प्रस, परवानीपुर, २५ माघ/
भारतबाट हुने अवैध कोइला पैठारीलाई नेपाल सरकारले लगाम लगाउन सकिरहेको छैन। जसले गर्दा भारतीय व्यवसायी मालामाल भइरहेका छन् भने नेपालका व्यवसायी कङ्गाल बनिरहेका छन्।
भारतीय व्यवसायीले पश्चिमी नेपालका केही भन्सार नाकाबाट अवैध कोइला आयातलाई निरन्तरता दिएका छन्। यसले राज्यलाई बर्सेनि अर्बौं रुपैयाँ राजस्व नोक्सान भइरहेको छ भने हुन्डीमार्फत अर्बौं रुपैयाँ भारत पुगिरहेको वीरगंजका व्यवसायीहरूले बताएका छन्। वीरगंजका एकजना कोइला आयातकर्ताले भने, “भारतीय व्यवसायीले तेस्रो मुलुकबाट कोइला मगाएर सीधैं नेपालमा कोइला निर्यात गर्न सक्दैनन्, तर कमजोर भन्सार नीतिको फाइदा उठाउँदै उनीहरूले नेपालमा कोइलाको अवैध निर्यात गर्दैछन्।”
यस विषयमा वाणिज्य विभाग र भन्सार विभाग गम्भीर नभए यहाँका कोइला व्यवसायी चौपट हुने उनको विश्लषेण छ। नेपाल–भारत व्यापार सम्झौता अनुसार तेस्रो मुलुकबाट मगाएको मालसामान प्रशोधनविना नेपाली व्यवसायीले भारतमा वा भारतीय व्यवसायीले नेपालमा उक्त मालवस्तु सीधा निर्यात गर्न सक्दैनन्। तर भारतीय कोइला निर्यातकर्ताहरूले विनाप्रशोधन भारतकै कोइला भएको भनी नेपाल सरकारलाई झुक्याउँदै मासिक ४० हजार टन कोइला नेपालमा निर्यात गर्ने गरेको खुलेको छ।
भारतीय व्यवसायीले तेस्रो मुलुक इन्डोनेसिया, क्यानडा, अमेरिका तथा दक्षिण अफ्रिकाबाट गुजरातको कान्डालालगायत विभिन्न बन्दरगाहमा जहाजबाट कोइला मगाउँछन्। त्यसपछि नेपाली व्यवसायीको अर्डरमा भारतीय ट्रकमा लोड गरी नेपालको पश्चिमी भन्सार नाकाहरू महेशपुरी–ठुटीबारी, सुनौली–भैरहवा, बर्नी–कृष्णनगर, रूपेडिया–नेपालगंजबाट नेपालमा निर्यात गर्दै आएको वीरगंजका कोइला आयातकर्ताहरूको दाबी छ। नेपालमा बर्सेनि ३६ अर्ब मूल्यबराबरको २९ लाख टन कोइला आयात हुने गरेकोमा अवैधरूपमा बर्सेनि करीब ४ लाख ८० टन कोइला भित्रिने गरेको उनको विश्लेषण छ।
यसरी वर्षमा करीब ३ अर्ब ६० करोड रुपैयाँ राज्यको भन्सार राजस्व गुमिरहेको छ। भारतीय निर्यातकर्ताले कोइला आयात बन्द गर्दा उक्त व्यापारमा नेपाली आयातकर्ता सक्रिय हुनेछन्। जसमा नेपाललाई त्यति रकम भन्सार नाकाबाटै राजस्वमा मुनाफा हुन सक्छ भने १७ अर्ब २० करोड रुपैयाँ अवैध कोइलाबापत नेपाली आयातकर्ताहरूले भारतीय व्यवसायीलाई हुन्डीमार्फतबाट पठाउनुपर्ने स्थिति छ।
भारतीय व्यवसायीले कोइलाको दाम अन्तर्राष्ट्रिय बजारभन्दा सस्तोमा बिलिङ गरेर पठाउँदा भन्सारमा राजस्व पनि कम लाग्छ भने बिलिङ माथिको पैसा हुन्डीमार्फत पठाउँदा विदेशी मुद्राको अवैध कारोबार पनि बढेको छ। साथै, नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट कोलकाताको हल्दिया बन्दरगाह हुँदै रेलबाट रक्सौल मगाउँदा त्यहाँबाट नेपाली ढुवानीकर्ताले ढुवानी गर्दा नेपालमा रोजगार सृजना भई दोहोरो कर पनि उठ्छ भने भारतीय व्यवसायीले भारतीय ट्रकबाट नेपालमा कोइला पठाउँदा स्वदेशी ढुवानी व्यवसायीलाई मर्का परेको छ।
राजस्व छल्न नेपाली खरीदकर्ताले भारतीय व्यवसायीसँग कोइला किन्ने गरेको व्यवसायीहरूले खुलासा गरे। खासगरी नेपालका सिमेन्ट उद्योग, इँटाभट्टा उद्योग र स्टील उद्योगमा कोइलाको बढी खपत हुन्छ। नेपालमा करीब ३० जना विदेशी कोइलाका आयातकर्ता छन्। नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट कोइला आयात गरी नेपाली खरीदकर्तालाई बेच्दा किलोमा साढे १७ रुपैयाँ पर्छ भने भारतीय विक्रेताबाट किन्दा किलोमा ५–७ रुपैयाँ सस्तो पर्ने लोभमा कोइला खरीदकर्ताले भारतीय व्यवसायीसँग कोइला खरीद गरिरहेका छन्। जसको कारण कोइलाको मूल्य बिलमा कम देखाएर कम राजस्व तिर्छन् भने बाँकी पैसा हुन्डीबाट गइरहेको व्यवसायीको भनाइ छ।