भकारी भर्ने आशामा रहेका किसान धानबाली देखेर चिन्तित

0

जीतलाल श्रेष्ठ, निजगढ, असोज/
    धानबाली भित्रयाएर टन्न भकारी भर्ने सपना बोकेका बाराका अधिकांश किसान यस वर्ष धानबाली देखेर चिन्तित भएका छन् । धानको बालामा कोसा पुष्ट नभएपछि भुस धेरै हुने सम्भावनाका कारण किसानमा चिन्ता छाएको हो ।
    समयमा मलखाद बालीमा छर्न नपाउँदा समस्या आएको उनीहरूको भनाइ छ । लकडाउनका कारण मल अभाव हुँदा प्रतिबोरा १ हजारदेखि १५ सय रुपैयाँमा पाउने युरिया, डिएपी मललाई दोब्बर मूल्य किसानहरूले तिर्नुपरेको थियो । त्यति गर्दा पनि मल पर्याप्त थिएन । नेपाल—भारत सीमा दशगजा हुँदै लुकीछिपी भित्रयाइएको मलखाद बालीमा छर्नु उनीहरूको रहर नभई बाध्यता थियो ।
    धानबाली नसप्रिंदा जमीन हुण्डामा लिएर खेती गर्ने अधिकांश किसानलाई भने यतिखेर न रुनु न हाँस्नु भएको छ । नजिकिंदो चाडपर्वको खर्च चलाउन धानबाली बिक्री गर्ने सपना बुनेका उनीहरूका सपना केवल सपनामा मात्रै सीमित हुने भएको उनीहरूको दुःखेसो छ ।
    प्रतिकट्ठा ३ हजार रुपैयाँमा खेत भाडामा लिएर धानखेती गर्दा आम्दानीभन्दा पनि कामदारहरूको ज्याला दिनसमेत मुश्किल परेको निजगढ नपा–५ की रञ्जीता थापामगरले बताइन् । अघिल्लो वर्ष प्रतिकट्ठा ४ क्वीन्टल धान फलेकोमा यसपालि दुई क्वीन्टल पनि नभएको उनले बताइन् । उनले यस वर्ष साढे आठ कट्ठा जमीन हुण्डामा लिएको बताइन् । “धान त फलेन फलेन अब, जमीनको भाडा कसरी तिर्ने,” उनको दुःखेसो छ ।
    धानबालीमा बाला लाग्ने बेला पूर्वी हावा चलेकाले पनि रोग भित्रिएर बालामा दाना नलागेको अनुभवी किसानहरूको भनाइ छ । पूर्वी हावा चल्दा आँखा पाक्ने, टाउको दुःख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने भनाइ गाउँघरमा छ । त्यस्तै, बालीनाली पनि पूर्वी हावाको कारण नसप्रने भनाइ रहँदै आएको छ । यसपालि निजगढमा त्यस्तै भयो ।
    धानबालीको पराग सेचन हुने बेला, पूmल फुल्ने बेला, दाना लाग्ने बेलामा आवश्यकताभन्दा बढी आकाशे वर्षा भएकाले पनि धानबालीमा समस्या आएको हुन सक्ने डुमरवानाका धानबाली कृषकहरूको भनाइ छन् । दाना लाग्ने बेला धानबालीमा भिटामिन छर्केको कम्तीमा पनि ८/१० घण्टा पानी नपर्दा राम्रो हुन्थ्यो । तर वर्षा बढी भएकाले भिटामिन पखालिंदा बालाभित्रसम्म जान नपाउँदा धान पसाउने बालामा भुसा हुन गएको पनि किसानहरूको तर्क छ ।
    जिल्लाको चुरे फेद आसपासका किसानहरूको मात्र नभई दक्षिणी भेगका किसानहरूले लगाएका धानबालीमा समेत उस्तै समस्या देखिएको कचोर्वाका स्थानीय प्रदीप यादवले बताए । “धानको बालामा दाना हुनुपर्नेमा भुसा मात्र भएपछि यहाँका किसानहरू चिन्तित बनेका छन्,” यादवले भने ।
    दशगजा आसपासमैं खेतबारी भएकाले बेलैमा मलखाद हाले पनि धानबालीमा कीरा लागेकाले यहाँ यस्तो समस्या देखिएको उनको भनाइ छ । यता निजगढमा लकडाउनका कारणले बेलैमा मलखाद हाल्न यहाँका किसानले पाएनन् । “लुकीछिपी साइकलमा ल्याइएका भारतीय मल ढिलै गरी पायो । तर त्यस बेला मलको गुणस्तर हेर्नुभन्दा पनि मल पाए मात्रै हुन्थ्यो भन्ने चिन्ता थियो,” अर्का किसान हरि गौतमले भने ।
    समयमा मल नपाउनु र गुणस्तरहीन मलको प्रयोगका कारण पनि बाली नसप्रिएको हुन सक्ने निजगढका किसानहरूले अडकल काटेका छन् । कृषि बालीको आवश्यकतालाई सरकारले  सम्बोधन गर्न नसक्दा यो अवस्था आएको किसानहरू बताउँछन् ।
    समयमैं किसानले धानबालीमा मलखाद नपाएपछि गभारो कीराको सङ्क्रमण भएको र सोही कारण पिटलाइट नामक रोग लागेर धानमा दान नलागेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवको भनाइ छ ।
    बारामा गत वर्ष ५८ हजार हेक्टर क्षेत्रफलमा धानखेती लगाएको कृषि ज्ञान केन्द्र बाराको रेकर्डमा उल्लेख छ ।
    नेपाल कृषिप्रधान देश भनिए पनि खेतीको समयमा आवश्यक मलखाद नपाउँदा किसानहरू हतोत्साहित भई कृषि पेशाबाट पलायन हुने क्रम यस क्षेत्रमा बढ्दै गएको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here