प्रस, पर्सागढी, १० पुस/
पर्सागढी नगरपालिका–५ मा सामुदायिक विकास कार्यक्रम अन्तर्गत प्रसूतिगृह तथा सरस्वती मन्दिरको शुक्रवार उद्घाटन भएको छ ।
प्रदेशसभा सदस्य भीमा यादवको संसदीय विकास कोषबाट सामुदायिक विकास कार्यक्रम अन्तर्गत रू ३२ लाखको लागतमा निर्माण भएको प्रसूतिगृह तथा नेरा आधारभूत विद्यालय बहुअर्वासिरामा निर्मित सरस्वती मन्दिरको निवर्तमान सांसद प्रदीप यादव एवं प्रदेशसभा सदस्य भीमा यादवले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।
सो अवसरमा निवर्तमान सांसद यादवले वडाध्यक्ष असलम आलमको सहयोगमा २७ जना छात्रालाई साइकल वितरण गर्नुका साथै स्वयंसेविकाहरूलाई छाता, मोबाइल, टर्च वितरण गरेका थिए ।
निवर्तमान सांसद यादवले छात्राहरूलाई साइकल नपुगेको खण्डमा आफूले सहयोग गर्ने र विद्यालयलाई कक्ष्ाँ १२ सम्म सञ्चालनमा ल्याउन प्रयास गर्ने बताए । उनले सो वडाको विकासको लागि आफूबाट हुने सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गरे ।
प्रदेशसभा सदस्य भीमा यादवले वडाका गरीब, असहाय महिलाहरूलाई कुनै पनि रोगको समस्या भए आफूले उपचारमा सहयोग गर्ने बताइन् । उनले त्यस्ता महिलाहरूका बारेमा सूचना पाएको खण्डमा आफूले सहयोग गर्ने बताइन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य करीमा बेगम, जसपा पर्साका अध्यक्ष रामनरेश यादवलगायतको सहभागिता थियो । कार्यक्रममा विद्यालयका प्रअ रामाशिष यादवले स्वागत गरेका थिए ।