प्रस, महोत्तरी, १२ असोज/
विगत पाँच दिनदेखि बेपत्ता रहेका महोत्तरीका व्यापारीको अवस्था अझै अज्ञात छ।
जलेश्वर नगरपालिका वडा नं ५ बस्ने ब्रह्मदेव साहका छोरा २४ वर्षीय राजु साह बितेको बुधवार रातिदेखि बेपत्ता छन्। खोजतलाश भइरहेको तर सोमवारसम्म पत्ता नलागेको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका छन्।
जिल्लाकै मटिहानी नगरपालिका वडा नं ८ मा कपडापसल सञ्चालन गर्दै आएका राजु पसल बन्द गरेर मोटरसाइकलमा घर फर्किने क्रममा सोही नगरपालिकाको वडा नं ६ र जलेश्वर नगरपालिका वडा नं ५ को बीचमा पर्ने वनको बाटोबाट बेपत्ता भएका हुन्। उनको मोटरसाइकल चाबीसहित सडकमा नै फेला परेको थियो। सोही स्थानमा दुवै खुट्टाको चप्पल फित्ता चुँडेको अवस्थामा र उनले लगाएको टिसर्ट पनि च्यातिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलको प्रकृति र बरामद सामान हेर्दा राजुलाई कसैले अपहरण गरी लगेको हुन सक्ने प्रहरीको अनुमान छ। नेपाल–भारत सीमानजीकै घटना भएकोले आपराधिक गिरोहले भारततर्फ लगेको हुन सक्ने सो क्षेत्रका बासिन्दाहरूको आशङ्का छ। नेपालतर्फ सो आसपासका क्षेत्रमा २४ घण्टाभित्रै गहन खोजतलाश गर्दा पनि कुनै सुराक फेला नपरेपछि सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरूसँग समन्वय गरेर खोजतलाश भइरहेको प्रनाउ विष्टले बताएका छन्।