प्रस, वीरगंज, १६ असोज/
    वीरगंज महानगर–२३ प्रसौनीबिर्तामा असोज १३ गते भएको कुटपिटमा संलग्न चारजनालाई प्रहरीले छोडेको र दोषीमाथि कारबाई नगरेको पीडित पक्षको आरोप छ।  
    नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्षमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पीडित पक्षका राकेश साह, रमेश  पासवानसमेतले आफूहरू अन्यायमा परेको भन्दै वडा प्रहरीले पीडक पक्षको पक्षपोषण गरेको आरोप लगाए। पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार असोज १३ गते बिहान साढे ८ बजे अजय पासवानलाई केही युवकले राकेश साहको घरअगाडि सडकमा कुटपिट गरेपछि राकेशका भाइ सुजीत साहले उनीहरूलाई छुटाएर आआफ्नो घरतर्फ पठाएका थिए। सोही विषयलाई लिएर अजयका विरोधी पक्ष २०/२५ जना युवकले केही बेरपछि राकेश साहको घरमा प्रवेश गरी राकेश, सुजीत, तीन वर्षीया बालिका आरुषी साह, वृद्धा आमा धर्मशीलादेवी, स्थानीय अजय पासवान साथै नीरज श्रेष्ठलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए। कुटपिटबाट घाइते वृद्धा धर्मशीला साह र राकेशका भाइ सुजीत साहको न्युरो अस्पतालमा उपचार भइरहेको छ भने अजय पासवानको सूर्य अस्पतालमा उपचार भइरहेको छ।
    घटनालगत्तै पुगेको वडा प्रहरी कार्यालय श्रीपुरले कुटपिटमा संलग्नमध्ये चारजनालाई तत्कालै नियन्त्रणमा लिनुका साथै घाइते र घटनास्थलको पनि निरीक्षण गरेको थियो। तर वास्तविकता थाहा भएर पनि वडा प्रहरी कार्यालय, श्रीपुरले उजूरी दर्ता नगरेको र घटनामा संलग्न चारजनालाई छाडेको पीडितमध्येका राकेश साहले बताए।
    घटना सम्बन्धमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साहले घटनास्थलबाट तत्काल चारजना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको र सोधपूछको क्रममा उनीहरूको संलग्नता नदेखिएपछि छाडिएको बताएका छन्। प्रनि साहले दुवै पक्षको उजूरी परेको र दुवै पक्षका मानिसहरू अस्पतालमा घाइते देखिएकाले दुवै पक्षलाई बोलाएर छलफल गराउने प्रयास भइरहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here