प्रस, वीरगंज, २ फागुन/
वीरगंजमा शेयर बजारसम्बन्धी आधारभूत तालीम सम्पन्न भएको छ। वीरगंज उद्योग वाणिज्य सङ्घ, वीरगंज पब्लिक कलेज, वीरगंज कलेज, नेशनल एकेडेमी, नेशनल इन्फोटेक र हरि खेतान क्याम्पसको साझेदारीमा नेपाल युवा उद्यमी मञ्च वीरगंज र प्रभु क्यापिटल लिको संयुक्त आयोजनामा हिजो शनिवार शेयरसम्बन्धी तालीम सम्पन्न भएको थियो।
लगानीको अवसर खोजिरहेका युवाहरूलाई शेयर बजारको सम्भाव्यताबारे जानकारी दिने उद्देश्यले तालीम आयोजना गरिएको मञ्चका अध्यक्ष अनुप अग्रवालले बताए। तालीममा वीरगंजका बिजनेश स्कूल र शेयर बजारमा रुचि राख्नेहरूको सहभागिता थियो। सहभागीहरूलाई प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र प्रमुख सञ्चालक अधिकृत कृष्ण गिरीले शेयर बजारका आधारभूत पक्षबारे जानकारी गराएका थिए। तालीमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश २ का सदस्य अशोक टेमानीले गर्दै शेयर बजारका लगानीकर्ताले लगानीको प्रकृति र चुनौतीहरूलाई सूक्ष्म ढङ्गले विश्लेषण गर्नुपर्ने सुझाव दिए। उनले लगानी गर्नुअघि कम्पनीको वित्तीय अवस्था र पृष्ठभूमिबारे पर्याप्त जानकारी राख्न सुझाव दिए।
मञ्चका संस्थापक अध्यक्ष अरविन्द अमात्यले अर्थतन्त्रका बारेमा समुदायमा बृहत् जानकारी गराउन आवश्यक रहेको बताए। उनले एक दशकपछि मञ्च पुनर्जागरण भएकोमा खुशी पनि व्यक्त गरे। तालीममा मञ्चका द्वितीय उपाध्यक्ष सन्दीप अग्रवाल, सदस्यहरू विकाश ठाकुर, विश्वासप्रताप साह, आशिष् लाठ, मनीषा सुनार श्रेष्ठ, काजल सिंह, पङ्कज अग्रवाल, सङ्कल्प शाक्य, मनिता शाक्यलगायतको सहभागिता थियो।