मकवानपुर, १२ असोज/रासस
अविरल वर्षाका कारण केही दिन अघि गएको पहिराका कारण अवरुद्ध बनेको भीमफेदी–कुलेखानी सडकखण्ड आज बिहानदेखि खुलेको छ। उक्त सडकखण्डको भीमफेदी गाउँपालिका–६ र इन्द्रसरोवर गाउँपालिका–२ का विभिन्न स्थानमा गएको पहिरो पन्छाई आज बिहान ८ः०० बजेदेखि हेटौंडाबाट कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने बाटो खुलेको इलाका प्रहरी कार्यालयका प्रनि सुरेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार बाटो खुलेसँगै काठमाडौंबाट हेटौंडा आउने र हेटौंडाबाट फाखेल हुँदै काठमाडौं जाने सवारीसाधन सञ्चालनमा आएको छ। त्यस्तै हेटौंडाबाट सिस्नेरी हुँदै काठमाडौं जाने सिस्नेरीको बाटो भने पहिराका कारण अझै अवरुद्ध रहेको इप्रका भीमफेदीले जनाएको छ। उक्त बाटो आज बेलुकासम्म पहिरो हटाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रनि श्रेष्ठले जानकारी दिए।