प्रस, वीरगंज, २९ फागुन/
सरकारले कर्मचारी, जनप्रतिनिधिलाई कोरोनाको खोप दिने भएको छ। फागुन २ गतेदेखि देशभरिका सबै जिल्लाका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक कर्मचारी, पत्रकार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई खोप दिने निर्णय गरेको छ।
यसैगरी, सीमा सुरक्षामा खटेका सुरक्षाकर्मी, पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स, शववाहन चालक र शव व्यवस्थापनमा खटेका सुरक्षाकर्मीहरूलाई पनि खोप दिने बताइएको छ।
तोकिएको स्वास्थ्य संस्था वा खोपकेन्द्रमा गएर खोप लगाउन सकिने व्यवस्था गरिएको मन्त्रालयले जानकारी गराएको छ।
पर्साका सञ्चारकर्मीहरूलाई पनि खोप दिने तयारी
जिल्ला स्वास्थ्य कार्यालय, पर्साले दोस्रो चरणको खोप फागुन २ गतेदेखि सञ्चालन गर्ने र पत्रकारहरूलाई पनि सो खोप उपलब्ध गराउने तयारी गरेको छ।
स्वास्थ्य कार्यालयका प्रमुख कामेश्वर चौरसियाले बिहीवार भर्चुअल मिटिङमा मन्त्रालयबाट दोस्रो चरणको खोपमा पत्रकारहरूलाई समावेश गर्न निर्देशन भए अनुसार नेपाल पत्रकार महासङ्घ पर्सा शाखासँग विवरण माग गरिएको बताए। उनले विवरण आएपछि फागुन २ गतेदेखि पत्रकारहरूलाई पनि खोप उपलब्ध गराउने जानकारी गराएका छन्। जिल्लास्तरमा पत्रकारहरूलाई फागुन २ गतेदेखि खोप दिन मन्त्रालयले निर्देशन दिए पनि उपत्यकामा यसअघि नै पत्रकारहरूलाई खोप दिने कार्य हुँदै आएको छ।
पर्सा जिल्लामा पहिलो चरणको खोप लक्ष्यभन्दा बढीले लिएका थिए। ४ हजार ९ सय ७१ जनालाई खोप दिने लक्ष्य रहेकोमा ५ हजार ६१ जनालाई खोप दिइएको थियो।