माधव तिमल्सिना, ठोरी, २२ असोज/
ठोरी गाउँपालिका–२ मा रहेको स्वास्थ्य चौकी स्तरोन्नति गरेर १५ शय्याको अस्पताल बन्ने भएको छ।
ठोरी गापाको पहिलो गाउँसभाबाट २०७४ माघ १५ गते ठोरी स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने निर्णय भएको थियो। तर अहिलेसम्म सो निर्णय कार्यान्वयन हुन सकेको छैन।
स्वास्थ्य मन्त्रालयले ठोरी स्वास्थ्य चौकी स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल स्थापनाका लागि रु १ करोड पठाएको गापा अध्यक्ष पद्मलाल श्रेष्ठले बताए। उनले कात्तिकको पहिलो हप्तादेखि नै अस्पताल निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिए।
ठोरीमा अस्पताल नहुँदा यहाँका मानिसहरू उपचारका लागि वीरगंज, भरतपुरलगायतका ठाउँमा जानुपर्ने बाध्यता छ।
अध्यक्ष श्रेष्ठले सरकारले ‘एक स्थानीय तह एक अस्पताल’को अवधारणा अघि बढाएपछि पहिलो गाउँसभाबाट पारित निर्णय कार्यान्वयन हुने आधार बनेको बताए।
हाल स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छ। अस्पताल निर्माणका लागि पर्याप्त जग्गा भएकोले निर्माण कार्य चाँडै शुरू हुन लागेको अध्यक्ष श्रेष्ठले बताए।
स्थानीय तह निर्वाचनताका गापाभरि तीनवटा स्वास्थ्य चौकी मात्र थियो। अहिले प्रत्येक वडामा स्वास्थ्य चौकी सञ्चालनमा छन्।