प्रस, पोखरिया, १४ असोज/
सामुदायिक विद्यालय सञ्चालन गर्न अभिभावकहरूले जोड दिएका छन्। सरकारले सामुदायिक विद्यालयमा वैकल्पिक माध्यम अपनाएर शिक्षा प्रदान गर्नका लागि निर्देशन दिएपछि वैकल्पिक शिक्षाको लागि सर्भे गरिरहेका शिक्षकहरूलाई अभिभावकहरूले विद्यालय सञ्चालन गर्न आग्रह गरेका हुन्।
अभिभावकहरूले विद्यालय सात महीनादेखि बन्द भएको अवस्थामा नानीहरू घरमा नबस्ने, साथीभाइसँग खेल्न व्यस्त हुने, केही घरायसी काममा लागेका र वैकल्पिक शिक्षाका लागि अधिकांश परिवारमा टिभी, मोबाइल, रेडियो नभएकाले विद्यालय सञ्चालन गरेर शिक्षा प्रदान गर्न आग्रह गरे।
पर्सा जिल्ला कालिकामाई गाउँपालिका–१ मुडलीका रमेश डोमले वैकल्पिक शिक्षामा आफ्नो टोलका अधिकांशको पहुँच नभएकोले विद्यालय सञ्चालन गर्न आग्रह गरे। उनले कोरोना सङ्क्रमणका कारण विद्यालय सञ्चालन नगर्ने हो भने ठीक छ नत्र वैकल्पिक शिक्षाबाट आफ्ना नानीहरूले लाभ लिन नसक्ने बताए।
विद्यालयमा बालबालिका, शिक्षकहरूको मात्र सहभागिता हुने हँुदा सङ्क्रमणको जोखिम न्यून भएको उनको तर्क छ। यसै पनि विद्यालय बन्द भएको अवस्थामा नानीहरू घरमा नबस्ने, खेतखलियानमा काम गर्ने, वस्तु चराउने जस्ता काममा लागेकै हुँदा त्यसो गरेर आउँदा सङ्क्रमण नफैलिने तर विद्यालयमा अध्ययन गर्दा सङ्क्रमणको जोखिम उच्च कसरी हुने भनेर प्रश्न गरे। कालिकामाई गापा–१ मा वैकल्पिक शिक्षाको लागि सर्भे गर्दा कुल २२५ घरधुरीमा ४५ प्रतिशतसँग मात्र मोबाइल, टिभी, रेडियोको पहुँच भएको, ३० प्रतिशतसँग मोबाइल र २५ प्रतिशतसँग कुनै पहुँच नभएको सर्भेबाट देखिन्छ। यही अवस्था गापाका विभिन्न वडाका साथै धोबिनी, छिपहरमाई, पकाहामैनपुर, विन्दवासिनी गापा र पोखरिया नगरपालिकामा पनि समान अवस्था छ। यसका साथै यी ठाउँमा भारतीय डिस च्यानलहरूको प्रयोग बढी छ। जसले गर्दा नेपाल टिभीबाट वञ्चित छन्। असोज १३ गते मङ्गलवारका दिन धोबिनी गाउँपालिकाको कार्यालयले गापामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भेला गरेको थियो। १७ वटा विद्यालयका प्रधानाध्यापक सहभागी रहेकोमा उनीहरूले दशैंपछि विद्यालय सञ्चालन गर्न सकिने बताए। गापा अध्यक्ष सुरेश कुर्मीले तत्काल विद्यालय सञ्चालनका लागि राय मागेपछि प्रअहरूले दशैंपछि सञ्चालन गर्न सकिने सुझाव दिएका थिए।