प्रस, परवानीपुर, २५ माघ/
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले साढे ६ महीनामा रु १ अर्ब ९३ करोड ४२ लाख ४२ हजार महसूल सङ्कलन गरेको छ।
चालू आवको गत साउनदेखि माघ १८ गतेसम्मको तथ्याङ्क अनुसार वितरण केन्द्रले यो महसूल उठाएको हो।
कोरोना महामारीको कारण साउन, भदौमा केही प्रतिशत कम महसूल उठे तापनि असोजदेखि बिजुली महसूल सङ्कलन बढ्दै गएको र मासिक औसतरूपमा २५ देखि ३० करोड रुपैयाँको हाराहारीमा महसूल सङ्कलन भइरहेको केन्द्र प्रमुख शम्भुराय कुसियतले बताए। उनका अनुसार गत साउनमा रु २१ करोड ७३ लाख ५२ हजार, भदौमा रु २४ करोड ९४ लाख ३१ हजार, असोजमा रु ३५ करोड ४१ लाख ६९ हजार, कात्तिकमा रु २९ करोड ११ लाख २८ हजार, मङ्सिरमा रु २५ करोड ६७ लाख ९६ हजार, पुसमा रु ३२ करोड ९४ लाख ९१ हजार र माघको १६ दिनमा गरी कुल रु १ अर्ब ९३ करोड ४२ लाख ३२ हजार महसूल सङ्कलन भएको उनले जानकारी गराए।
अहिलेसम्मको तथ्याङ्क हेर्दा मासिकरूपमा पाएको लक्ष्य र बिक्री भएको कुल युनिटको ४ प्रतिशत बिजुली महसूल सङ्कलन नहुने गरेको देखिएको छ। गत पुस मसान्तसम्म १ अर्ब ७० करोड २२ लाख ७४ हजार २२५ रुपैयाँबराबरको १ अर्ब ६७ करोड ४७ लाख ४ हजार १९५ युनिट बिजुली बेचिएकोमा जम्मा ९५.७८ प्रतिशत अर्थात् १ अर्ब ६९ करोड ७३ लाख ६९ हजार ८१४ युनिटबराबर महसूल सङ्कलन भएको थियो।
जबकि गत आव २०७६/०७७ को १२ महीनामा रु ३ अर्ब २५ करोड २३ लाख ७९ हजार महसूल सङ्कलन भएको थियो भने गत आव माघ १८ गतेसम्म रु २ अर्ब ७ करोड ३२ लाख २३ हजार महसूल सङ्कलन भएको थियो। मासिक हिसाबले हेर्ने हो भने गत आवको पुस मसान्तसम्म रु १ अर्ब ५६ करोड ८ लाख ३९ हजार महसूल सङ्कलन भएको थियो।
गत आवको तुलनामा यस आवको पछिल्लो साढे ६ महीनामा करीब १४ करोड रुपैयाँ कम महसूल उठेको देखिएको छ। कोरोना महामारीमा विद्युत् खपत कम, महसूल नबुझाउनेको लाइन नकाटिनु, लकडाउन अवधि चैतदेखि असारसम्म सरकारले उपभोक्तालाई महसूलमा छुट दिनु, उद्योग, कलकारखाना, बजार, पसल, व्यवसाय पूर्णरूपमा नखुल्दा ग्राहकले पूर्ण बिल नतिरेकाले लक्ष्य अनुसारको महसूल सङ्कलन हुन नसकेको वितरण केन्द्र वीरगंजकी सहलेखापाल सुजिता अर्यालले बताइन्।
उनका अनुसार लकडाउनमा १५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशत र २५० युनिटसम्म न्यूनतम विद्युत् खपत गर्ने ग्राहकलाई १५ प्रतिशत महसूल सरकारले छुट दिएको थियो। अर्कोतिर कोरोनाकालमा उद्योग, कलकारखाना पूर्णरूपमा नचल्दा विद्युत् खपतमा कमी आउँदा महसूल पनि प्रभावित भएको थियो।
वीरगंज वितरण केन्द्रको सेवा क्षेत्रमा वीरगंज महानगरका ३२ वटा वडा र बाराको प्रसौनी गाउँपालिका पर्दछ। जस अन्तर्गत ४८ हजार ७९५ ग्राहकले सेवा लिइरहेका छन्। जसमध्ये टिओडी मिटर लिएका अर्थात् ठूला ग्राहक (औद्योगिक)को सङ्ख्या ६८८ छ।
घरेलु फिडरमा केन्द्रले प्रतियुनिट रु ३ देखि १२ सम्म लिने गर्छ भने औद्योगिक प्रयोजनको लागि खपत हुने बिजुलीमा बिहान, दिउँसो र रातिको फरक–फरक समय अनुसार प्रतियुनिट रु ४ देखि १५ सम्म लिने गरेको छ।
वितरण केन्द्र वीरगंजमा प्रतिदिन ६ वटा काउन्टरमा ८ सयदेखि १ हजार ग्राहकले महसूल बुझाउँछन् भने विद्युतीय माध्यम ईसेवा, खल्ती, पेप्वाइन्टलगायत एप्सबाट दैनिक करीब ४ सय ग्राहकले महसूल बुझाउने गर्छन्।
विद्युतीय माध्यमबाट एकजना ग्राहकले दैनिक रु १ लाखसम्म मात्र बिजुलीको बिल भुक्तानी गर्न पाउने नियम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here