प्रस, वीरगंज, ६ फागुन/
ठाकुर राम बहुमुखी क्याम्पसको सभाकक्षमा शिशिर नवरात्रको अवसरमा इतिहास शिक्षण विभागद्वारा आयोजित प्राज्ञिक गोष्ठी बिहीवार सम्पन्न भयो।
‘श्रीपञ्चमी पर्वको धार्मिक, सामाजिक तथा सांस्कृतिक पक्षहरू–एक अध्ययन’ शीर्षकमा आधारित आलेख तयार पारेका इतिहास विभागका प्रमुख डा वासुदेवलाल दासले प्रस्तुत गर्दै कार्यक्रममा उपस्थित सहभागीहरूलाई धन्यवाद दिएका थिए । त्यस्तै, कार्यक्रममा प्रसारण भएको सुमधुर वसन्त धुन आनन्दपूर्वक सहभागीहरूले श्रवण गरेका थिए।
कार्यक्रमको अध्यक्षता गरेका क्याम्पसका निमित्त प्रमुख सुरेशप्रसाद कुशवाहाले कार्यक्रमको समापन गर्दै आयोजक विभागको प्रशंसा गर्नुका साथै यस्तो कार्यक्रम आगामी दिनमा पनि हुनुपर्नेमा जोड दिंदै सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।
कार्यक्रममा आलेखको बारेमा मन्तव्य व्यक्त गर्दै डा विश्वम्भर शर्माले बाल्यकालीन अनुभूति सुनाएका थिए। त्यस्तै, सुधा मिश्रले देवी सरस्वतीको उत्पत्तिको प्रसङ्ग कोट्याउँदै जनचेतनाको लागि यस्तो कार्यक्रम नवपुस्तासमेतको सहभागितामा गर्नुपर्ने कुरामा जोड दिइन्।
मन्तव्य राख्नेहरूमा डा शिवशङ्कर यादव, विनोद गुप्ता, राजेश मिश्र, शत्रुघ्न यादव, कुमार सचितानन्द सिंह, वीरेन्द्रप्रसाद साह, श्रीनिवासप्रसाद यादव, श्रीमन्नारायण मिश्रले श्रीपञ्चमीको महत्वबारे आआफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए। कार्यक्रममा ठाकुर राम बहुमुखी क्याम्पसका प्राध्यापक तथा विभिन्न क्षेत्रका स्वतन्त्र लेखकलगायत २४ जनाको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here