राजेश मिश्र

“लइका देखे जातानी लोगन का हो काका ?” गाउँका एक अधवैंसे पुरुषले यात्रामा निस्किरहेका पडोसिया (छिमेकी)सँग प्रश्न गरे। पडोसियाको उत्तर थियो, “पिछला साल सब तय हो गइल रहे, लकडाउन के कारण पिछला साल बियाह ना हो सकल, जातानीसन एही महीना में दिन उतारे, कहियाले बेटीके बियाह टारल जाँव ? जेतरे होई कइल जाई।” गाउँदेहातका बुजुर्गहरूको मान्यता अनुसार विवाह तय भइसकेपछि बढी समयसम्म रोक्नुहुँदैन। विवाह नभएसम्म दुवै परिवारको एकापसमा अन्तरङ्ग घुलमिल भएको हुँदैन। एकअर्काको पारिवारिक दुःख–सुख पनि बुझेका हुँदैनन्। वैवाहिक प्रक्रिया टुङ्ग्याइसकेपछि धेरै ढिलो भयो भने विभिन्न प्रकृतिका बाधा–व्यवधान उत्पन्न हुन सक्ने सम्भावना हुन्छ। त्यसैले पुरनियाहरू भन्छन्, “विवाह गर्नेबारे टुङ्गो लागिसकेपछि ढिलो गर्नुहुँदैन।”

मधेसमा केटाकेटी ‘देखसुन’को प्रक्रियादेखि लिएर ‘दिन उतार्ने’ काम दीपावलीको तेस्रो दिन मनाइने गोवर्धन पूजा अर्थात् बजडी/भाइटीकाको दिनदेखि प्रारम्भ हुन्छ। यद्यपि वर्तमान समयमा विगतको लोकमान्यता समयको गतिसँगै परिवर्तनशील पनि हुँदै गएको देखिन्छ। पहिले ‘बजडी’को दिनदेखि विवाहको लागि कुरा अघि बढाउने वा पहिलेदेखि कुरा भइसकेकाहरूले पुरोहितसँग वैवाहिक लगन अनुसार विवाहको लागि ‘दिन उतार्ने’ अर्थात् दिन निश्चित गर्ने परम्परा अब ‘दिन उतार्ने’ काममा मात्र सीमित भइसकेको छ। केटाकेटी ‘देखसुन’ गर्ने प्रक्रिया अचेल वर्षैभरि भइरहेको छ। समयको गतिसँगै पारम्परिक संस्कृति आधुनिकतासहित परिस्थितिजन्य अवस्थामा परिवर्तनशील पनि भइरहेको छ। कोरोनाकालमा समेत परम्परागत लोकमान्यता र संस्कृतिको मूल स्वरूपमा परिवर्तन देखा पर्नु आधुनिकताको प्रकोप नै भन्नुपर्छ।

कोरोनाको सङ्क्रमणकालीन परिस्थितिको कारण वर–वधू मात्र होइनन्, दुवै पक्षका परिवार पनि चिन्तित छन्, जसको बिहेवारी सीमा वारि र पारि हुने निश्चित भइसकेको छ।

वीरगंजका नीरज मिश्र र भारतीय राज्य उडिसाकी मीनाक्षी पाढीको अँगुठी कार्यक्रम गत वर्षको माघ महीनामा वाराणसीमा सम्पन्न भएको थियो। दुवै पक्षले मङ्सिर महीनामा विवाह गर्ने पक्का गरेका थिए। ढुक्क थिए। नीरजका बुबा जयकुमार मिश्रले भने, “जन्ती भारतीय राज्य उडिसाको भुवनेश्वर लैजानुपर्ने परिस्थिति छ। दिसम्बर महीनाको लागि रक्सौलदेखि कोलकातासम्म अग्रिम बुकिङ भइरहेको छैन। दुवैतर्फका सरकारहरूले वैवाहिक सम्बन्धलाई मध्यनजर गरी नागरिकको समस्या हल गर्नुपर्छ।” सरकारको निगाहमा कोरोनाको स्थिति मात्र बुझेर हुने होइन, आमजनको वैवाहिक परिस्थितिलाई समेत मध्यनजर गर्नुपर्ने खाँचो छ। यसप्रति सरकारको ध्यानाकर्षण हुनु नितान्त आवश्यक छ।

पकहामैनपुर गापाका एक युवकको विवाह वैशाखको लगनमा गर्ने भनेर गत वर्ष कात्तिकमा तय भएको थियो। जन्ती सीमापारि बिहार राज्यको बेतिया लैजानुपर्नेछ। नेपालतर्फबाट सीमानाका नखुलेकोले वर–वधू दुवै पक्ष समस्यामा छन्। लकडाउनको कारण सीमा वारि र पारिका विवाह अन्योलमा छ। सीमानाका कहिलेसम्म बन्द रहने हो भन्ने विषयले पनि सीमा वारि र पारिका विवाह प्रभावित भइरहेका छन्। टुङ्गो लागिसकेका कतिपय विवाह सीमानाका खुल्ने नखुल्ने अनिश्चितताको कारण भङ्ग भइसकेका छन् भने कतिपय भङ्ग हुने अवस्थामा रहेका कैयौं उदाहरण गाउँदेहातमा भेटिन्छन्। गाउँदेहातका मानिसहरूसँग बुझ्दा कतिपय बेहुला–बेहुली सीमानाका खुल्ने आसमा सन्तोष गरिरहेका पनि पाइन्छन्।

चालू वर्षको वैशाखदेखि मङ्सिरसम्मको लगनमा कैयौं परिवार विवाहको टुङ्गो गरिसकेका थिए। चैत ११ गतेदेखि लकडाउन भयो र लामो समयसम्म लकडाउन रहिरह्यो। वैशाखदेखि असारको लगनमा सम्पन्न हुन नसकेको विवाहको भार पनि मङ्सिरको लगनमा परेको देखिन्छ। लकडाउनको अवधिमा प्रभावित भएको स्वदेशी विवाह मङ्सिर महीनाको लगनमा धमाधम भइरहेका भएपनि ती स्थानीयस्तरमा मात्र सीमित छन्। धर्म, संस्कृति, रीतिरिवाजलगायतका विषयहरू सीमा वारि र पारि मिल्ने भएकाले वैवाहिक लगनगाँठो दुवैतर्फ हुने गर्दछ। सीमानाका बन्द हुनाले सीमा वारि र पारिका विवाह प्रभावित छन्। सीमानाका बन्द भएकोले सामान्यजन पीडा खेपिरहेका छन्। नेपालतर्फबाट पनि सीमानाका खोल्नुपर्छ भन्दै वीरगंज भन्सारमा धर्ना कार्यक्रम पनि चलिरहेको छ।

भारतले सीमानाका खुल्ला गरिसकेको छ। नेपाल सरकारले सीमानाका बन्द रहनेबारे पटक–पटक गरेको निर्णय पछिल्लो समय मङ्सिर मसान्तसम्म कायम रहने जनाएको छ। यो प्रक्रिया कहिलेसम्म जारी रहने हो भन्नेबारे अनिश्चित प्रायः छ। सरकारतर्फबाट सीमानाका बन्द रहेको जनाइए पनि दुई पाङ्ग्रे सवारी र पैदल यात्रुको ओहोरदोहोर सुचारु छ र वैवाहिकलगायतका परिस्थितिमा सामान्यजनको आवागमनमा सरकारको लचकता सबैतिर प्रशंसनीय रहे पनि वैवाहिक स्थितिसमेतलाई सुचारु गर्नु सरकारको दायित्व हो र नागरिकको समस्याप्रति विचार गर्नुपर्छ। वीरगंज भन्सारदेखि शङ्कराचार्य द्वारसम्म निजी सवारी चल्न दिइएको छैन। वैवाहिकलगायतका अवस्थालाई मध्यनजर गरी सरकारको ध्यानाकर्षण गर्नको निम्ति केही राजनीतिक दल तथा आमजनहरू सम्मिलित सरोकारवाला पक्ष सीमानाका खोल्नुपर्छ भन्दै वीरगंज सीमानाकामा धर्ना कार्यक्रमसमेत चलाइरहेका छन्।

खचाखच भीडयुक्त अवस्थामा बजार खुलिरहेको छ। दशहरा, दीपावली र छठ पर्वको अवसरमा जमघटपूर्ण राजनीतिक कार्यक्रमहरू मनग्य भए। गत असोज र कात्तिक महीनामा भीडभाडयुक्त पार्टी प्रवेश कार्यक्रमहरू सामाजिक सञ्जालमा मात्र होइन, सञ्चारमाध्यममा पनि प्रशस्त पढ्न र सुन्न पाइयो। विद्यालयबाहेक सरकारी कार्यालय, निजी कार्यालय र उद्योगधन्दा आदि कोरोनाको सतर्कतासम्बन्धी सूचना जारी गरी सञ्चालनमा छन्। कागजी औपचारिकता पूरा गर्नेबाहेकको सतर्कता कहींकतै देखिंदैन। जिल्लास्थित सरकारका अङ्गहरू औपचारिकता निर्वाहसम्बन्धी कार्यमा चुस्त रहेको भुइँतहसमेतले बुझिरहेका छन्। तर जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष वैवाहिक प्रक्रियाको विषयमा सिंहदरबार र दिल्ली दरबारले बुझिरहे पनि आमजनको सहजताको लागि कमसेकम वैवाहिक लगनसम्म सीमानाका सुचारु गर्नुपर्छ।

भेषभूषा, भाषा, संस्कृतिलगायतका समानताका कारण वैवाहिक लगन शुरू भएपछि सीमाञ्चल क्षेत्रका वारि र पारिबाट जन्तीको आवागमन तीव्र हुन्छ। सीमा वारि र पारि प्रत्येक वर्ष असीमित सङ्ख्यामा बिहेवारी हुन्छ। ऐतिहासिक, सामाजिक, धार्मिक र सांस्कृतिकलगायतका सम्बन्धले नेपाल–भारत सम्बन्धलाई बेटीरोटीको सम्बन्धको रूपमा व्याख्या गरिन्छ।

कोरोेनाकालको सतर्कता अपनाएर दुलहासँग दुई/चार जना बाराती मोटरसाइकलमा गएर मोटरसाइकलमा दुलही ल्याउने काम पनि भएका प्रशस्त उदारहण छन्। तर यो स्थानीयस्तरमा मात्र सुहाउँदो छ। सीमापारि विवाह गर्नको लागि समेत कोरोनाको सतर्कता अपनाएर वैवाहिक कार्यक्रम गर्न सरकारतर्फबाट अवस्था खुकुलो गर्नुपर्ने भुइँतहको आवाज सबैले सुन्नुपर्छ। कोरोनाको कहरले विनाश मात्र ल्याएको छैन, यद्यपि मानवजीवनको लागि सकारात्मक सन्देशसमेत प्रदान गरेको छ। विवाहमा अत्यधिक खर्च गर्ने परिपाटीलाई कोरोनाले निरुत्साहित गरेको कुरालाई सकारात्मक लिनुपर्छ। कोरोनाकालले मानिसलाई धेरै प्रकारका सकारात्मक पक्ष पनि सिकाएको छ, जसको निरन्तरता हुनुपर्छ। जनमानसले कोरोनाकालको सकारात्मक पक्षलाई अनुसरण गर्नुपर्छ। जस्तै आर्थिक बचत गर्ने, थोरैमा आत्मसन्तुष्टि गर्नेलगायतका धेरै सकारात्मक पक्ष छन्। आमजनको मनसायप्रति सरकारको ध्यानाकर्षण हुनु नितान्त आवश्यक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here