पर्सागढी नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप शुरू भएको छ। भाइरल ज्वरो विशेषतः मौसम परिवर्तन हुँदा आउने ज्वरो हो। त्यसैले यसलाई मौसमी ज्वरो पनि भनिन्छ। हाम्रो मुलुकमा वर्षमा दुईपटक यसले सताउने गरेको छ। जाडोयाम सकिएपछि चैत/वैशाखतिर र वर्षायाम सकिने बेला भदौतिर भाइरल ज्वरोको सङ्क्रमण फैलने गरेको छ। तर यस वर्ष भने विगतको भन्दा फरक पर्न गयो। असोजको अन्तिम सातामा भाइरल ज्वरोको प्रकोप देखिन थालेको छ। हरेक वर्ष भदौ महीनामा शुरू भएर दशैंको करीबसम्म यसको समस्या रहने गरेको थियो। यसपटक दशैंको नजीकमा आएर शुरू भएको भाइरल ज्वरोको प्रकोप दशैंअगावै समाप्त हुन्छ कि, पछिसम्म रहन्छ, त्यो आउने समयले नै बताउँछ। मौसम पूर्णरूपमा परिवर्तन भइसकेपछि प्रकोप स्वतः न्यूनीकरण हुने यसको विशेषता छ।
भाइरल ज्वरोकै कारणले जन्डिस, टाइफाइड, भाइरल इन्फेक्शन तथा वाकवाकी लाग्ने, पखाला तथा पेट दुख्ने तथा ठेउलासम्म आउने गर्छ। शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएर आउने भाइरल ज्वरोले मानव शरीरलाई झनै कमजोर बनाइदिन्छ र भाइरल चाहिं बलियो भएर ज्यानसमेत लिन सक्छ। आजभन्दा झन्डै १०० वर्ष पहिले अर्थात् सन् १९२९ देखि नै हाम्रो मुलुकमा भाइरल ज्वरोको प्रकोप पाइएको छ। यो आफ्नो समयमा आउने, सताउने र जाने गरेको छ। केही वर्षदेखि भने यसले वार्षिकरूपमा ठाउँसमेत परिवर्तन गर्दै क्षति पु–याइरहेको रोग नियन्त्रण महाशाखाको ठहर छ। भाइरलका धेरै रूप छन्। बर्डफ्लू, स्वाइनफ्लूलाई पनि भाइरल नै मानिएको छ। यसर्थ मौसमी फ्लूलाई चिन्न सकिएन र आवश्यक सावधानी अपनाउन वा समयमा उपचार हुन सकेन भने ज्यान जान सक्छ। अहिले विश्वमा कोरोनाको कहर छ। यतिबेला कोरोनाबाहेक अन्य रोगबाट पनि मानिस मरिरहेका छन्। तर त्यसलाई ध्यान दिइएको छैन। कोरोना सङ्क्रमणबाट मृत्यु भएको भनिएकाहरूमा पनि मुख्य कारण अरू नै रोग हुनसक्छ।
अझ अप्ठ्यारो कुरा त के छ भने मौसमी फ्लू अर्थात् भाइरल ज्वरो, डेंगु र कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो छ। रुघाखोकी लाग्नु, १०३ डिग्रीभन्दा बढी ज्वरो आउनु, कमजोरी महसूस हुनु, टाउको दुख्नु, घाँटी दुख्नु, वाकवाकी लाग्नु यी सबै लक्षण तीनै किसिमका बिरामीलाई देखिन सक्छ। भाइरल ज्वरोको कारण यस्ता लक्षण देखिए पनि उपचार नपाई ज्यान गुमाउनुपर्ने हाम्रो अवस्था छ। लामो यात्राको थकाइबाट ज्वरो आएका व्यक्तिले एम्बुलेन्स नपाएपछि टिपरमा बसेर अस्पताल पुग्नुप–यो, झाडापखालाका बिरामी अस्पतालमा पुगेर पनि उपचार नपाई ज्यान गुमाउनुप–यो, उच्च रक्तचापले टाउको दुखेका र वाकवाकी लागेका बिरामी अस्पताल चहार्दाचहार्दै उपचार नपाएर ज्यान गएको छ। यो आजभोलि हाम्रै समाजको घटना हो। कोरोनाको त्रास यतिसम्म छ कि कुनै लक्षण नै नदेखिएको गर्भवतीलाई समेत अस्पतालले बास दिंदैन। कोरोनाको सङ्क्रमणबाट बच्ने र बचाउने बहानामा सामान्य अवस्थाका बिरामीसमेत उपचारैविना रोग जटिल बनेर ज्यान गुमाइरहेका छन्। लक्षण मिल्ने जति सबै कोरोना नै हो भन्ने र कोरोना लागेकाको उपचारै हुँदैन ठान्ने मनोदशा कसैले पनि पाल्नुहँुदैन। यसमा पनि चिकित्सक, स्वास्थ्य संस्था र सरकार सबैभन्दा बढी जिम्मेवार बन्नु जरुरी छ।