सञ्जय मित्र

रौतहटको गुजरा नगरपालिकाको चोंचामा रहेको गुजरा फन पार्क गन्तव्य हो । गरूडाबाट निस्केर झन्डै सोझो हुने नहर नसमात्दासम्म अनगिन्ती मोडहरूको ग्रामीण बाटो गुड्दा अलिकति पनि लाग्दैनथ्यो कि नगरपालिकाको बाटो पनि यस्तो हुन्छ । धूलो र माटोका सडकहरू नाघ्दै अगाडि बढ्दैछौं । एउटा मोडमा मैले स्कूटर रोकेर देखाउँछु– “ऊ… त्यो अलिकति माटो भत्केको र खाल्डो परेको ठाउँ छ, त्यहाँ नै लमाहा नदीमा नहर मिलाइएको छ। नहरलाई खोलामा मिलाइएको हो । अधिकांश ठाउँमा नहर खोलाबाट निकालिन्छ तर यहाँ नहरलाई खोलामा मिसाइएको छ । हो, यो नहर जहाँबाट वाग्मती मूल नहरबाट छुट्याइएको छ, हामी त्यहाँ पुग्दछौं अहिले । मैले देखाउनुपर्ने कारण यहीं हो ।”
अनि हुइँकिन्छौं । साथीहरू अगाडि बढिसकेका छन् ।
नजीकै एउटा मोड छ । मोडले त्यहीं नहरको किनारमा पु¥याउँछ, जसलाई नजीकैको खोलामा विसर्जन गरिएको छ। त्यहाँ अलिक पर खोला देखिन्छ र नहरलाई खोलामा विसर्जन गरिएको ठाउँको विपरीत दिशामा विशाल सरेह छ । धरतीको मुहारलाई नयाँ बालीले हरियो बनाएको छ। त्यहीं एकातिर धरतीको अनुहार मलीन देखिन्छ भने अर्कोतिर उज्यालो । नाकको डेडीजस्तो नहर छ, जसले त्यहाँ उदास र उत्साह सतहलाई छुट्याएको छ ।
अनि नहरलाई कुल्चँदै र चीसो कठ्याङ्ग्रिदो हावासित पौठेजोरी खेल्दै पछ्याउन थाल्छौं साथीहरूलाई । निकै चल्तीको बाटो हो यो । अझ केही दशकसम्म त राष्ट्रिय वनबाट काठ ओसार्ने तस्करी मार्गको दुर्नाम पनि कमाएको मार्ग हो । तर अहिले लगभग सुनसान छ । वैकल्पिक बाटाहरूले व्यवस्थित रूप धारण गरिसकेका छन् । गणतन्त्रले सबैभन्दा बढी प्रगति सडक र भवनमा गरेको छ । देशको गरीबीलाई पनि बिस्तारै गणतन्त्रले हटाउँदैछ तर गणतन्त्रले जाडोलाई त कम गर्न सक्दैन । प्रकृतिको अगाडि कसैको केही चल्दैन । अहिले बाटो झन्डै सुनसान देखिएको चाहिं अत्यधिक जाडोको कारणले हो ।
बस्तीहरू आउँछन् र पछाडि सर्छन् । सडक आउँछन्, हामी नाघ्दै अगाडि बढ्छौं । नहरको बाटो छ, एकनासले हिंड्न सक्ने छँदैछैन । अग्लो होचो बाटो, कतै बाक्लो गिट्टी बिछ्याइएको छ त कतै अलिक ठूला गिट्टी पनि छन्। कतै ट्याक्टरले बाटो बिगारिसकेको छ । र पनि रोजेकै यही बाटो हो ।
जाडोमा स्कूटर चलाउन गा¥हो होला भनेर अघि गरूडामा डेढ सय रूपैयाँमा हातेपञ्जा किनेको छु तर पहिलोचोटि पञ्जा लगाएर स्कूटर चलाउन सजिलो भएको छैन । चिप्लिने समस्या भइरहेको छ । ब्रेक हान्दा पनि समस्या र स्पीड बढाउन वा घटाउन पनि अप्ठ्यारो । फुकालेर सहज गतिमा चलाउन थाल्छु तर चीसोले सबैभन्दा बढी आक्रमण हातकै पञ्जामा गरिरहेको छ । जाडोसित अनेक किसिमका सङ्घर्ष गर्नुको आफ्नै मज्जा छ । यहाँ हार र जीतको पक्ष र प्रश्न होइन । सकेसम्म जोगिने प्रयास गरेकै हो तर लक्ष्यमा पुग्नु छ । लक्ष्यलाई डगमगाउन दिनुहुँदैन भन्नेमा दृढ पनि छौं । दृढताको यो यात्रा हो ।
जङ्गलमा आजीविका गर्न जानेहरू भेटिन थाल्छन् । अझै पनि जङ्गलको भरमा पशुधन पाल्ने किसानहरू पर्याप्त छन् । सयँैंको सङ्ख्यामा बाख्राका झुन्डहरू जङ्गलतिर गइरहेका छन् । खोइ यिनीहरूलाई जाडो ? तर गन्तव्य नजीकिंदै छ भन्ने सङ्केत हो यो ।
बस्ती र जङ्गल जोडिएको ठाउँ आइपुग्छ । त्यहींबाट नहर निकालिएको हो र यहींबाट पश्चिम मोडिनु छ । चार/पाँच किलोमिटर जङ्गलको बाटो हिंड्दछौं । केदार सरको स्कूटर सजिलो बाटो फन पार्क पुगिसकेको छ । हामी भने जङ्गल भएर जाने भनेरै आएका छौं । त्यसैले वन र मानिसको सम्बन्ध हेर्दै अगाडि बढ्दैछौं । अझै पनि वन छेउछाउका बासिन्दा धेरै किसिमले वनमाथि निर्भर छन् । यद्यपि पहिलेभन्दा निर्भरता घटेको छ । फेरि अलिक ठूलो छुटिएको छ नहर दक्षिणतिर । हामी त्यहीं नहरको बाटो मोडिन्छौं । केही मिनेटको हिंडाइपछि आइपुग्छ फन पार्क ।
फन पार्क अहिल्यै हेर्दा प्राकृतिकजस्तो लाग्छ तर छ पूर्णयता कृत्रिम । कृत्रिम पहाड बनाइएको र कृत्रिम पोखरी पनि छ । के गरिएको छ भने पोखरी खन्दा निस्केको माटो एक ठाउँमा थुपारिएको छ । थुपारिएको माटो अन्दाजी तीसदेखि चालीस फिट अग्लो भएको छ । अग्लो भाग करीब पाँच कट्ठामा पैmलिएको छ । पाँच कट्ठाभन्दा फराकिलो भाग टाढाबाट देख्दा सानो पहाडजस्तो देखिन्छ भने त्यसमाथि चढेर हेर्दा उच्च समस्थलीजस्तो लाग्छ। पूरै चतुष्कोणात्मक होइन न त त्रिकोणात्मक आकार नै छ उच्च समस्थलीको । माथि समस्थलीमा विभिन्न ठाउँमा बस्नको लागि ठाउँ बनाइएको छ र रङ्गिएका काठे फर्निचरहरू सजाइएका छन् । साना छाप्रा पनि छन् । त्यहाँ छाप्रो वा खुल्ला आकाशमा बसेर दृश्यावलोकन गर्न पाइन्छ । चारैतिर नीलो देखिने पोखरीको सफा पानी छ तल तल । पोखरीको करीब चारैतिर सडकजस्तो छ काँडेतारभित्र । पैदल, साइकल वा मोटरसाइकलले पोखरीको चारैतिर आनन्दको यात्रा गर्न सकिन्छ । उच्च समस्थलीमा राखिएको फलैंचामा बसेर तल पोखरीमा माछा खोज्दै उडेका बकुल्लाहरूलाई देख्न सकिन्छ । उडिरहेको बकुल्लाको सग्लो पानीमा सुन्दर प्रतिविम्बले मन लोभ्याउँछ । उत्तरतिर सखुवैसखुवाको प्राकृतिक वन छ । नक्कली पहाडमा उभिएर सक्कली जङ्गलको दर्शन गर्न पाउने सुन्दर र शान्त फन पार्कमा फलैंचामा पल्टेर साँच्चीकै शान्तिको अनुभूति गर्न सकिन्छ ।
तल पोखरीको डिलमा पानीको छेउमा राखिएको फलैंचामा पल्टेर पनि यो आनन्दको मात्रा बढाउन सकिन्छ ।
त्यहाँ पुग्नेहरू के बताउँछन् भने हावा नचलेको बखत पनि हावा लाग्दछ यहाँ । चारैतिर पानी भएको र अग्लो ठाउँ बनाइएको हुनाले गर्मीमा पनि शीतलताको अनुभूति हुनु स्वाभाविक हो ।
यदि पहाडको बनोटको सन्दर्भ बुझ्न चाहनुहुन्छ भने पृथ्वीको उत्पत्तिदेखि विज्ञानको सिद्धान्तहरूको अध्ययन गर्नुपर्दछ । पहाड कसरी बनेको होला ? कसरी बन्दछ ? तर यहाँको पहाडको संरचनाको इतिहास धेरै लामो छैन । यदि अहिले नै यहाँ पुग्नुहुन्छ भने दुई वर्ष पहिले जन्मेको पहाडको इतिहास देख्न सक्नुहुन्छ, कसैले नबताए पनि यही पहाडले बताउँछ । सुन्न सक्नुपर्दछ बस । यस पहाडको निर्माणको कथा मैले सुनेको छु र सम्भवतः यसले सुनाउन आतुरता पनि देखाइरहेको छ यहाँलाई । यसले भनिनथाक्दै सुन्न पाउनु पनि सौभाग्य हो ।
हामी सबैले साहित्यवाचन गर्दछौं । मातृभाषा बज्जिकामा कैयौं वर्षपछि मैले एउटा कविता लेखेको छु । अन्य विधामा कलम निरन्तर चलिरहेको छ तर कविता भने धेरै वर्ष भइसकेको छ नलेखेको भन्ने कुरो बताउँछु । नेपालमा बज्जिका भाषाको पहिलो कविताकृति प्रकाशन मेरै भएको छ तर पनि मैले यो कुरा बताउँदा भित्रभित्रै निकै अप्ठ्यारो अनुभव भएको छ ।
काव्यपाठसँगै टोलीका दुई साना सदस्य फन पार्कभित्रै बनाइएको चिल्ड्रेन पार्कमा खेल्न जान्छन् । त्यहाँ बालबालिकाका लागि बनाइएको र बन्दै गरेको रूचिकारक अनेक कुरा रहेका छन् । एक घण्टाजति रमाउने राम्रो ठाउँ बनेको छ । बालबालिकाहरू खुशी हुन्छन् । हामीले चाहेको त खुशी नै हो नि ।
नक्कली पहाडको उच्च समस्थलीमा थारू संस्कृतिसँग सम्बन्धित विभिन्न दर्शनीय कुरा राखिने र शिवको विशाल मूर्ति पनि राखिने सुनिन्छ ।
यहाँ आउनेजति सब खुशी र सन्तुष्ट भएर फर्किन्छन् ।
हिजो दिउँसो घाम लागेको थियो । आज शनिवार भएकोले घामले पनि बिदा लिएको छ । दिउँसोको तीन बज्न खोज्दैछ तर घामले अनुहार देखाउने सुरसार गरेको छैन ।
हामी अब कटहरियाको बाटो फर्किने गरी त्यहाँबाट निस्कन्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here