विवादमा कोलम्बस दिवस

0

– कुमार रुपाखेती
    प्रत्येक वर्ष अक्टुबर महीनाको दोस्रो सोमवार अमेरिकामा कोलम्बस दिवस मनाइन्छ। यसपटक १२ अक्टोबर सोमवारका दिन कोलम्बस दिवस मनाइँदैछ। यो दिन अमेरिकामा सार्वजनिक बिदा हुन्छ। सन् १७९२ देखि अमेरिकामा यो दिवस बर्सेनि मनाउन थालिएको हो। त्यस बेलाको कुरा अनुसार क्रिस्टोफर कोलम्बस अमेरिका पत्ता लगाउने पहिलो व्यक्ति हुन्। कोलम्बस इटालियन नागरिक थिए। यिनको जन्म सन् १४५१ मा २५ अगस्तदेखि ३१ अक्टुबर बीच भएको मानिन्छ। सन् १५०६ मा आर्थराइटिस (हड्डीको रोग)बाट यिनको निधन भएको थियो। यिनको सम्मानमा अमेरिकामा उनको चित्र अङ्कित हुलाक टिकट पनि पाइन्छ।
    तर केही समययता केही खोजमूलक संस्थामा सक्रिय अमेरिकी नागरिकहरूले कोलम्बसभन्दा ५ सय वर्षअघि सन् १४४२ तिर नै मार्कोपोलो भन्ने व्यापारीले आफ्नो भ्रमणको क्रममा तथा युरोपको भाइकिङ गु्रप (हट्टाकट्टाहरूको समूह)ले अमेरिका महाद्वीप पत्ता लगाइसकेको दाबी गरेका छन्। कोलम्बस त १२ अक्टुबर १४९२ मा सेन्ट्रल अमेरिकाको बहामाज टापूमा पुगेको देखिन्छ।
    खासमा कोलम्बस अमेरिका पत्ता लगाउन हिंडेको पनि होइन रे १ सुन लुटेरा कोलम्बस भारतमा निकै सुन पाइन्छ भनी भारत खोज्न हिंडेको तर भ्रमणको क्रममा अमेरिकाको बहामाज टापू पुगेको बताइन्छ। यो टापूमा अमेरिकाका आदिवासी, जनजाति र रेड इन्डियनहरूको बाक्लो बसोबास थियो। अमेरिकी आदिवासीहरूको भेषभूषा र भाषा नबुझेर त्यो क्षेत्रलाई इन्डिया ठानेर सुन र अन्य बहुमूल्य सामान पाउने लोभमा कोलम्बसले त्यहाँ ठूलो रक्तपात, नरसंहार र लूट मचाए। भनिन्छ, सान्टामारिया, पिन्टा र निना नामक तीन विशाल पानी जहाजमा लडाकू र हातहतियार बन्दूकसहित पुगेका कोलम्बसले तीर–धनुषधारी अमेरिकी आदिवासीहरूलाई अपहरण गर्दै हत्या गरे। त्यतिखेर रेड इन्डियन, आदिवासीहरूलाई यहाँ नेटिभ अमेरिकन भनिन्थ्यो। नेटिभ अमेरिकनहरू अमेरिकाको सबैभन्दा पुराना बासिन्दा रहेछन्, जो अहिले अल्पसङ्ख्यामा पु–याइएको छ। सन् १४९२ मा कोलम्बसले शुरू गरेको यो लडाइँ सन् १८१२ सम्म आश्चर्यजनकरूपले चलिरह्यो। टाइनोजको बहामाज टापूका आदिवासीहरूले तीर–धनुषले कोलम्बसका ३९ जना लडाकू लुटेरा मारिदिएपछि रिसले आगो भएका कोलम्बसले थप दर्जनौं जहाज र लडाकू ल्याएर अमेरिकी आदिवासीहरूलाई तहसनहस गरेको पनि आरोप रहेछ। कोलम्बसले सन् १४९२ देखि १५०४ सम्म करीब चारपटक आफ्नै नेतृत्वमा आक्रमण गरी अमेरिकी रैथाने आदिवासी मारेको पनि इतिहास रहेछ। लुटेको सुन र बहुमूल्य वस्तुहरू कोलम्बसले इटली र स्पेनका शासक र धनीहरूलाई बेच्ने र उपहार दिने गर्दो रहेछ। करीब ५० वटा स्टेट मिलेर बनेको वर्तमान अमेरिकामा त्यो बखत ५६७ विभिन्न क्षेत्र र स्थानहरूमा रेड इन्डियन आदिवासीहरूको बोलबाला थियो, जुन अहिले नियन्त्रित गर्दै थान्को लगाउँदै ३२६ क्षेत्रको सानो घेरामा सीमित गरिएको छ।


    सन् १९७७ देखि अमेरिकामा कोलम्बस दिवसको जोडदार विरोध शुरू भएको देखिन्छ र सन् १९९२ देखि कोलम्बस दिवसको दिन आदिवासी दिवस मनाउने थुप्रै छन्। आदिवासी मार्ने कोलम्बसको सट्टा कोलम्बसबाट मारिएका निरीह आदिवासीको सम्झनामा अचेल अमेरिकामा अक्टुबर महीनाको दोस्रो सोमवारलाई आदिवासी दिवससमेत भन्न थालिएको छ।
    अमेरिकामा त्यसो त सन् १८६० तिर काला जातिहरू गोराहरूको दासत्वबाट मुक्त भएका रहेछन्। दासताबाट मुक्त भएपनि त्यतिखेरको नियम अनुसार कालाहरूले उच्च पदमा सरकारी जागीर खान नपाउने, सार्वजनिक यातायात, बस आदिमा पछिल्लो सिटमा मात्र बस्न पाउने, तिनका केटाकेटीहरू निजी विद्यालयमा गोराहरूका केटाकेटीबाट अलग्गै बस्नुपर्ने र निर्धारित क्षेत्रमा मात्र घरजम गर्न पाउने नियमसमेत थियो। अझैसम्म पनि काला जातिको बाक्लो बसोबास भएको क्षेत्रमा कडा प्रहरी निगरानी, विकास कम तथा तिनका राम्रा कामहरूसमेतलाई नराम्रा कामको लेबुल लगाउने र राम्रा काम ओझेलमा पार्ने प्रयत्न भइरहेको आरोपसमेत छ। भनिन्छ, ओबामाको पालामा आदिवासी, जनजाति र काला जातिहरूले हासिल गरेका सेवासुविधा आदिमा अहिले फेरि पुरानै ढर्राको अङ्कुश लगाइएको छ।
    कोलम्बस वास्तवमा न अमेरिकी हो, न अमेरिकाबारे जानकार मान्छे। ऊ त एउटा सुझबुझवाला चलाख लुटेरा थियो, जसलाई अमेरिकास्थित उनका जातभाइहरूले ठूलो मान्छे बनाए। त्यसैले अब कोलम्बस दिवसको सट्टा यही दिन प्रत्येक वर्ष आदिवासी दिवस मनाएर अमेरिकामा भइरहेको जातीय पक्षपात न्यून गर्न दबाब सृजना गर्न केही आदिवासी नेताहरू सक्रिय छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here