प्रस, पोखरिया, ३ मङ्सिर/
मुख्यमन्त्री लालबाबू राउत गद्दीले पर्सा जिल्लाको विकास गर्ने आफ्नो इच्छा भएपनि सङ्घ सरकारको असहयोगको कारण असहज भएको आरोप लगाएका छन्।
जनता समाजवादी पार्टी, पोखरिया नगरपालिकाले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले सङ्घ सरकारले प्रदेश २ सरकारलाई सहयोग नगरेको बताए। उनले प्रदेशको विकासमा सङ्घ सरकार बाधक बनेको आरोप लगाए। मुख्यमन्त्री गद्दीले पोखरियाको स्याटेलाइट शहरको रूपमा विकास गर्ने आश्वासन दिए। उनले पोखरिया अस्पतालसँग आफ्नो पनि आत्मीयता भएकोले अस्पतालको विकासमा प्रदेश सरकारको भरपूर सहयोग गर्ने बताए।
पोखरिया नपाकी उपप्रमुख सलमा खातुनको अध्यक्षतामा सम्पन्न छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, मन्जुर अन्सारी, नगरप्रमुख दीपनारायण रौनियार, पकाहामैनपुर गापा प्रमुख विजय चौरसिया, जसपाका नेताहरू निजामुद्दीन समानी, रामनरेश यादव, शिव पटेल, तबरेज अहमद, वडाध्यक्ष लक्ष्मणसाह कानू, युएनडिपीका प्रतिनिधि दीपु झालगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा नगरअध्यक्ष राजु साहले स्वागत र उमेश पटेलले सहजीकरण गरेका थिए।
सोही अवसरमा मुख्यमन्त्री गद्दीले युएनडिपीको सहयोगमा पोखरिया नगरपालिकालाई रु ३७ लाख बराबरको सहयोगमा १ थान भेन्टिलेटर र १ थान अक्सिजन कन्सलटेटर हस्तान्तरण गरेका थिए। अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण साह कानू र मेसु अनिल यादवलाई मुख्यमन्त्रीले सो उपकरण हस्तान्तरण गरेका हुन्।