निजगढ भ्यू टावर पहिरोको जोखिममाशहीद पार्कले विकासको गति लिन सकेन

जीतलाल श्रेष्ठ, निजगढ, ३ कात्तिक/
    निजगढ नगरपालिका–४ बागदेवस्थित निजगढ भ्यू टावर पहिरोको उच्च जोखिममा परेको छ। वर्षायामको अन्तिम समयमा परेको अविरल वर्षाको पानीले सहज निकास नपाएपछि भ्यू टावर पहिरोको चपेटामा परेको हो।
    नगर विकास कोषको करीब ५६ लाख रुपैयाँको लगानीमा निजगढ भ्यू टावरको निर्माण सम्पन्न भएको हो। चुरे पहाडमा निर्माण गरिएको भ्यू टावरको संरक्षणका लागि लगाइएको पूर्व–दक्षिणतर्फको ढुङ्गाको पर्खाल पहिरोले लडाएपछि अहिले उच्च जोखिममा छ। पहिरोका कारण माटो भासिएर टावरको माथिल्लो तथा तल्लो जमीनमा चिरा परेको छ। पहिरोले भ्यू टावरसम्म जाने सडकसमेत कतै साँघुरो पारिदिएको छ भने कतै पुरेको अवस्था छ।
    टावर आसपासमा पर्ने आकाशे पानीको सहज निकास निकाल्नका लागि नाला बनाउन चासो नदिंदा प्रत्येक वर्षामा त्यहाँ जाने बाटो बिग्रिने गरेको स्थानीयहरू बताउँछन्।
    टावर संरक्षणका लागि केही महीनाअघि निर्माण गरिएको पर्खालमा स्काभेटरले वरपरको माटो कटान गर्दै पुर्ने क्रममा जमीन थर्किएर कमजोर हुँदा र निरन्तर आकाशे वर्षाका कारण सो पर्खाल भत्किएको कामदारहरूको अनुमान छ। आफूले दुई कार्यकाल अध्यक्ष भएर चलाउँदै आइरहे पनि बजेटको अभावमा सोचे जस्तो विकास गर्न नसकेको शहीद हीरालाल पार्क विकास समितिका अध्यक्ष रमेशकुमार अर्यालले बताए। आफू अध्यक्ष रहँदासम्म सो पार्कको विकास गर्न २० लाख रकम बजेट प्राप्त भएको उनले बताए। सो रकमबाट पुरानो गोलघरलाई नयाँ रूप दिएको, पार्क वरिपरि स्टीलको रेलिङ राखिएको, अधूरो मनकामना मन्दिरको निर्माण कार्य पूरा गरेको, पर्यटक बस्ने कुर्सी ठाउँ–ठाउँमा राखिएको, तल्लो भागदेखि पार्कसम्म जाने सडक ढलान गरेको उनको भनाइ छ।
    पार्कको गुरुयोजना बनाउनेतर्फ वडा कार्यालय लागिपरेको र सो कामको लागि ५ लाख रकम विनियोजन गरिएको वडाध्यक्ष जयराम कुमरले बताए।
    यसैगरी, पार्कको विकासका लागि निजगढ नगरपालिकाले यस वर्ष पनि १० लाख रकम विनियोजन गरेको एक कार्यपालिका सदस्यले जानकारी दिए। स्थानीय बाघभैरव सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र रहेको यो पार्कमा विवाहमण्डप, शौचालयसहित सभाहल, दुईवटा प्रतीक्षालयलगायतको संरचना छ।
    आर्थिक अभावकै कारण पार्कले गति लिन नसकेको शहीद हीरालाल गौतमकी पत्नी गायत्री गौतमले बताइन्। देश र जनताका लागि शहीद भएका पतिको नाममा पार्क स्थापना भयो तर स्थानीय सरकारको उदासीनताले गति लिन नसकेको उनको भनाइ छ। पार्कमा शहीद हीरालाल गौतमको अर्धकटको सालिक छ। पार्कलाई प्रदेश नं २ कै आकर्षक पर्यटकीय स्थल बनाउन सकिने भएपनि आर्थिक अभावका कारण विकास हुन सकेको छैन। विश्वकै कान्छो पहाड चुरेमा रहेको यस पार्कबाट निजगढ आसपासको शहरोन्मुख बस्ती, चारकोसे झाडीको घना जङ्गल देखिनुका साथै पार्कदेखि लगभग दुई सय मिटर उचाइमा रहेको निजगढ भ्यू टावरबाट झनै सुन्दर दृश्य देखिनुका साथै सिमरा, वीरगंज, रक्सौलसम्मको शहर देखिन्छ। रातिको समयमा ती शहरको विद्युतीय चमक झनै आकर्षक र सुन्दर देखिन्छ। सुन्दर, मनमोहक पार्क निर्माणको परिकल्पना गरिनुअघि गुरुयोजना बनाएर निर्माण कार्य थालिंदा दीर्घकालीनरूपमा पार्कको सौन्र्दयीकरण गर्न सकिने भए तापनि अहिलेसम्म सो कार्य हुन सकेको छैन।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्