प्रस, निजगढ, १९ असोज/
वर्षायाम सकेको १८ दिनपछि निजगढ नगरपालिकाले खोला फुकुवा गरेको छ । खोला खुलेसँगै खोलामा आश्रित श्रमिक, मजदूरको मुहारमा खुशी छाउन थालेको छ ।
आइतवार बिहान निजगढ नगरपालिकाका प्राविधिकले खोलामा उत्खनन गर्न सकिने क्षेत्रको यकीन गरी क्षेत्र छुट्याइदिएपछि सोमवार बिहानैदेखि खोलाबगरमा उत्खनन गर्ने श्रमिक र ढुवानी गर्ने ट्याक्टरको भीड शुरू भएको छ ।
कोरोना भाइरस महामारीको कारण शुरू भएको लकडाउनसँगै खोलामा प्रवेश निषेध गरिएको थियो । सोलगत्तै वर्षायाम र निषेधाज्ञाको कारण खोला उत्खननमा रोक लागेको थियो ।
सो समय खोलामा आश्रित सुकुमबासीबस्तीलाई निकै कठिनाइ भयो भने कतिपयको चुलोसमेत बल्न सकेन । छिमेकीसँग पैंचो मागौं भने पनि सबैको हालत उस्तै थियो । पसलेले समेत उधारो पत्याउन छाडेपछि छाक टार्न समस्या भएको रीता माझीले बताइन् ।
वर्षायाम सकिसके पनि खोला नखुलाउँदा निजगढ नगरपालिका सुकुमबासीबस्तीका श्रमिकहरूको धैर्यको बाध टुट्यो र उनीहरूले बाटो अवरुद्ध गर्दै स्थानीय क्रसर उद्योग बन्द गराएर आन्दोलनकै घोषणा गरे । खोलामा नयाँ ठेक्का नलागेसम्म जान नपाउने भन्दै निजगढ नपाले खोलामा रोक लगाएको थियो । अर्कोतर्फ समस्या के थियो भने स्थानीयले हाते औजारको प्रयोग गरी उत्खनन, सङ्कलन गरेका नदीजन्य पदार्थ स्थानीय क्रसरले नकिन्ने भएपछि आश्रितहरू बाहिरबाट आउने ग्राहकहरूको भर पर्दै आएका थिए । श्रमिक, मजदूरले उत्खनन, सङ्कलन गरेको नदीजन्य पदार्थ आफूलाई महँगो पर्ने भएकोले किन्न नसकेको क्रसर सञ्चालनहरूको भनाइ छ ।
समस्या समाधान गर्न निजगढ नपाको पहलमा अबदेखि स्थानीय श्रमिक, मजदूरहरूको रोजीरोटीलाई ध्यानमा राख्दै स्थानीय ट्याक्टरबाट ढुवानी भएको नदीजन्य पदार्थ किन्ने क्रसर व्यवसायीहरूले सहमति जनाएका छन् ।
एक साता पहिले स्थानीय श्रमिक, मजदूर, ट्याक्टर व्यवसायी र क्रसर उद्योगीबीच छलफल भएको थियो । निजगढ नगरपालिकाले आइइई रिपोर्टमा स्वीकृत स्थानको तोकिएको क्षेत्रबाट बढीमा १ मिटर गहिरो गरी नदीजन्य पदार्थ उत्खनन, सङ्कलन गर्न दिने, जसमा हाते औजारको मात्र प्रयोग गर्न पाइने उल्लेख गरेको छ । यसरी उत्खनन गरिएका नदीजन्य पदार्थ ढुङ्गा, ग्रेभल, बालुवा कहींकतै नथुपारी सोझै क्रसर उद्योगमा लैजानुपर्नेछ ।
सो सहमतिलाई निजगढ कार्यपालिकाको बैठकले यही असोज १६ गते शुक्रवार अनुमोदन ग-यो । अनुमोदनसँगै खोलामा आश्रितहरू खुशी भएका छन् । त्यसै अनुसार खोलामा आश्रित श्रमिकहरू बिहान सबैरै कुटो, सावेल, तगारी, खन्तीलगायतका हाते औजार लिएर बकैया खोलामा नदीजन्य पदार्थ उत्खनन, सङ्कलन गर्न पाउँदा अहिले उनीहरूको मुहारमा खुशी देखिन थालेको छ । “सात महीनापछि खोलामा आएका छौं । विगतको समय निकै कठिनसँग बित्यो । अब बाँचिन्छ जस्तो छ । ढिलै भएपनि खोलामा काम त गर्न पाइयो,” स्थानीय देवबहादुर माझीले भने ।
“बिहान सबेरै झिसमिसेदेखि बेलुकीसम्म काम गर्दा १०/१२ ट्याक्टर ग्रेभल भर्न सकिन्छ । जसबाट प्रतिव्यक्ति सात/आठ सय रुपैयाँ कमाइ हुन्छ,” अर्का आश्रित कालीबहादुर माझी र जयमान लामाले एकै स्वरमा भने । उनीहरू विगत ४० वर्षदेखि बकैया खोलामा आश्रित छन् । उनीहरू जस्तै निजगढ–८ सुकुमबासी टोल गैरीगाउँका स्थानीयहरूको खेतबारी र अन्य आयस्रोतको बाटो छैन । उनीहरू दुई पुस्तादेखि बकैया खोलामा आश्रित छन् ।
दशैं, तिहारलगायतका पर्वहरू नजिकिंदै गर्दा थोरै आम्दानीबाट पनि जसोतसो चाडबाड मनाउनुपर्ने बाध्यता उनीहरूलाई छ ।
खोलाको आश्रय स्थायी र पर्याप्त छैन भन्ने कुरा यसपटकको बन्दले प्रमाणित गरिसकेको छ । अब सुकुमबासीबस्तीका युवाहरूले अन्य आम्दानीका विकल्पका मार्ग रोज्नुपर्ने स्थानीय नागरिक अगुवाहरूको सुझाव छ । सुकुमबासी तथा खोला आश्रितलाई लक्षित गरी सीपमूलक तालीमको व्यवस्था छिट्टै गरिने निजगढ नगरपालिकाकी उपप्रमुख लीलादेवी लामिछानेले बताएकी छन् ।
त्यसैगरी, निजगढ नगरपालिकाले प्राकृतिक स्रोत साधन नदीजन्य पदार्थको उत्खनन कार्यलाई व्यवस्थित बनाउन र खोला बगरमा आश्रित स्थानीय श्रमिक, मजदूरको रोजीरोटी, ट्याक्टर व्यवसायीहरूलाई समेत ध्यानमा राखी खोला खुलाएको निजगढका प्रमुख सुरेशकुमार खनालले बताए । खोला खुलेसँगै स्थानीय ट्याक्टर व्यवसायीहरूमा समेत बैंकको किस्ता तिर्न सकिन्छ भन्ने आशा जागेको छ ।
खोला खुलेसँगै दैनिक ५ सयको हाराहारीमा श्रमिक, मजदूर र दैनिक ३ सयभन्दा बढी ट्याक्टरले काम पाएका छन् ।