प्रस, सर्लाही, २७ असोज/
    सर्लाही जिल्लाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा नेपाल–भारत ओहोरदोहोर गर्नेको दिनहुँ घुईचो लाग्ने गरेको छ।
    मुख्य सीमानाका बन्द रहे पनि आसपासका सहायक बाटो तथा खुला क्षेत्रबाट ओहोरदोहोर गर्नेको सङ्ख्या बाक्लिएको छ। नेपालतर्फ स्थानीयस्तरमा उपभोग्य सामग्रीको बजार नरहेकोले दैनिक उपभोग्य वस्तु खरीद गर्नका लागि पनि भारतीय बजार जानुको विकल्प नभएको सीमावर्ती क्षेत्रका बासिन्दाहरूको भनाइ छ। नेपालतर्फ उपलब्ध हुने सामग्रीहरू पनि भारतीय बजारमा भने निकै सस्तोमा पाउने भएकोले उनीहरू भारतीय बजारमा पुग्ने गरेका हुन्।
    “कोरोनाको कारण मुख्य नाका बन्द छ। तर उनीहरूलाई भारत जान नाका चाहिंदैन।” खेतबारी र खोलाको बाटो भएर दैनिक सयौं मानिस किनमेलका लागि भारतीय बजार पुग्ने गरेको बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंहले बताए।
    सीमावर्ती गाउँँका बासिन्दालाई नुन, तेल किन्नदेखि औषधोपचार गर्नसमेत भारतीय बजार नै पायक पर्छ। मुख्य नाका रोके पनि आवतजावत नरोकिएको हुँदा अब मुख्य नाका पनि खोल्नुपर्ने सर्लाहीका बासिन्दाको माग छ। मुख्य नाका बन्द गरिंदा बिरामी परेर झट्ट सीमापारि जानुपर्नेहरू अप्ठ्यारोमा परिरहेको नगरप्रमुख सिंहले बताए। “नाका बन्द गर्दा त बिरामीलाई मात्रै समस्या भयो। सर्वसाधारण त यतिकै निर्धक्कसाथ आउजाउ गरेकै छ,” उनको भनाइ थियो।
    जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने गोडैता, विष्णु, रामनगर, कौडेना, मलङ्गवा, ब्रह्मपुरी, पर्सा, हरिपुर्वालगायतका पालिकाका बासिन्दाहरूले सदियौंदेखि उपयोग गर्दै आएको नजीक, पायक पर्ने, सजिलो र सस्तो भारतीय बजार जानबाट रोक्न कठिन रहेको ब्रह्मपुरी गाउँँपालिकाका अध्यक्ष विनोदकुमार साहले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here