विज्ञान र महिलाको पहुँचको अवस्था

0

सञ्जय साह मित्र

विज्ञान र अध्यात्म एक अर्काका पूरक हुन् भनिन्छ। यो एउटा सम्मानित बहसको विषय हो। अध्यात्म पनि विज्ञान हो भनी मान्ने विद्वान्हरूको सङ्ख्या कम छैन।
महिला बढी अन्धविश्वासी हुन्छन् भन्नेहरू पनि छन्। वास्तवमा विचार गर्ने हो भने अन्धविश्वासी हुन महिला वा पुरुष हुनुपर्दैन। अन्धविश्वासी जो पनि हुन सक्छ। महिलामाथि आरोप लगाइनु गलत कुरा हो।
अन्धविश्वास भनेको आँखा चिम्लेर गरिने विश्वास हो। वैज्ञानिक पुष्टि नभई विश्वास गरिएका कुरा सामान्यतया अन्धविश्वास हुन्, तर विज्ञानलाई पनि अन्धविश्वास मान्नेहरू छन्। कतिपय वैज्ञानिक खोज, अनुसन्धान वा धारणा कालान्तरमा परिवर्तन भएका छन्। कुनै एक धारणालाई अर्को वैज्ञानिक धारणाले विस्थापित नगर्दासम्म मान्नु वा विज्ञानसम्मत छ भनेर जे पनि मान्नुलाई पनि अन्धविश्वास भनेको हुनुपर्छ।
विज्ञानको पहुँच अझै धेरै क्षेत्रमा हुन सकेको छैन। जति धेरै आविष्कार भए पनि, विज्ञानले जति धेरै चमत्कार गरे पनि र विज्ञानको उचाइ तथा महत्व जति धेरै बढे पनि वा संसारका हरेक तहका नागरिकले विज्ञानको सर्वोच्चता स्वीकार गरे पनि अहिलेसम्म विपन्नतासित विज्ञान गाँसिन सकेको छैन। हजारौं मानिसको ठाउँमा एउटा मेशिनले काम गर्न सक्छ तर विपन्नहरू भने अझै पनि भोकभोकै बस्न बाध्य छन्। बर्सेनि कैयौं मानिस भोकै मर्न बाध्य छन्। भोक अन्धविश्वास कि विज्ञान भन्ने कुरोमा पनि बहस गर्न सकिन्छ।
विज्ञानको पहुँचमा महिलाको स्थिति के छ ? हुन त गरीबीले महिला र पुरुष केही देख्दैन। अशिक्षा र अन्धविश्वासले कसैलाई छुट्याउँदैन। यस मानेमा महिलाको पहुँच विज्ञानमा कत्तिको छ भन्ने सवाल पनि अधूरो हुन सक्दछ तर समाज अध्ययन गर्दा अनेक दृष्टिकोण अख्तियार गर्न सकिन्छ। महिलाको पहुँच विज्ञानमा कत्तिको छ भन्ने दृष्टिकोणले पनि समाजको अध्ययन हुनु आवश्यक छ।
हाम्रो सामाजिक यथार्थ यो छ कि धेरै मानिस विज्ञानको पहुँचबाट टाढा छन्। विज्ञानले गरेका चमत्कारको कतिपय उपभोग नै हाम्रो समाजको पहुँचबाट टाढा छ। मुख्यगरी हुनेखाने वर्गको वैज्ञानिक आविष्कारमाथि पहुँच रहेको छ। स्वाभाविक हो, हुँदा खाने  वर्गको पहुँच कम हुँदा महिलाको पनि पहुFच कम हुन पुग्छ। महिलामाथि विपन्नताको बढी प्रभाव पर्ने स्वाभाविकतालाई अस्वीकार गर्न सकिन्न।
पुरुषको तुलनामा हाम्रो समाजमा महिलाहरू शिक्षामा पछाडि छन्। सम्पत्तिमाथि महिलाको अधिकार अझै पनि कम देखिन्छ। घरायसी तथा पारिवारिक निर्णयमा महिलाको पहुँच कम छ। कतिपय महिलाले आर्थिक उपार्जनमा परिवारमा मुख्य योगदान दिइरहेका छन् तर त्यही आर्जन खर्च गर्न तिनै महिलाको पहुँच छैन। महिलाले आफ्नै कमाइ खर्च गर्न पतिको स्वीकृति लिनुपर्दछ। सामाजिक निर्णयमा महिलाको पहुँच निकै धेरै कम रहेको देखिन्छ। नीति निर्माणको तहमा महिलाहरू पुगेका छन् तर कतिपय अवस्थामा आलङ्कारिक पदजस्तो हुन पुगेको धेरै पालिकाका उपप्रमुखमा रहेका महिलाहरूले गर्ने गरेको अभिव्यक्तिबाट स्पष्ट हुन्छ। समावेशिताको सिद्धान्त अनुसार महिलाको पहँुच बिस्तारै सार्वजनिक जीवनका धेरै क्षेत्र तथा नोकरीमा पुग्दै गएको छ तर महिलालाई अझै पनि आफ्नो कार्य क्षमता र दक्षता अनुसार काम गर्ने वातावरण बनिसकेको पाइँदैन। साँच्चै हाम्रा सरकारी तथा गैरसरकारी कार्यालयहरूको कार्यालय प्रमुख तथा सहायक प्रमुखहरूको अध्ययन ग–यौं भने महिलाको उपस्थिति कति प्रतिशतमा सीमित रहेको देखिन्छ त ? यी र यस्ता कुराले पनि विज्ञानमा महिलाको पहुँचलाई प्रभावित पार्दछ भन्ने कुरो स्पष्ट हुन्छ।
विज्ञानको क्षेत्रमा महिलाको पहुँच कति छ भन्ने प्रश्नले महिलाको पहुँच विज्ञानको क्षेत्रमा बढाउन पनि सोच्नुपर्दछ। यदि विज्ञानमा महिलाको पहुँचको इतिहास हेर्ने हो भने विश्वमा महिलाले पनि धेरै आविष्कार गरेका छन्। महिलाले विज्ञानतर्फको नोबेल पुरस्कार पनि प्राप्त गरेका छन्। छिमेकी देश भारतमा पनि महिला वैज्ञानिकहरूले सम्मानजनक काम गरेका छन्। अहिले पनि गरिरहेका छन्। केही वर्ष पहिले नेपालका महिला वैज्ञानिकले अमेरिकामा निकै सम्मान पाएको खबर पनि आएको थियो। नासामा नेपाली महिला वैज्ञानिक कार्यरत छन् भन्ने खबर आएको थियो। नेपाली महिला वैज्ञानिक पनि छन्।         विज्ञानका अनेक शाखा छन्। तीमध्ये मौसम विज्ञान शाखामा पनि महिलाहरू कार्यरत छन्। सञ्चार माध्यमहरूले पनि नेपाली महिला वैज्ञानिकको कुरालाई निकै सम्मानका साथ स्थान दिएको पाइन्छ।
विज्ञानमा महिलाको पहुँच कसरी विस्तार गर्ने ? यस प्रश्नको उत्तर खोज्ने हो भने सबैभन्दा पहिले महिलाप्रतिको सामाजिक दृष्टिकोणमा नै विचार गर्नुपर्ने हुन्छ। अहिले पनि छोरीलाई अर्काको घर जाने व्यक्ति भन्ने धारणा विद्यमान छ। यसले गर्दा बालविवाह भइरहेको छ। छोरीलाई बालविवाह र अर्काको घर जाने भन्ने कुराहरूले निकै पछाडि पारिरहेको छ। समानताको पहुँचमा महिला पुग्न अझ समाजले धेरै लामो यात्रा तय गर्न बाँकी छ। यसको अर्थ यो पनि होइन कि महिलालाई अगाडि बढाउन वा पछाडि पार्न महिलाको भूमिका छैन। जे जस्तो अवस्था र परिस्थितिमा जसलाई अगाडि बढ्नुपर्ने हुन्छ, सङ्घर्ष त उसैले गर्नुपर्छ। यदि महिलाको पहुँच विज्ञानको क्षेत्रमा बढोस् भन्ने चाहना समाजले राख्दछ भने महिला अगाडि बढ्ने कुरामा विश्वास गर्न सकिन्छ तर फेरि महिलाको पनि आफ्नो चाहना हुनुपर्दछ। जसरी सबै मानिसको रुचि, स्वभाव तथा दक्षता र क्षमता एक समान हुँदैन, त्यसरी नै सबै महिलाले चाहना राख्दैमा विज्ञानमा पहुँच भइहाल्ने हुँदैन। महिलाको पहुँच वृद्धिका लागि महिलाको सक्रियताका साथै त्यस अनुकूल प्रतिभावान महिलाले वातावरण पाउनुपर्ने र प्रतिभावान महिलामा उत्कट अभिलाषा हुनुपर्छ।
घरायसी कामलाई नै सर्वोपरि ठान्ने प्रवृत्तिविरुद्ध पनि महिलाले सङ्घर्ष गर्नुपर्ने हुन्छ। घरायसी काममा अल्झेर महिलाले आफ्नो जीवनको वास्तविकता यत्ति हो भन्ने सोच्नुहुँदैन। सबै व्यवहार सम्हालेर पनि धेरै महिला जीवनमा निकै अगाडि बढेका छन्। धेरै पुरुषको सङ्घर्षको गाथा पनि अपत्यारिलो हुन्छ। महिलाको परिश्रम र सङ्घर्षले त झन् धेरैलाई प्रेरणा दिन्छ। एकैचोटि पूरै विद्रोह गरेर अगाडि बढ्न खोज्दा सफल भइन्छ भन्ने हुँदैन। यसर्थ जुन महिलाको रुचि विज्ञानमा छ, तिनले अध्ययनको समयमा नै यही विषय रोज्नुपर्दछ। विद्यालय तहमा विज्ञानमा राम्रो गर्दै गरेका छात्रालाई विज्ञान विषय लिएर नै अगाडिको पढाइ जारी राख्ने वातावरण समाजले मिलाउन आवश्यक छ। यसैगरी यस्ता छात्राले पनि सकेसम्म विज्ञान विषयमैं राम्रो गर्न सक्छु भन्ने कुरामा अभिभावकलाई विश्वस्त बनाउनुपर्छ। कतिपय अभिभावकले आफ्ना भावना र इच्छा छोराछोरीमाथि थोपरिरहेका हुन्छन्। यदि यस्तो भएको छ भने सकेसम्म आफ्ना अभिभावकलाई बुझाउन सक्नुपर्दछ। यसै गरी भविष्यमा विज्ञानको फलानो क्षेत्रमा केही गर्ने चाहना राखेको छु भन्ने कुरा पनि अभिभावकलाई प्रसङ्ग र सन्दर्भ मिलाएर भनिरहनुपर्छ। आफ्नो रुचि रहेको विज्ञान तथा प्रविधिको क्षेत्रमा देश र दुनियाँमा भइरहेका प्रगतिका अपडेट प्रसङ्ग र सन्दर्भ मिलाएर अभिभावकलाई सुनाउनुपर्दछ र त्यस विषयमा आफ्ना तर्क पनि प्रस्तुत गर्दै जानुपर्दछ। यसले गर्दा बिस्तारै अभिभावकको रुचि बदलिन सक्छ। समाज यस्तो बन्दै गइरहेको छ कि बालबच्चाको चाहना अनुसार शिक्षा दिनुपर्छ भन्ने सोचले सार्थकता पाउँदैछ। यसमा अभिभावकको क्षमता र उसको शैक्षिक तथा पारिवारिक पृष्ठभूमिले पनि काम गरेको हुन्छ भन्ने कुरा यहाँ स्मरणीय छ।
शिक्षाप्रति समाजको दृष्टिकोण अहिले बदलिंदो अवस्थामा छ। अहिले शिक्षालयमा विद्यार्थी र शिक्षक दुवै महिला र पुरुष देख्न सकिन्छ। केही दशक पहिलेभन्दा अहिलेको दृश्य बदलिएको छ। शिक्षित परिवारले आफ्ना छोराछोरीको पढाइमा सकेसम्म विभेद गर्न खोज्दैनन्। शिक्षित परिवार वा शिक्षाको महत्व बुझेको परिवारले छोरीलाई पनि तिनको रुचि र क्षमता अनुसार शिक्षा दिन खोजिरहेका छन्। यस्तो परिस्थितिमा पढ्न चाहनेको रुचि पनि विज्ञानमा हुनु आवश्यक छ। अहिलेको समयमा छात्राले पनि आफूलाई अब्बल साबित गर्न विज्ञानका विभिन्न क्षेत्रलाई अध्ययन र भविष्यको प्रगतिको क्षेत्र बनाउनुपरेको छ।
विज्ञानमा महिलाको पहुँच कम भयो र यसलाई बढाउनु उचित हुन्छ भन्ने कुरा बुझेका व्यक्ति तथा संस्था वा निकायले पनि विज्ञानमा महिलाको पहुँच विस्तारका लागि सकारात्मक काम गर्नु परेको छ। यदि यस प्रकारको काम गर्न सकियो भने महिलाहरू अगाडि बढ्ने छन्। महिलाहरू हरेक क्षेत्रमा अगाडि बढ्न सके समाज वास्तविक अर्थमा अगाडि बढ्छ भन्ने कुरो धेरैले बुझेका छन्। अब यसलाई व्यवहारमा उतार्न सक्नेले सकारात्मक भूमिका खेल्नुपर्छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here