा गाउँका दलानहरूमा बसेर पुरुषवर्गद्वारा गाइन्छ।
निष्कर्षः–
    श्रीपञ्चमी वा वसन्तपञ्चमी पर्व नेपालको प्रदेश नं २ क्षेत्रको भूभागका साथै यसका सेरोफेरोमा रहेका अन्य क्षेत्रमा समेत एउटा विशेष महत्वको पर्वको रूपमा रहेको छ। श्रीपञ्चमी पर्वको सन्दर्भमा गरिने विधि–विधान तथा क्रियाकलापमा प्रचलित स्थानीय परम्पराको कारणले गर्दा कतिपय कुरामा फरकहरूसमेत देख्न सकिन्छ। वर्षभरिमा मनाइने अनेक पर्वहरू जस्तै यस श्रीपञ्चमी पर्वको पनि धार्मिक उपासना विषयक महत्वका साथै सामाजिक र सांस्कृतिक महत्व रहेका छन्। यस विषयमा अझ व्यापक अध्ययन र अनुसन्धानको अपेक्षा रहेको छ, जसबाट हाम्रा चाडपर्वका महत्वका विभिन्न आयामहरूमाथि प्रकाश पार्न सकियोस्।
    (त्रिभुवन विश्वविद्यालय, ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंजको इतिहास शिक्षण विभागद्वारा शिशिर नवरात्रको अवसरमा फागुन ६गते बृहस्पतिवार आयोजित प्राज्ञिक गोष्ठीमा प्रस्तुत आलेख)

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here