प्रस, महोत्तरी, २३ माघ/
कोभिड–१९ महामारीविरुद्धको खोप लगाउने साप्ताहिक लक्ष्य महोत्तरी जिल्लामा करीब पूरा भएको छ। माघ १४ गते जिल्लामा खोप अभियान शुरू भएको हो।
खोप अभियानमा बिहीवारसम्म दुर्ई हजार २११ जनाले खोप लगाएका छन्। पहिलो चरणमा जिल्लालाई प्राप्त २४३ भाइल यो खोप दुर्ई हजार २३० जनालाई लगाइने साप्ताहिक लक्ष्य रहेको थियो।
अभियानको क्रममा महोत्तरी कारागारका ४६० कैदीबन्दीलाई यो खोप दिइएको छ। प्रथम चरणमा यो खोप चिकित्सक/स्वास्थ्यकर्मी, एम्बुलेन्स साथै  शववाहनका चालक, सरसफाइकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई लगाइने प्राथमिकता निर्धारण थियो। खोप लिनेको सङ्ख्या अपेक्षा गरेभन्दा सुस्त भएकोले कारागारमा समेत खोप दिइएको अभियानका सहभागीहरूले बताएका छन्। “हामीले अभियानको पहिलो तीन दिन जलेश्वर अस्पतालबाट खोप अभियानको सेवा दियौं, त्यसपछि बर्दिवास अस्पतालबाट पनि खोप दिन थालिएको छ,” स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्तिसमेत रहेका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए। खोपबारे सामाजिक सञ्जालमा फिजाइएका भ्रमले गर्दा उत्साहपूर्ण सहभागिता नभएको निरीक्षक झाको ठम्याइ छ। “खोप एक दिनमा ५०० जनालाई लगाउन सकिन्थ्यो, यो गति कायम रहँदा हामीलाई प्राप्त २४३ भाइल बढीमा पाँच दिनभित्र सकिनुपथ्र्याे,” झाले भने, “तर एक साता बित्दासम्म बल्ल हामी लक्ष्यको नजीक पुग्न सक्यौं।” एउटा भाइलबाट १० जनालाई खोप दिन सकिने स्पष्ट पार्दै झाले कारागारका कैदीबन्दीले भने खोपमा उत्साहपूर्ण सहभागिता जनाएको बताए।
फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरू गरिएको खोप लिन स्वास्थ्यकर्मी नै आनाकानी गरिरहेका बुझिएको छ। खोपबारे  सामाजिक सञ्जालमा विभिन्न भ्रम फैलिएपछि खोप लगाउनेको सङ्ख्या घटेको स्वास्थ्यकर्मीहरूले बताए। खोप लिंदा कसैकसैलाई टाउको दुख्ने, हल्का ज्वरो आउने लक्षण देखिए पनि यो स्वतः ठीक हुँदै जाने जनस्वास्थ्य निरीक्षक झा बताउँछन्। तर महोत्तरीमा भने यस्तो लक्षणबारे हालसम्म कतैबाट पनि गुनासो नआएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
कोभिशिल्ड खोप खास अवसर भएकोले यो सेवा लिन उत्साहपूर्ण सहभागिता जनाउन कार्यालयले अपील गरेको छ। प्रथम चरणमा प्राप्त खोप भाइल सकिनै लागे पनि छिमेक जिल्ला र प्रदेश स्वास्थ्य निर्देशनालयबाट आवश्यक मात्रा तत्काल उपलब्ध हुने अवस्था रहेको कार्यालयले जानकारी दिएको छ।
जलेश्वर अस्पतालबाट प्रारम्भ गरिएको कोभिशिल्ड खोप सेवा बर्दिवास अस्पतालबाट पनि दिइँदैछ। यो सेवा क्रमशः जिल्लाका अन्य अस्पतालमा विस्तार गरिने कार्यालयले जनाएको छ। पहिलोपटक खोप लिएकाहरूले चार सातापछि अर्काे खोप लिनेछन्। थप खोप प्राप्त हुँदै गएपछि क्रमशः जनस्तरमा यो सेवा प्राथमिकता निर्धारण गरेरै विस्तार गरिंदै जाने योजना छ।
कारागारका कैदीबन्दीले अभियानको प्रारम्भिक चरणमैं खोप लिन पाएपछि खुशी व्यक्त गरेका छन्। खोप लिएको तीन दिन बितिसक्दा पनि कुनै अस्वाभाविक वा नकारात्मक लक्षण केही महसूस नगरिएको कैदीबन्दीहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here