प्रस, रौतहट, २१ माघ/
रौतहट जिल्लाको नेपाल–भारत सीमानाकाबाट बुधवारदेखि पैदल आवागमन शुरू भएको छ।
विगत १० महीनादेखि बन्द रहेको सो नाकाबाट आजदेखि आवागमन शुरू भएको हो। भारतबाट सवारीसाधन आउन दिए पनि नेपालबाट सवारीसाधन जान दिइएको छैन।
कात्तिक ६ गते भारतीय पक्षले सीमानाका खुला गरे पनि नेपाल सरकारले सीमानाका खुला नगर्दा आवागमन बन्द रहेको थियो। त्यस अवधिमा नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको कारण सीमानाकाको मूल बाटोबाट आवागमन नभए पनि महादेवपट्टि, बन्जरहा, औरैया, ब्रह्मपुरीलगायतका नाकाबाट आवागमन भइरहेको थियो।
कोरोना भाइरसका कारण आठ महीनापछि मङ्सिर ११ गतेदेखि गौर–बैरगनिया नाका नेपाल सरकारले खुला गरेपछि भारतीय पक्षले त्यसपछि बन्द गरेको थियो। नागरिक समाज रौतहटको अगुवाइमा निरन्तर नेपाल–भारत नाका खुलाउन नाकामा धर्ना दिंदै आएको कारण मङ्सिर ११ गतेदेखि नेपाल–भारत नाका नेपालतर्फबाट खुला भएको थियो। नेपालतर्फबाट नाका खुला भएपनि भारतीय सुरक्षाकर्मीद्वारा रोक लगाइएको थियो। नेपालतर्फबाट नाका खुला भएपछि धर्नामा बसेकाहरूले खुशियाली मनाउँदै नारा जुलुस गरेका थिए।