प्रस, वीरगंज, ३० असोज/
नेपाल विद्यार्थी सङ्घ ठाराब क्याम्पस एकाइ समितिले क्याम्पस प्रशासनलाई अविलम्ब वार्ताको वातावरण बनाउन माग गरेको छ ।
नेविसङ्घ ठाराब क्याम्पस एकाइ समितिका अध्यक्ष मनोज साहले क्याम्पस प्रशासनलाई सोबारे लिखित आग्रह गरेका छन् । १४ सूत्रीय मागसहित नेविसङ्घ एकाइ समितिले क्याम्पसमा तालाबन्दी गरेर आन्दोलन जारी राखेको छ ।
समितिको आन्दोलन सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्साले क्याम्पसका सरोकारवालाहरू बसेर क्याम्पसभित्रै समाधान खोज्न भनी दुवै पक्षबीच सहमति कायम गराएको थियो । तर सहमतिविपरीत क्याम्पस प्रशासनले वार्तामा गैरपक्षलाई सहभागी गराएपछि नेविसङ्घ वार्तामा बसेको थिएन । अहिले नेविसङ्घ एकाइ समितिले सहमति अनुसार वार्ताको वातावरण मिलाउन क्याम्पस प्रशासनसँग आग्रह गरेको हो ।