पहिलो चरणको खोप ७१ प्रतिशतलाई दिइयो

0

प्रस, वीरगंज, १८ माघ/
पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत पर्सा जिल्लामा मङ्गलवारसम्म ३ हजार ८ सय ६४ जनालाई खोप लगाइसकिएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले बताए।
माघ १४ गतेदेखि नारायणी अस्पतालबाट शुरू भएको कोरोनाविरुद्धको पहिलो चरणको खोप अहिले पोखरिया जिल्ला अस्पताल र नेशनल मेडिकल कलेजबाट पनि दिइँदै छ।
पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, वारुणयन्त्र, एम्बुलेन्स चालकका साथै वीरगंज कारागारका १ हजार २ सय ५० जना कैदीबन्दीलाई पनि खोप लगाइएको छ। कारागारका सबै कैदीबन्दीलाई खोप लगाइसकिएको प्रमुख चौरसियाले बताए।
यसैगरी, वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई पनि खोप दिने तयारी भइरहेको उनले जानकारी गराए। पहिलो चरणको खोप अभियान माघ २३ गते सम्पन्न हुँदैछ। पर्सा जिल्लामा ५ हजार खोपको मात्रा आएको र अहिलेसम्म ३ हजार ८ सय ६४ जनालाई खोपको पहिलो मात्रा दिइसकिएको प्रमुख चौरसियाले बताए। बुधवार करीब ५ सयजनालाई खोप दिइने उनले जानकारी गराए। अहिलेसम्म खोप लिएकाहरूको अवस्था सामान्य रहेको बताए। एकाधजनालाई शरीर दुख्ने, ज्वरो आउने समस्या देखिएको र दुई दिनपछि सामान्य भएको उनले बताए। यसअघि पनि अन्य खोप लिने क्रममा यस प्रकारका लक्षणहरू देखा पर्ने गरेको थियो। कोरोनाविरुद्धको खोप लिएकाहरूमा अहिलेसम्म कुनै पनि प्रकारको नकारात्मक असर नदेखिएको उनले प्रस्ट्याए। तोकिएको अवधिमा ५ हजार मानिसलाई पहिलो चरणको खोप दिने लक्ष्य पर्सा जिल्लामा पूरा हुने उनले बताए।
नारायणी अस्पतालबाट मात्रै खोप दिंदा सुस्त गति देखिएपछि तीन ठाउँबाट खोप दिन शुरू गरिएको हो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here