प्रस, रौतहट, २९ माघ/
जिल्ला प्रशासन कार्यालय रौतहटले सरस्वती पूजाको लागि शुल्क वा चन्दा नलिन परिपत्र गरेको छ।
जिल्लाका सम्पूर्ण स्थानीय निकास, शिक्षा विकास तथा समन्वय एकाइ, सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरूलाई सरस्वती पूजाको लागि चन्दा वा शुल्क नलिन जिप्रकाले परिपत्र गरेको हो।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा हस्ताक्षरित पत्रमा फागुन ४ गते मनाइने सरस्वती पूजा भक्तिभावका साथ विधिपूर्वक मनाउन आग्रह गरिएको छ।
पूजा गर्न ठूलो धनराशि नलाग्ने भएकोले सरस्वती पूजाको लागि विद्यार्थी वा अभिभावकसँग कुनै किसिमको शुल्क वा चन्दा नअसुल्न, डिजे बाजा प्रयोग नगर्न, अश्लील तथा छाडा गीत नबजाउन र विसर्जन कार्यमा बालबालिकाको प्रयोग नगर्न परिपत्रमा उल्लेख छ।