प्रदेश सरकारका मन्त्रीहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाइयो

0

प्रस, जनकपुरधाम, २९ माघ/
प्रदेश सरकारका मन्त्रीको अङ्गरक्षकमा खटिएका सशस्त्र प्रहरीलाई बिहीवारबाट हटाइएको छ।
७ वटै प्रदेशका मन्त्रीको अङ्गरक्षक र सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएको हो।
प्रदेश २ सरकारका मन्त्रीहरूको लागि मात्रै करीब सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार र हवल्दार गरी ३२ जना  खटिएका छन्।
प्रदेश सरकारका अरू मन्त्रीहरूलाई २/२ जना सशस्त्र प्रहरी र आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई पछुवासहित ८ जना सशस्त्र प्रहरी खटाइएको थियो।
अङ्गरक्षक र सुरक्षाबाट सशस्त्र प्रहरी झिकिएको प्रदेश २ सरकारलाई जानकारी गराइसकिएको छ। मन्त्रीको अङ्गरक्षकबाट सशस्त्र प्रहरी झिकिएपछि प्रदेश २ को आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिहीवार अपराह्न आकस्मिक सुरक्षा बैठक बोलाएका थिए। बदलिंदो राजनीति घटनाक्रम लगत्तै प्रदेशका मन्त्रीहरूको सुरक्षाबाट सशस्त्र प्रहरी झिकिएपछि प्रदेश २ सरकारका मन्त्रीहरूमा अर्कै संशय देखिएको छ।
सुरक्षा मजबूत पार्नुपर्ने बेलामा भएका सुरक्षाकर्मीलाई समेत फिर्ता बोलाएको भन्दै प्रदेश २ का मन्त्रीहरूले गुनासो गरेका छन्।
सशस्त्र प्रहरीका अनुसार शुक्रवारबाट प्रदेश सरकारका मन्त्रीहरूसँग सशस्त्र प्रहरीको सुरक्षा रहने छैन। प्रदेश सरकारका मन्त्रीहरूलाई नेपाल प्रहरीको सुरक्षा थप्ने तयारी गरिएको छ।
सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार फौजको नयाँ कार्यविधि अनुसार प्रदेशका मन्त्रीहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएको हो। “सशस्त्र प्रहरीको नयाँ कार्यविधिमा प्रदेशका मन्त्रीहरूको सुरक्षामा सशस्त्र प्रहरी नखटाउने उल्लेख गरिएको छ,” प्रवक्ता अर्यालले भने, “सोही प्रावधान अनुसार प्रदेशका मन्त्रीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरूलाई फिर्ता बोलाइएको हो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here