राधेश्याम पटेल, परवानीपुर, २७ माघ/
बारा महागढीमाई नगरपालिका वडा नं १ बरियारपुर (मठवा) टोलका १९ वर्षीय अजय कुशवाहा काठमाडौंमा एचएको तेस्रो वर्षमा अध्ययनरत छन्। उनी भर्खरै अन्तिम वर्षको परीक्षा सकाएर एउटा निजी क्लिनिकमा काम गर्न सोचमा पुगेका थिए। कुरा पनि फाइनल भइसकेको थियो, सोमवारदेखि उनी ज्वाइन गर्ने कुरा थियो।
आइतवार राति गृह जिल्ला बाराको बरियारपुरबाट एकजना काकाले निजका ठूल्दाइ सञ्जयप्रसाद कुशवाहालाई अचानक फोन गरे। राति साढे ९ बजेको समयमा चाँडै घर आऊ तिमीहरू, तिम्रो आमा निकै बिमारी छन् भनेर खबर सुनाउँदा धेरै संवाद गर्नु उचित नलागेर सबैजना जुन अवस्थामा थिए, त्यही अवस्थामा तीनजना दाजुभाइ र एकजना बहिनी एम्बुलेन्समा घरको लागि काठमाडौं छोडे।
काठमाडौं छोड्दा घडीमा रातिको सवा १० बजिसकेको थियो। कुरा साँच्चै गम्भीर नै रहेको अजयकी दिदी सङ्गीताकुमारी कुशवाहाले भेउ पाइसकेकी थिइन्। तर उनले दाइसँग पटक–पटक घरमा के भएको छ भनी सोध्दा पनि सञ्जयले धेरै कुरा बताएनन्। बिहानको ५ बजे घरमा पुग्दा मानिसहरूको भीडभाड थियो। चीसोको बेला घरको भित्र र बाहिर सयौं मानिसको भीडभाड देखेर हामी चारैजना नै गम्भीर भएको अजय बताउँछन्। “हामीलाई आमालाई सन्चो नभएर अवस्था गम्भीर छ भनेर परिवारजनले बोलाएका थिए,” अजयकी दिदी सङ्गीताले भनिन्, “तर अवस्था त्यस्तो थिएन, सबैले देखेपछि रुवावासी चल्यो, आमा यो संसार छोडेर गइसकेकी थिइन्।” कालगतिले संसार छोडेर गएकी होइनन्, उनको बीभत्स हत्या भएको दृश्य जब देखे उनीहरूलाई विश्वास पनि लागेन।
खासमा अजयकी ४८ वर्षीया आमा कान्तिदेवी कुशवाहाको आइतवार राति ९ बजे घरभित्र पसेर अज्ञात व्यक्तिले हत्या गरेको थियो। “घरभित्र पसेर हेर्दा आमा चिर निद्रामा थिइन्, उनलाई कसैले धारिलो हतियार प्रहार गरी आँखा नै बाहिर आउने गरी अनुहारको दाहिने भागमा घोचेर मारेको थियो,” कान्तिदेवीका जेठा छोरा सञ्जयले भने। आमाको निर्ममतापूर्वक हत्याबारे बुझ्दै जाँदा बुबा गाउँमा अष्ठयाम पूजा हेर्न गएका बेला उक्त दुःखद घटना घटेको उनले थाहा पाए। सञ्जय र माइलो भाइ विजयप्रसाद कुशवाहा काठमाडौंकै टिचिङ अस्पतालभित्र रहेको मनमोहन मुटुरोग अस्पतालमा सञ्जय प्रशासनतर्फ खरिदार छन् भने विजय लेखा फाँटका खरिदार हुन्। एक्ली बहिनी सङ्गीता रेडियोलोजीको पढाइ सकेर लोकसेवा आयोगको तयारीमा थिइन्। बुबा बैधनाथ कुशवाहा गाउँका सफल किसान हुन्। उनको पक्की घर पनि निर्माण भइरहेको छ।
छोराले घर बनाउन काठमाडौंबाट ५० हजार रुपैयाँ एनआइसी एशिया बैंकमा पठाएका थिए। त्यो रकम आइतवार झिकेर बुबा बैधनाथले आमा कान्तिदेवीलाई राख्न दिएका थिए। परिवारजनका अनुसार शायद त्यही रकम चोर्न चोर घरभित्र पसेको र अन्त्यमा कान्तिदेवीले चोरको पहिचान गरेपछि उनको बीभत्स हत्या गरेको हुन सक्ने परिवारजनको भनाइ छ।
“चोरले आफू समातिने डरले आमाको ज्यान लियो,” कान्तिदेवीकी छोरी सङ्गीताले भनिन्, “चोरले रकम लगेको छैन, आमाले दिन नमानेपछि ज्यान नै लिएर हामीलाई टुहुरो बनायो, त्यो पापीले।” उनले चोरलाई चाँडोभन्दा चाँडो पक्राउ गरी सजाय दिनुपर्छ भनी प्रहरीसँग बिलौना गरिन्। उनका अनुसार बुबाआमाले दुःख गरेर गाउँमा खेतीपाती गरेर छोरोछारीलाई ठूलो मानिस बनाउने सपना बोकेका थिए।
“तर आमाको सपना अब अधूरो नै रहयो। उनी कहिल्यै हामीहरूबीच आउन सक्नुहुन्न,” छोरी सङ्गीताले भनिन्, “अब हाम्रो दःुखसुखमा कसले साथ दिन्छ।”
लाउड स्पिकरको कोलाहलले चिच्याएको कसैले सुनेन
आइतवार मठवा टोलमा स्थानीय एकजनाको घरमा अष्ठयाम पूजा भइरहेको थियो। मधेसमा अष्ठयाम भनेको एक प्रकारको धार्मिक २४ घण्टे अनुष्ठान हो। यो धार्मिक कार्यक्रमको लागि वरपरका गाउँमा पनि हरेराम हरेरामको धुन सुनाउन ठूलठूला लाउड स्पिकर बजाउने चलन छ। जसले गर्दा व्यापक ध्वनि प्रदूषण हुन्छ र अरूलाई घरमा बसेर आफनो काम गर्न पनि बाधा पुग्छ।
त्यस्तै अवस्थामा कान्तिदेवीको हत्या हँुदा पनि छिमेकीले भेउ पाउन सकेका थिएनन्। राति ८ बजे खाना खाएर कान्तिदेवी सुत्न गइन्, त्यसपछि निजका पति बैधनाथ पूजा हेर्न गाउँमा निस्के। त्यही मौका छोपी अज्ञात व्यक्ति घरमा पसेर घरको मूलगेट भित्रबाट बन्द गरी घरभित्र प्रवेश गरेको बताइन्छ। ९ बजे बैधनाथ आउँदा कान्तिदेवीको हत्या भइसकेको थियो। त्यो व्यक्ति आँगनमैं राखिएको हलोबाट खपडाको घरको छानो माथि चढ्ने कोशिश गर्दै थियो, ढोकाको प्वालबाट यो दृश्य देखेपछि बैधनाथले चिच्याउँदै भने, “चोर आयो चोर।” तर कोही पनि आएनन्। गाउँमा लाउड स्पिकरको आवाज यति ठूलो त्यसमा चीसो रातिमा चाँडै सबैजना सुत्छन्। त्यसपछि उनी बाँसको भ–याङबाट मूल ढोकाबाट आँगनमा हामफाले। त्यतिसम्म उक्त व्यक्ति घरको पछाडिको ढोका खोलेर फरार भइसकेको थियो। पत्नी कान्तिदेवीलाई रगताम्य अवस्थामा देखेर बैधनाथ रुँदै चिच्याउन थाले। त्यसपछि गाउँले भेला भए। अनि खबर भयो प्रहरीलाई। सुत्ने कोठाबाट थुतेर पछाडिको ढोकाको बरन्डामा उनलाई सुताएर धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।
प्रहरीले फेला पा–यो रातो गम्छा र औंठी
बारा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। बाराका प्रहरी प्रवक्ता प्रनाउ गौतम मिश्रका अनुसार घटनास्थलबाट एक थान रातो गम्छा र औंठी फेला परेको छ।
त्यो गम्छा र औंठी हत्यामा संलग्न अभियुक्तकै भएको प्रारम्भिक अनुसन्धानबाट थाहा पाइएको प्रनाउ मिश्रले बताए। हेटौंडाबाट प्रहरीले विशेष अनुसन्धान गर्ने कुकुर झिकाएर सोमवार बिहानदेखि छानबिन गरिरहेको छ, उनले भने, चाँडै अभियुक्तलाई कानूनको दायरा ल्याइनेछ।
लाउड स्पिकर बन्द गर्न पहल गर्ने महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले बताए। उनले बरियारपुरमा यस्तो घटना पहिलोचोटि भएको र लाउड स्पिकरले गर्दा घटना हुँदा पनि कसैले थाहा नपाएको विषयमा आफू गम्भीर रहेको बताए। महागढीमार्ई मेलामा ध्वनि प्रदूषण रोक्न नसकेका प्रमुख यादवले आगामी दिनमा नीति नै बनाएर धार्मिक कार्यक्रममा चर्को ध्वनि रोक्न आफूले भूमिका खेल्ने आश्वासन दिए। शायद चर्को आवाजमा लाउड स्पिकर नबजेको भए घटना नघट्ने उनको जिकिर थियो।