प्रस, निजगढ, १९ भदौ/
कोरोना भाइरस सङ्क्रमितका कारण बारामा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, निजगढ नगरपालिका–९ का ५८ वर्षीय यामलाल श्रेष्ठको आज शुक्रवार बिहान करीब ५ बजे मृत्यु भएको आफन्तले जनाएका छन्। ४ वर्षदेखि मिर्गौलाका बिरामी श्रेष्ठलाई मधुमेहसमेत थियो। उनलाई गत भदौ १५ गते मिर्गौलाको उपचारका लागि काठमाडौंस्थित सुमेरू अस्पतालमा लगिएको थियो। उपचारअघि अस्पतालले गरेको पिसिआर परीक्षणमा श्रेष्ठको नतीजा पोजेटिभ आएको थियो। उनको उपचारको क्रममा काठमाडौमैं मृत्यु भएको आफन्तले बताएका छन्।
निजगढमा हालसम्म ३७ जना कोरोना सङ्क्रमित पुष्टि भइसकेका छन्। जसमा आज बिहान मात्र १४ जना सङ्क्रमित थपिएका छन्। जसमा २ जना स्वास्थ्यकर्मी, १ जना बैंकका कर्मचारी, ५ जना इलाका प्रहरी कार्यालय निजगढमा रहेका थुनुवा, १ जना प्रहरी हवलदार र तीनजना स्थानीय रहेको निजगढ नगर स्वास्थ्य संयोजक रमेश लामाले जानकारी दिए। तीमध्ये २ जना जीतपुर–सिमरा उपमहानगरपालिका–१६ पिलुवाका रहेको जनाइएको छ। उनीहरूको तीन दिनअघि निजगढमा स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो।
आज मृत्यु भएका श्रेष्ठको आफन्तका सम्पर्कमा आएकाहरूलाई स्वास्थ्यकर्मीले निगरानी राखेको निजगढ नगर स्वास्थ्य सह संयोजक मणिश्वर घिमिरेले बताए।
बारामा एक साताअघि मात्र ७६६ जना सङ्क्रमित थिए। सो सङ्ख्या बढेर अहिले १००१ पुगेको छ। ४६७ जना सङ्क्रमित आइसोलेशनमा छन्। दुई दिनअघि मात्रै बारा सदरमुकाम कलैयामा ५० जना सङ्क्रमित पुष्टि भएका थिए।
एक साता नबित्दै २३५ जना सङ्क्रमित बढ्नुले पनि बारा उच्च जोखिममा रहेको सहजै अनुमान लगाउन सकिन्छ। कोरोना सङ्क्रमित बढी रहे पनि स्थानीय उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घलगायतको आग्रहमा निषेधाज्ञा खुकुलो बनाइएको छ। जसले गर्दा कोरोना सङ्क्रमित बढ्ने देखिन्छ।