मेहनत अनुसार पैसा कमाउँदैनौं– मलाहा

0


विमला गुप्ता, वीरगंज, १६ असोज/
    बाराको भूताहा खोला किनारमा जालमा माछा अल्झाइरहेका माझी (मलाहा) मनिप सहनीले मेहनत अनुसार पैसा कमाउन नसकेको बताए।
    उनले भने, “माछा मार्ने हाम्रो मुख्य पेशा हो, लकडाउनले गर्दा सोचे जस्तो माछाको बिक्री छैन, एक किलो माछा सयदेखि दुई सय रुपैयाँसम्म गाउँँघरका ग्राहकलाई बेच्छौं।”  
    उनले आफू १६ वर्षको उमेरदेखि माछा मार्ने काम गर्दै आएको बताए। अहिले उनको उमेर ४० वर्ष भयो। निरन्तर यो पेशामा लागेकै छन्। यस वर्ष लकडाउनले गर्दा माछा अनुसारको दाम पाउन नसकेको उनले दुःखेसो पोखे। परिवारका १२ जना सदस्यमध्ये  सहनी मात्र कमाउँछन्। कोरोनाको कारण अहिले परिवार पाल्न पनि गा–हो भएको उनले बताए।
    बारा जिल्लाको सदरमुकाम कलैयादेखि पूर्व ८ किलोमिटर दूरीमा भूताहा खोला पर्दछ। त्यहाँ माझीहरूको ठूलो झुन्ड देखियो। ४०–५० जना माझी माछा मार्न व्यस्त थिए। उनीहरूलाई न त कोरोनाको डर थियो, न उनीहरूले सामाजिक दूरी नै पालना गरेका थिए।
    अभिभावकहरू माछा मार्न व्यस्त थिए भने बालबालिकाहरू माछा समातेर रमाउँदै थिए। बालबालिकाहरू आफ्नो परम्परागत पेशा सानै उमेरदेखि बुबा, हजुरबुबा तथा परिवारका अन्य सदस्यसँग सिक्दै थिए।
    तराई–मधेसमा मलाहा जाति भन्ने बित्तिकै माछा मार्ने समुदायलाई बुझिन्छ। परापूर्वकालदेखि माछा मार्दै आएको मलाहा जातिले अहिले पनि आफ्नो पेशालाई निरन्तरता दिएको छ।
    केही दिनअघि परेको अविरल वर्षाका कारण नदी, खोलामा पानीको बहाव बढेर मलाहाको लागि माछा मारेर पैसा कमाउने राम्रो अवसर जुरेको छ। बरियारपुर क्षेत्र आसपासका मलाहाहरू यस अवसरको फाइदा उठाउँदै एकाबिहान जाल र माछा समाउने भाँडो लिएर भूताहा खोला पुग्छन्। दिउँसोसम्म उनीहरू माछा मार्छन्। सबैले आफ्नो मेहनत अनुसारको ३ देखि ५ किलोसम्म माछा मार्छन् र बेच्छन्।
    सोही गाउँँका युवा पञ्चलाल सहनी पनि बुबासँगै माछा मार्न सिक्दैछन्। उनका अनुसार यस खोलामा पटेया, नैनी, रहु, बिग्रेड, सिल्भर कार्प प्रजातिका ठूला–साना माछाहरू पाइन्छन्। मलाहाका अनुसार अहिले रु सयमा प्रतिकिलो माछा बेच्नुपरेको छ। लकडाउनले गर्दा ग्राहकहरूले भने जस्तो दाम दिंदैनन्।
    ३० वर्षदेखि माछा मार्दै आएका वंशी सहनी खोला किनारमा बसेर माछा समात्ने जालो सिउँदै थिए। खोलाको माछा एक ठाउँमा बस्दैन। उनी बरियारपुरदेखि नजीकै गाउँ पतरहट्टिबाट माछा मार्न आएको बताउँदै भने, “परिवारमा ८ जना सदस्य छन्, मैले मारेको माछा बेचेर आएको रकमले घर खर्च चल्छ। ग्राहक पायौं भने दिनको ४ सयदेखि ५ सय रुपैयाँजति कमाउँछु। ग्राहक पाएनौं भने समातेको माछा घरमैं पकाएर खान्छौं।”
    माछा बेच्न वंशी कहिले कलैया बजार त कहिले बरियारपुर बजार पुग्छन्। यी बजार बारा जिल्लाका मुख्य बजार हुन्।
    महामारीको समयमा सुरक्षाका उपाय अवलम्बन नगरेकोबारे सोध्दा मनिप सहनीले भने, “मास्क लगाएर खोलाभित्र कसरी जाने ? मास्क भिज्छ त्यसैले लगाउँदैनौं।”
    माछा हाम्रोलागि पोषिलो खानेकुरा हो तर मलाहाको लागि जीविकोपार्जनको स्रोत हो। बारा जिल्लालाई माछा जोनको रूपमा चिनिन्छ। यहाँका अधिकांश पोखरीमा माछापालन हुन्छ, जसले गर्दा यस जिल्लाका मलाहाहरूले आफ्नो पेशालाई निरन्तरता दिंदैछन्। तर ६ महीनाको लकडाउन र निषेधाज्ञाको कारण उनीहरूको व्यापारमा निकै असर परेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here