प्रस, वीरगंज, २२ माघ/
वीरगंज महानगरपालिकामा फूटबल प्रतियोगिताको आयोजना शून्यमा झरे पनि पर्साका अन्य पालिकाहरूमा फूटबल प्रतियोगिताको आयोजना बढ्दो छ।
मनपाको आदर्शनगर खेलमैदान र नारायणी रङ्गशालामा हुने गरेको महेन्द्र गोल्डकप, शहीद तेजबहादुर अमात्य गोल्डकप फूटबल प्रतियोगिता अहिले बन्द अवस्थामा छन्। नियमितजसो सञ्चालनमा रहेको विशाल मेमोरियल गोल्डकप पनि गत वर्ष कोरोनाको कारण बन्द रह्यो भने यस वर्ष पनि सञ्चालनको तयारी छैन। तर महानगरमा आयोजना कम भएको फूटबल प्रतियोगिता पर्सा जिल्लाका ग्रामीण क्षेत्र खासगरी थरुहट क्षेत्रमा बढ्दो छ।
पर्सा जिल्लाको जीराभवानी गापामा प्रत्येक चार वर्षमा स्थानीय एभरेस्ट युवा क्लबले आयोजना गर्ने परसवा गोल्डकप जिल्लामा मात्र नभएर देशमैं चर्चित छ। गापामा सञ्चालित यो फूटबल प्रतियोगितामा विदेशी खेलाडीहरूको पनि सहभागिता हुने गरेको र ठूलो धनराशिमा प्रतियोगिता सम्पन्न हुने हुँदा यसको चर्चा देशभरि हुन थालेको हो। अहिले पर्सा जिल्लाको पटेर्वासुगौलीमा पटेर्वासुगौली गोल्डकप सञ्चालनमा छ। यो प्रतियोगितामा पनि चितवन, सर्लाहीसम्मका फूटबल खेलाडीहरू सहभागी छन्।
वसन्तपुर युनाइटेड चितवनले दुईजना विदेशी खेलाडीलाई उतारेको छ। अहिले यो टीम प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ। प्रतियोगिता हेर्न वीरगंज महानगर आसपासका गापा, बारा जिल्ला र छिमेकी बिहारसम्मका मानिसहरू आउने गरेकाले पटेर्वासुगौलीको निचुटा खेलमैदानमा परसवा गोल्डकपजस्तै दर्शकहरूको भीड बढेको छ।
यसैगरी, पर्सागढी नगरपालिकामा पनि दुईवटा गोल्डकप हुँदै आएको छ। आमोदेवी युवा स्पोट्र्स क्लबले आयोजना गर्ने पर्सागढी गोल्डकप फागुन १ गतेदेखि सञ्चालन हुँदैछ। यसैगरी, पर्सागढीमा जनजागृति युवा क्लबले पनि फूटबल प्रतियोगिताको आयोजना गर्दैछ। पर्सा जिल्लाको थरुहट क्ष्Fेत्रमा फूटबलको रौनक बढी छ भने बजियान क्षेत्रमा क्रिकेट प्रतियोगिताले प्राथमिकता पाएको छ। वीरगंज महानगरमा पनि क्रिकेट प्रतियोगिता भने निरन्तररूपमा हुँदै आएको छ।
बजियानमा कालिकामाई गापा–३ का वडाध्यक्ष सञ्जय पटेलले फूटबल प्रतियोगिताको आयोजना गराउँदै आएका छन्। पोखरिया नगरपालिकाले क्रिकेट प्रतियोगितालाई निरन्तरता दिंदै आएको छ। वडाध्यक्ष्F सियानन्द चौहानको पहलमा पोखरियामा क्रिकेट प्रतियोगिता निरन्तररूपमा हुँदै आएको छ भने धोबिनीमा पनि क्रिकेट प्रतियोगिता हुँदै आएको छ। ठोरी गापामा फूटबल प्रतियोगिता भएपनि ठूलो लगानीमा नियमितरूपमा हुने गरेको छैन।