प्रस, महोत्तरी, १८ कात्तिक/
बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्षको लागि कारागार चलान भएका छन्।
सोमवार साँझ महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुड्ढो आदेशले यादवलाई पुर्पक्षको लागि थुनामा राख्न कारागार पठाइएको हो।
भङ्गाहा–९ कै बासिन्दासमेत रहेका वडासचिव यादव सोही स्थानकी एक महिलालाई बलात्कार गरेको आरोपमा बितेको असोज १४ गते पक्राउ परेका हुन्।
सोही दिन मदिराले मातेका यादव घर जाँदै गर्दा बाटोमा एक्लै भेटिएकी महिलालाई जबरजस्ती गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको जबरजस्ती करणी मुद्दाको सुनवाइमा अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको हुँदा सो आदेशबमोजिम यादवलाई सोमवार साँझ महोत्तरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।